नेपाली जनताको ऐतिहासिक माग ‘संविधान सभाबाट संविधानको निर्माण’ पूरा गर्नको लागि मिति २०६४ चैत २८ मा संविधान सभाको निर्वाचन सम्पन्न भएसँगै नेपाली राजनीतिमा नयाँ उमंग छाएको थियो।
यस चुनावबाट दुइटा क्रान्तिकारी शक्तिहरू अपेक्षाभन्दा बढी जनमत लिएर नेपालको राजनीतिमा स्थापित भए। यस संविधान सभाको पहिलो बैठकबाट नै देश गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गर्यो।
देशमा नयाँ सरकार गठन भयो। २०६५ भदौ २ गते तत्कालीन माओवादी पार्टीको अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुभयो। उहाँकै मन्त्रिमण्डलमा तत्कालीन सुनसरी निर्वाचन क्षेत्र नं. ५ बाट पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाकी छोरी तथा कांग्रेस नेतृ सुजाता कोइरालालाई अत्यधिक मतले पराजित गरी विजयी हुनु भएको मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाउनु भएको उपेन्द्र यादवले परराष्ट्रमन्त्रीको रूपमा कार्यभार सम्हाल्नु भयो।
यसरी देशमा नयाँ सरकारको गठन तथा क्रान्तिकारी नेताहरूको हातमा शासन गएकोले देशभित्र र बाहिर यसैको चर्चा चुलिएको थियो। तर पूर्वी नेपालमा अवस्थित नेपालकै सबभन्दा ठूलो नदी कोसीमा घटेको घटनाले राजनीतिक माहौललाई नै छायामा पारिदियो।
२०६५ भदौ २ गते कोसीको पूर्वी तटबन्ध फुट्यो।
यो पंक्तिकार स्वंय पनि कोसीको तटबन्धको फुटाइबाट घरबारविहीन भएको तथा स्वंय प्रत्यक्ष रूपमा पीडा भोगेकोले यस आलेखमा वर्णन गरिएको सम्पूर्ण कुरा सत्य भएको पाठक वर्गलाई विश्वास दिलाउन चाहन्छु।
असार पहिलो हप्तादेखि सुरू भएको धानको रोपाइँ लगभग सकिसकेको हरेक वर्ष मनाइने रक्षाबन्धन यसवर्ष भदौ १ गते परेको थियो। तराई मधेशमा विशेष महत्वको साथ मनाइने रक्षा बन्धन पर्वको लागि दिदीबहिनीहरू तम्तयार थिए।
सुनसरी जिल्लाको सबभन्दा कम विकसित क्षेत्रको रूपमा रहेको तत्कालीन गाउँ विकास समिति पश्चिम कुशाहा, श्रीपुर जब्दी तथा हरिपुरमा एक छुट्टै किसिमको त्रास फैलिएको थियो।
त्यो त्रास थियो- कोसीको बाँध फुट्न आँटेको छ भनेर।
सामान्यतयाः पहाडी क्षेत्रमा भारी वर्षा भएको बेला त्रसित हुने यस सिमसार क्षेत्रको जनता यसपटक भने केही दिनदेखि वर्षा नभएकोले चिन्तित थिए। एक त देशको परिवर्तित राजनीतिक अवस्थाले सबैको ध्यान खिचिरहेको थियो भने अर्को भारी वर्षा नभएकोले कसैलाई पनि कोसीको बाँध फुट्ला भनेर लागेकै थिएन।
लागोस् पनि कसरी सन् १९५४ अप्रिल २५ को मितिमा नेपाल र भारत सरकार बीच भएको कोसी सम्झौता अनुरूप सन् १९५९ (वि.सं. २०१७) सालमा निर्मित कोसी बाँधको ब्यारेजको पुलदेखि ३२ किलोमिटर नेपाली भूभागमा पनि रेखदेख तथा मर्मत संभार गर्ने दायित्व बिहार सरकारको हुने भनेर स्पष्ट व्यवस्था भएबमोजिम हरेक वर्षायामको बेलामा विहार सरकारको कोसी प्रोजेक्टबाट तटबन्ध तथा स्परहरूको सामान्य मर्मत गर्नको लागि भारतीय गाडीहरू तटबन्ध हुँदै उत्तरतर्फ कुदिरहेको नै देखिन्थ्यो ।
