विराटनगरका गायक सन्देश सुवेदीको नयाँ गीत 'अलि अलि बोल्दैमा' को म्युजिक भिडिओ सार्वजनिक भएको छ।
लोक-पप शैलीमा तयार पारिएको रोमान्टिक तथा रमाइलो गीत सुवेदीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। गीतमा शब्द, संगीत र स्वर स्वयं सुवदीकै रहेको छ भने एरेन्जमेन्ट उदयराज पौडेलले गरेका हुन्।
परम्परागत नेपाली शब्द तथा अभिव्यक्तिलाई रमाइलो र ठट्यौलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियओ निर्देशन निश्चल राणाले गरेका हुन्। भिडिओको छायांकन तथा सम्पादन ऋतिक शाह र एचएस फिल्म्सले गरेका छन्।
गीतको भाव हेर्दा यो महिलालाई सम्बोधन गरिएको प्रेमिल र ठट्यौलो शैलीको गीत हो। प्रेम व्यक्त गर्न, मनको कुरा खोल्न वा सँगै घुम्नका लागि धेरै सोच्नुपर्दैन भन्ने भाव गीतमा छ।
भिडिओमा भाइरल हुड डान्स टिमसँग सहकार्य गरिएको छ। साहिल खान, मनीष कटुवाल, लक्की खवास, बिक्की घिमिरे र प्रदीप सदालगायत कलाकारको अभिनय रहेको भिडिओमा ग्रेसी मास्के श्रेष्ठ पनि देखिएकी छन्।
भिडिओमा अभिनय गरेका अधिकांश कलाकारका लागि यो पहिलो म्युजिक भिडिओ हो। गायक सुवेदीले आफ्नो नियमित सांगीतिक शैलीभन्दा फरक प्रयोग गर्ने उद्देश्यले गीत तयार पारेको बताएका छन्।
विराटनगरमै रहेर संगीत सिर्जनामा सक्रिय सुवेदीले भिडिओ निर्माणमा सहयोग गर्ने सम्पूर्ण कलाकार तथा प्राविधिकलाई धन्यवाद दिएका छन्। साथै, उनले नयाँ गीतलाई दर्शक तथा स्रोताले माया र साथ दिने विश्वास व्यक्त गरेका छन्।
भिडिओः