नेपथ्यको कन्सर्टका सबै टिकट पहिल्यै बिक्री भइसकेका थिए। तैपनि टिकट पाइने आशामा कीर्तिपुरस्थित ल्याब स्कुल मैदान पुगेका युवाहरू निराश हुँदै फर्किरहेका देखिन्थे।
उता आठ हजार दर्शकका लागि तयार पारिएको मैदानमा भने दर्शकहरू संगीतको तालमा झुमिरहेका थिए। उनीहरूलाई नचाइरहेका थिए नेपथ्यका मुख्य गायक अमृत गुरूङले।
शनिबारको यो दृश्य नेपथ्यको लोकप्रियताको पछिल्लो उदाहरण थियो। साढे तीन दशकअघि कीर्तिपुरबाटै आफ्नो पहिलो कन्सर्ट यात्रा सुरू गरेको नेपथ्य शनिबार त्यही सहरमा हजारौं दर्शकमाझ प्रस्तुत भएको थियो। समय फेरिएको छ, ब्यान्डका सदस्यहरू परिपक्व भएका छन्, तर नेपथ्यको संगीततप्रतिको आकर्षण भने पुस्तौंसम्म उत्तिकै कायम छ।
नेपथ्यले आफ्नो पहिलो कन्सर्ट त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागका विद्यार्थीको निमन्त्रणामा गरेको थियो। त्यतिबेला भर्खरै स्थापना भएको ब्यान्डले विश्वविद्यालयको अडिटोरियम हलमा दुइटा गितारको सहायताले ‘अकोस्टिक कन्सर्ट’ प्रस्तुत गरेको थियो। त्यही बिन्दुबाट सुरू भएको यात्रा अहिले हजारौं दर्शकलाई एकै ठाउँमा नचाउने स्तरमा पुगेको छ।
शनिबारको प्रस्तुतिका क्रममा अमृतले आफू विश्वविद्यालयमा अध्ययन गर्दाका दिन सम्झिए। 'त्यतिबेला कीर्तिपुरका फाँटहरू जताततै खाली देखिन्थे,' उनले भने, 'हामी विशेषगरी भाषा र संस्कृतिबारे अनेक बहस गथ्र्यौं।'
कर्णाली क्षेत्रबाट संकलित गीत 'कर्नालीका छाइला' प्रस्तुत गर्नुअघि उनले नेपाली भाषाको उत्पत्तिसँग जोडिएको कर्णालीको सिँजा उपत्यकाबारे पनि चर्चा गरे। 'भाषा रहे भाका रहन्छ,' उनले दर्शकलाई आह्वान गरे, 'यो नेपाली भाषालाई सबै मिलेर बचाऔं है।'
संगीतले जोड्यो फरक पुस्ता
कन्सर्टमा विभिन्न उमेर समूहका दर्शकको उपस्थिति थियो। तीमध्ये त्रिभुवन विश्वविद्यालयको कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख प्रेम खनाल पनि थिए। पोखराको लेखनाथ घर भएका खनाल ‘घर हाम्रो पोखरा’ गीत बज्दा नाचिरहेका देखिन्थे। यो उनको पाँचौं नेपथ्य कन्सर्ट रहेछ।
'भर्खरै नेपथ्यको जीवनी पढेको थिएँ। ब्यान्डको यात्रा र गीतहरूको पृष्ठभूमि बुझेर कन्सर्टमा आउँदा झन् रमाइलो हुँदो रहेछ,' उनले भने।
आफ्नो विषयसँग जोड्दै उनले थपे, 'अन्तर्राष्ट्रिय सम्बन्धमा कलाको पनि अर्थ रहन्छ। अमृत गुरूङको संगीतले पनि संसारलाई जोड्ने काम गरिरहेकै छ।'
प्रस्तुतिका क्रममा अमृतले मुलुकले निरन्तर प्राकृतिक विपत्तिको सामना गरिरहेको प्रसंग पनि उठाए। यस्तो कठिन समयमा सरकार र प्रभावित समुदायलाई आ-आफ्नो क्षमताअनुसार सहयोग गर्न उनले दर्शकलाई आग्रह गरे।
निर्धारित समयमै सुरू भएको कन्सर्टमा नेपथ्यका गीतसँगै दर्शकले भरपूर मनोरञ्जन लिए। अन्त्यमा राष्ट्रिय झन्डाको महिमा बयान गर्दै अमृतले 'रातो र चन्द्रसुर्जे' गीतमार्फत प्रस्तुति टुंग्याए।
कन्सर्टपछि दर्शक प्रविन रानाभाटले फेसबुकमा तस्बिर तथा भिडिओ सार्वजनिक गर्दै नेपथ्यको प्रस्तुतिप्रतिको आफ्नो अनुभव साझा गरे।
'योसमेत गरेर मैले छ पटकभन्दा बढी नेपथ्यको लाइभ हेरिसकेको छु। तर जति चोटि हेरे पनि हरेक पटक पहिलो कन्सर्टजस्तै आनन्द, शक्ति र ऊर्जा मिलेको महसुस हुनु नेपथ्यको विशेषता हो,' उनले लेखेका छन्।
उनले कीर्तिपुरको त्यो साँझलाई संगीतले फरक पुस्तालाई जोड्ने, मानिसको मन छुने र लामो समयसम्म स्मृतिमा रहने क्षमताको उदाहरणका रूपमा पनि व्याख्या गरेका छन्।
अर्की दर्शक रेश्मा शाक्यले भिडिओ पोस्ट गर्दै लेखेकी छन्, 'ड्रिम कम ट्रु (सपना साकार भयो)। यस्तो लाग्यो, मेरो जीवनबाट यस्तो सपना कहिल्यै नसकिऊन्।'
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, किबोर्डमा दिनेशराज रेग्मी र मादलमा सुन्दर महर्जनले साथ दिएका थिए।
दसैंपछि भारत, त्यसपछि अस्ट्रेलिया
कीर्तिपुरको कन्सर्टपछि नेपथ्यले दसैंलगत्तै छिमेकी भारतको यात्रा गर्नेछ। ब्यान्ड आगामी अक्टोबर ३१ (कात्तिक १४) मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा प्रस्तुत हुनेछ। हिमाली राज्य सिक्किममा नेपथ्यको यो चौथो प्रस्तुति हुनेछ। उक्त कन्सर्टका लागि तयार पारिएका टिसर्ट र टिकट सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सार्वजनिक गरिसकेका छन्।
भारतपछि नेपथ्यले पूर्वी नेपालका दुई सहरमा प्रस्तुति दिनेछ। नोभेम्बर ४ (कात्तिक १८) मा इटहरी र नोभेम्बर ७ (कात्तिक २१) मा झापाको चारआलीमा ब्यान्डले लोकरक प्रस्तुत गर्नेछ।
तिहारपछि मुलुकका चार साना तथा मझौला सहरमा सांगीतिक यात्रा गर्ने नेपथ्य त्यसपछि अस्ट्रेलिया प्रस्थान गर्नेछ। ब्यान्डको आधिकारिक वेबसाइटमा सार्वजनिक कार्यतालिकाअनुसार अस्ट्रेलिया यात्राको पहिलो कन्सर्ट डिसेम्बर ७ मा एडिलेडमा हुनेछ भने अन्तिम प्रस्तुति डिसेम्बर २७ मा पर्थमा हुनेछ।
यी कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ।