बाहिरबाट हेर्दा सबै कुरा सामान्य नै देखिने तथा ब्यारेज उत्तर नेपाली भूभागमा यस अघि कहिले पनि बाँध नफुटेको कारण कसैले यस्तो होला भनेर कल्पना समेत गरेका थिएनन्।
यद्यपी, यो भन्दा पहिले ७ पटक विभिन्न मिति तथा ठाउँमा कोसीको तटबन्ध फुटिसकेको थियो (दिनेश कुमार मिश्र, इकोनिमक एण्ड पोलिटिकल विक्ली, नोभेम्बर १५–२१, २००८)।
नेपाल सरकारको संरक्षित क्षेत्रको रूपमा रहेको कोसीको किनारदेखि तटबन्धसम्मको भूभागमा स्थानीय कसैलाई पनि जाने अनुमति हुँदैन। सो क्षेत्रमा जान सक्ने भनेको नेपाल सरकारले कोसी टप्पु वन्यजन्तु सुरक्षार्थ खटाएको नेपाली सेना वा भारतीय अधिकारीहरू नै हुन्।
यसरी सो क्षेत्रमा स्थानीयको प्रवेश निषेध गरिएकोले कोसी नदीको बहाव परिवर्तन भई तटबन्ध टाँसिएर नै बगिरहेको भन्ने सामान्य जानकारीबाट समेत स्थानीय जनता बञ्चित थिए।
कोसी टप्पु आरक्षणभित्र लुकिछिपी घाँस काटन जाने घँसियाहरूले बाँध कुसाहामा फुट्न आँटेको छ भनेर गाउँमा भन्दा कसैलाई पत्यार लाग्दैन्थ्यो।
जब हल्ला बाक्लिन थाल्यो केही स्थानीय नेताहरूले सो क्षेत्रको निरीक्षण गरे। तर समय घर्किसकेको थियो। बाँध लगभग आधा कटिसकेको थियो। स्थानीय निकाय प्रमुख, इलाका प्रमुखदेखि लिएर अरु विभिन्न ठाउँमा पनि हार गुहार गरे। तर कसैले पनि यसलाई गम्भिरतापूर्वक लिएन।
यता बाँध फुट्न लागेको ठाउँबाट सिधा दक्षिणको दिशामा पर्ने तत्कालीन श्रीपुर जब्दी र हरिपुर गाविसमा त्रास फैलिसकेको थियो। आफ्नो जीवनकालमा नै पहिलो पटक यस्ता त्रासदीपूर्ण वातावरणमा स्थानीय छटपटाइरहेका थिए।
यस्तो अवस्थामा के गर्ने र के नगर्ने? सबै निशब्द थिए।
जे हुनु, त्यो भएरै छाड्यो । २०६५ भदौ २ गते तत्कालीन पश्चिम कुशहा गाविसस्थित कोसी ब्यारेजको उत्तरी भागमा पहिलो पटक नेपाली भूमिमा कोसीको बाँध करिब दिउँसो १ बजेर ३० मिनटमा फुट्यो ।
हेर्दाहेर्दे बाँधमा रहेको कैयौं ठूला ठूला रुखहरू नदीमा विलिन भए। पूर्व पश्चिम महेन्द्र राजमार्ग भन्दा उत्तरमा रहेको गाउँ एकै छिनमा पानीमुनि थियो। परालको कुन्यूलाई बगाएर महेन्द्र राजमार्गसम्म ल्याइसकेको थियो।
राजमार्गले केही समयसम्म बाँधको काम गर्यो। तर हात्तीको मुखमा जिरा भने जस्तै कोसीको पानीको अगाडि राजमार्गको अस्तित्व बच्न सकेन।
कति ठाँउमा पानी राजमार्ग माथिबाट बग्न थाल्यो भने कति ठाउँमा राजमार्ग भत्किन पुग्यो।
राजमार्गको अवरोधले पानी पूर्वतिर मोडियो। पश्चिम कुशाहाको पर्वी वडाहरू, लौकही, शिवगंज, भोक्राहा, आकाहा हुँदै पानी सुनसरी खोलामा खस्न थाल्यो। यसबाट त्रसित स्थानीयहरूको एउटा हुलले लौकही भन्दा लगभग एक किमी पश्चिम महेन्द्र राजमार्गलाई काटिदियो।
