सामान्यतया वन्यजन्तु र प्रकृति अवलोकनका लागि पर्यटकको चहलपहल हुने चितवनको सौराहामा बिहीबार साँझ भने संगीतप्रेमीको भीड लाग्यो। नेपाली लोकरक ब्यान्ड नेपथ्यको प्रस्तुतिले सौराहाको माहोल संगीतमय बन्यो।
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित सौराहालाई संगीतका माध्यमबाट थप प्रवद्र्धन गर्ने उद्देश्यले नेपथ्यले यहाँ कन्सर्ट आयोजना गरेको हो। कन्सर्टमा स्थानीय दर्शकसँगै देशका विभिन्न स्थानबाट आएका संगीतप्रेमी र विदेशी पर्यटकको समेत उल्लेख्य उपस्थिति थियो।
कन्सर्टले सौराहाको पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको स्थानीय व्यवसायीले बताएका छन्। स्थानीय मोनालिसा होटलका सञ्चालक केशव खनालले राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसँगै संगीत सुन्नकै लागि सौराहा आउने दर्शकको उपस्थितिले व्यवसायमा उत्साह थपेको बताए।
'राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको गन्तव्यका रूपमा त चिनिएकै थियो। संगीत सुन्न सौराहा आउनेहरूको भीडले पनि कारोबार बढाइदियो। यसले यहाँको नयाँ सम्भावना देखाएको छ,' उनले भने।
कन्सर्टमार्फत वन्यजन्तु संरक्षण र स्थानीय समुदायलाई समेटेर पर्यटन विकास गर्नुपर्ने सन्देशसमेत प्रवाह भएको खनालले बताए।
'वन्यजन्तुको सुरक्षाका साथसाथै मानव बस्तीलाई पनि साथमा लिएर संरक्षणमुखी पर्यटनको विकास गर्न गायकले मञ्चबाट आह्वान गर्नुभयो,' उनले भने, 'यति ठूलो जमघटमा यस्तो सकारात्मक सन्देश पनि फैलाइदिएकामा हामीजस्ता पर्यटन व्यवसायी नेपथ्यबाट अझ बढी प्रभावित भएका छौं।'
नेपथ्यले एक महिनाअघि काठमाडौं उपत्यकाको कीर्तिपुरमा प्रस्तुति दिएको थियो। त्यसपछि भारतको सिक्किम, इटहरी र चारआलीमा उत्साहजनक उपस्थितिमाझ कन्सर्ट गरेको ब्यान्डले सौराहामा पनि दर्शकको उत्तिकै साथ पाएको छ। निर्धारित समयमै सुरू भएको कन्सर्टमा गायक अमृत गुरूङ मञ्चमा प्रवेश गर्दा दर्शकले ताली र हुटिङसहित स्वागत गरेका थिए।
'कोशीको पानी यो जिन्दगानी' गीतबाट प्रस्तुति सुरू गरेका अमृतले करिब दुई घण्टासम्म दर्शकलाई आफ्ना चर्चित गीतमा झुमाए। 'रातो र चन्द्रसुर्जे' गीतसँगै उनले प्रस्तुति समापन गरेका थिए।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
कन्सर्टमा सहभागी दर्शकले पनि नेपथ्यको प्रस्तुतिको प्रशंसा गरेका छन्। सम्झना वाइबाले कन्सर्टको भिडिओसहित सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अनुभव साझा गर्दै अमृत गुरूङको विनम्रताको प्रशंसा गरेकी छन्।
'महान् कलाकार हुनु एउटा कुरा हो, महान् भएर पनि सरल रहनु अर्को कुरा,' उनले लेखेकी छन्।
चेक रिपब्लिकका तीन साथीसँग मोटरसाइकल यात्रामा नेपाल घुमिरहेका जिरी भोद्भार्काका लागि पनि नेपथ्यको कन्सर्ट विशेष बन्यो। पोखराबाट सौराहा आइपुगेका उनीहरू त्यहाँको चहलपहल देखेर सामान्य सांस्कृतिक कार्यक्रम होला भन्ने ठानेर कन्सर्ट हेर्न पुगेका थिए।