यता राजमार्गको छेउ हुँदै पानी भन्टाबारी पश्चिम रहेको पुल बगायो। यस बाहेक जमुवा नहर (कोसी टप्पु आरक्ष जाने बाटो), जुँधगंज, शिवचौक (हाल प्रदेश नं. १ सरकारको लगानीमा निर्मानधिन रिफ्रेस्मेण्ट सेन्टर भएको ठाँउ) र हरिपुर चोकदेखि २ किमि उत्तरमा राजमार्गको ठूलो हिस्सा बग्यो।
केही घण्टाको अवधिभित्र नै हराभरा गाउँ समुद्रमा परिणत हुन पुग्यो। जताततै पानी नै पानी। कसैलाई पनि कसैको मतलब नभएको अवस्था। कोही रुँदै, कोही सामान ओसार्दै। साँचिकै पीडादायी अवस्था थियो।
हेर्दाहेर्दे नेपालको श्रीपुर, हरिपुर र पश्चिम कुशाहाा ( हाल कोसी गाँउपालिका)को ४५ हजार मान्छेको उठिबास भयो।
उता भारतको विहार राज्यको सुपौल, अररिया, सहरसा, मधेपुरा, खगड्यिा पूर्णिया जिल्लाको १७०४ गाउँको तीस लाखभन्दा बढी मानिस यस बाढीको प्रत्यक्ष पीडित हुन पुगे।
बाँध फुट्दा १२९८०० घनप्रति सेकेन्ड पानीको बहाव रहेको थियो।
कोसीको बाँध फुटेर भँगालो गाँउ पसेको समाचार प्रसारण भएपछि विराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा लगायतका ठाउँहरूबाट ठूलो संख्यामा मानिसहरू बाढी हेर्नको लागि भीड लाग्न थाले।
बाँध फुटेको २४ घण्टा बितिसक्दा पनि सरकारी स्तरबाट कुनै पनि सहयोग गाउँ म्म आइपुगेको थिएन। माझीहरू डुंगा लिएर आउन थाले। कतिले आफ्ना धान,चामल लगायतको खाद्यान्न ओसारे भने कतिले भैंसीको पाडापाडीहरूलाई गाउँको पश्चिम दिशामा रहेको कोसीको बाँधमा नै लगेर राख्न थाले।
विस्तारै सरकारी हेलिकप्टरहरू आकासमा देखिन थाले। कति गाउँलेलाई उद्घार गरेर सुरक्षित स्थानमा पुर्याए भने गाउँ छोड्न नमानेकाहरूको लागि बिस्कुट, चाउचाउ लगायतका खानेकुरा माथिबाट झार्न थाले।
कति मानिसहरू खाटमाथि खाट राखेर हप्तौं दिनसम्म आफ्नै घरमा घेरिएर बस्नु पर्यो भने कतिलाई चाहिँ गाविस. भवनको छतमाथि बसेर दिन बिताउनु पर्यो।
घरबाट सुरक्षित स्थानमा जाने क्रममा श्रीपुर जब्दी वडा नं. ६ स्थायी निवासी मिसर यादवकी श्रीमती जानकी देवी यादवको अकालमै मृत्यु भयो। दिनरात पानीमा नै बसे पनि खानेपानीको अभाव, चामल, आँटा लगायतको खाद्यान्न केही दिनलाई पुग्ने भए पनि पकाउने ठाउँको अभाव जस्ता कठिनाइहरूका कारण जीवन साँच्चिकै संकटमा परेको थियो।
एक दिन दुई दिन गर्दा गर्दै १५ औं दिनसम्म पनि गाउँमा पानी कम हुने कुनै छाँटकाट थिएन।
राजमार्गमा नै सबैको बास हुन थाल्यो। राजमार्गको पिच बाटो डस्ना, आकाशको फराकिलो छत, दिनमा सूर्यको प्रकाश र रातमा जुनको प्रकाशबाट उज्यालो हुने र कहिले पूर्वको हावा तथा कहिले पश्चिमको हावाले बढारिदिने प्रकृति प्रद्धत घर आँगनमा बस्नु जतिको पीडा केही थिएन।