'पोखराबाट आजै आइपुग्दा यहाँ चहलपहल देखेपछि सामान्य सांस्कृतिक कार्यक्रम होला भन्ठानेर हेर्न पसेका थियौं,' उनले भने, 'अन्तर्राष्ट्रिय स्तरकै भव्य कन्सर्टको अनुभव पो गर्न पाइयो।'
गीतका शब्द नबुझे पनि संगीतको तालमा आफूहरू सुरुदेखि अन्तिमसम्म नाचेको उनले सुनाए। 'दुई घण्टा बितेको त पत्तै पाएनौं। यो हाम्रो नेपाल भ्रमणकै स्मरणीय साँझ बन्न पुगेको छ,' उनले थपे।
काठमाडौंबाट समूह बनाएर कन्सर्ट हेर्न सौराहा पुगेका दर्शक पनि उल्लेख्य थिए। काठमाडौंबाट पुगेका सुनराकार ग्यात्सो कार्कीले नेपथ्यका पुराना गीतसँगै कन्सर्टको व्यवस्थापन र प्रस्तुतिमा समेटिएका सामाजिक सन्देशले अनुभव विशेष बनेको बताए।
'एक त नेपथ्यका पुराना गीतहरूले तानिएर आइपुग्छौं,' उनले भने, 'यति ठूलो संख्यामा आएका दर्शकको कुशल व्यवस्थापन गर्नुका साथै उनीहरूमा आपसी प्रेम र देशभक्तिको भावना भर्नुले नेपथ्य अनुभवको महत्व झनै बढाइदिने गरेको छ।'
गत वर्ष चितवनमा नेपथ्यको कन्सर्ट हेरेपछि यसपटक पुनः नारायणघाटबाट सौराहा पुगेका दर्शक पनि थिए।
स्थानीय आयोजक टोलीका बिनेश थापाले बढीभन्दा बढी दर्शकलाई सौराहासँग जोड्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको बताए।
'सौराहालाई संगीतका माध्यमबाट प्रवद्र्धन गर्न सकेकामा गौरव महसुस गरेका छौं,' उनले भने। दर्शक खुसीसाथ फर्किएको देख्दा आयोजक टोली उत्साहित भएको पनि उनले बताए।
नेपथ्यले पछिल्लो समय देशका ग्रामीण बस्ती तथा मझौला सहरलाई प्राथमिकतामा राखेर संगीत यात्रा गरिरहेको छ। यस यात्रामा अनलाइन टिकट बिक्रीको प्रवृत्तिसमेत उल्लेख्य रूपमा बढेको देखिएको छ।
टिकट व्यवस्थापनमा संलग्न 'थुप्रै डटकम'का दीपेश आचार्यका अनुसार सौराहा कन्सर्टका कुल टिकटमध्ये ६५ प्रतिशत अनलाइनबाट बिक्री भएका थिए।
'चार वर्षअघि नेपथ्यले देशव्यापी यात्रा गर्दा कुल टिकटको १० प्रतिशत मात्रै अनलाइनबाट गएको थियो। वीरगन्जजस्तो सहरमा ०.५ प्रतिशत टिकट मात्रै इन्टरनेटमार्फत बिक्री भएको थियो,' आचार्यले भने, 'जबकि यो पाला सौराहामा कुल बिक्रीको ६५ प्रतिशत टिकट अनलाइनबाटै गएको छ।'
चार वर्षअघि चितवनमा भएको नेपथ्यको कन्सर्टमा ९ प्रतिशत दर्शकले अनलाइनबाट टिकट काटेका थिए भने गत वर्ष यो हिस्सा बढेर ५२ प्रतिशत पुगेको थियो। अनलाइन टिकट बिक्रीको सबभन्दा ठूलो हिस्सा भने गत महिना कीर्तिपुरमा आयोजित कन्सर्टमा देखिएको थियो। उक्त कन्सर्टका कुल टिकटमध्ये ७१ प्रतिशत अनलाइनबाट बिक्री भएका थिए। यसले नेपथ्यका साथै अन्य संगीतकर्मीका लागि पनि प्रविधिमैत्री टिकट बिक्रीको सम्भावना बढाएको देखिन्छ।
नेपथ्यको अबको प्रस्तुति शनिबार स्याङ्जाको पुतलीबजारस्थित मालेबगर खेलमैदानमा हुनेछ। त्यसपछि ब्यान्डले म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा कन्सर्ट गर्नेछ।
देशभित्रको यात्रा सम्पन्न गरेपछि ब्यान्डले डिसेम्बरमा अस्ट्रेलियाका एडिलेड, सिड्नी र पर्थमा प्रस्तुति दिने कार्यक्रम छ।
यी सबै कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।




