केही समय अगाडि एउटा भाइको जन्मदिनमा उसको घरमै पुगेर शुभकामना दिएको थिएँ।
उसले आभारका शब्दहरू खर्चनुभन्दा पहिला भन्यो- ‘दाजु फेसबुकमा पनि पोस्ट गर्दिनुस् न।’
त्यति टाढा पनि के जानु!
मेरै पिता श्री को जन्मदिनमा फोन गरेर शुभकामना दिएँ। उहाँले पनि भन्नुभयो- ‘फेसबुकमा कसैले थाहा पाएनछन् जस्तो छ। त्यहाँ पनि राखिदिएस्।’
अब आफ्नै कुरा पनि गरौँ।
एकदिन आमाछोराको पोस्ट स्टोरीमा राख्दा लगभग सय जनाले हेरेका रहेछन्। आमाले उक्त स्टोरी देखाउँदै भन्नुभयो, ‘हेर त। यो माइलीले स्टोरी हेरेर पनि लभ रियाक्ट गरिन।’
त्यो तल्लाघरे कान्छीले पनि गरिन। दस-बाह्र जना थिए। जो एकदम नजिकका थिए। जसले रियाक्ट गरेका थिएनन्।
आमाले फेरि उदास मुहार लगाउँदै भन्नुभयो, ‘यिनीहरूले हामी खुसी भएको देख्न सक्दैनन्। त्यहीँ भएर लभ दिएनन्।’
आमाको कुराले म अचम्ममा परेँ!
यस्तो पनि हुन्छ र?
हो हुन्छ। आजको सामाजिक सञ्जालको युगमा यस्तै हुन्छ।
स्टोरी र पोस्टमा गरिएका लाइक र कमेन्टको आधारमा, को आफ्नो को पराई भन्ने कुराको निर्क्योल हुन्छ।
आफूले पोस्ट गरेका लेख र तस्बिरहरूमा कसैले लाइक, कमेन्ट नगरेको देख्दा मलाई पनि कहिलेकाहीँ रिस उठ्छ।
अनि एक पटक आफ्नो फ्रेन्ड लिस्ट हेर्छु। प्राय: चिनजान भएकै मान्छेहरू छन्। अझ अहिले त पोस्ट कति जनाले हेरे भनेर पनि जान्न सकिन्छ। धेरै मान्छेले पोस्ट हेर्दा पनि थोरै लाइक कमेन्ट मात्र आउनु दुःखद कुरा हो जस्तो लाग्छ।
यसमा केवल हाम्रो मात्र पनि दोष छैन। किनकी- बिस्तारै हामी ‘डिजिटल समाजका’ प्रजाका रूपमा रूपान्तरित हुँदै छौँ। भौतिक समाजबाट टाढिँदै गएको आधुनिक मानव सभ्यताको एक फड्कोको रूपमा यसलाई लिन सकिन्छ।
आजभोलि गाउँ-सहरका चौतारा खाली छन्। किनकि यी सञ्जाल नै गफका चौतारी बनेका छन्। चिया पसलमा बसेर देश-दुनियाँका कुरा गर्नेदेखि सत्तामा बसेर देश बनाउने जिम्मा लिएको मान्छेसम्म यही भेटिन्छ।
आफूले बिताएका विभिन्न पलहरूलाई यही सञ्जालमा साझा गर्ने हतारो हामीलाई हुन्छ। आफ्ना विचार साझा गर्ने देखि व्यक्तिगत रुचिका कामहरूको निमित्त पनि सञ्जालको प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ।
प्रख्यात कवि-लेखकदेखि कुख्यात चोर-डाँकासम्म यही सञ्जालमा भेटिन्छन्।
डाक्टर, वैज्ञानिक, शिक्षक, प्रहरीदेखि विभिन्न क्षेत्रका मान्छेहरू यहाँ भेटिने गर्छन्।
गाउँको बाटो बिग्रियो भने फोटो खिचेर आफ्नो नेतालाई गाली गर्दै पोस्ट गरिहाल्छौँ। हामी लेख्छौ- ‘यो देशमा पैँतिस वर्षमा केही भएन।’
सामान्य घर झगडा भयो भने पनि दुख पोख्न यहीँ आइपुग्छौँ। अनि सञ्जाल नै अदालत, यहीँ न्यायाधीश।
एक थरी समर्थनमा उत्रिन्छन्। अर्को थरी विरोधमा।
अनि भएन त डिजिटल समाज?
गाउँमा कुनै भेला या अन्तरक्रिया कार्यक्रम भयो भने हामीलाई जाने फुर्सद हुँदैन। या रुचि हुँदैन। घरमा कोही पाहुना आयो भने केही कुरा गर्न पनि खोज्दैनौँ। टाढिन खोज्छौँ। झिजो मान्छौँ। तर सञ्जालमा फ्रेन्ड र फलोअर बढे हुन्थ्यो जस्तो लाग्छ।
अहिले त साथीदेखि जीवनसाथी खोज्ने माध्यम बनेको छ सञ्जाल। खुसीदेखि पीडा पोख्ने माध्यम बनेको छ।
कुनै समाचार या जानकारी पत्याउनुभन्दा पहिला उसका कति फलोअर छन् भनेर हेर्छौँ। धेरै फलोअर हुनेहरू सही हुन्। उनीहरू विद्धान हुन्। कम फलोअर हुनेहरू गलत हुन्, उनीहरूलाई केही थाहा छैन भन्ने भाष्य पनि हाम्रो मगजमा स्थापित हुँदै गइरहेको छ।
क्षणभरमै कसैको मृत्यु भएको खबर अगाडि आउँछ। दुखी देखिने इमोजी रियाक्ट गर्छौँ। मन लागेसम्म हार्दिक श्रद्धाञ्जली पनि लेख्छौँ। अनि एकैछिनमा कसैको बिहेको फोटोमा शुभकामना पनि लेख्न भ्याउँछौँ।
क्षणभरमा नै मलाम गएर विवाह भोजमा पुगिसक्ने डिजिटल समाजका जनताले बिर्सिसकेको हो?
भौतिक समाजमा कसैको मलाम गइयो भने नदीमा नुहाएर आउनु पर्छ। घरमा आएर चोखिनु पर्छ। एक छाक नुन छाड्नुपर्छ। सकेसम्म तेह्र दिन पधेरोमा पुग्नु पर्छ। मर्ने मान्छे नजिकको हो भने त पैँतालिस दिनसम्म शुभ कार्यमा सरिक हुनुहुँदैन भन्ने मान्यता छ। दाजुभाइ हो भने, घरमा एक वर्ष शुभ कार्य गर्नु हुँदैन भन्ने गरिन्छ।
के यो समवेदना अझै जीवित छ?
बरु, भौतिक समाजमा पनि यसको नकारात्मक प्रभाव देखिन थालेको छ।
हामी यो समाजका भागिदार त भएका छौँ। तर हामीलाई यो समाजको सामान्य ज्ञान पनि छैन। यो समाजले निर्धारण गरेको सामान्य कानुनको जानकारी छैन।
मरेको मान्छेको फोटो जस्तो भेट्यो त्यस्तै पोस्ट गरिदिन्छौँ। भेटेको समाचार जस्ताको त्यस्तै सेयर गरिदिन्छौँ। कसैले लेखेको लेख अनुमति बिना नै कपि पेस्ट गरिदिन्छौँ। कोही व्यक्तिको तस्बिर सञ्जालमा राख्नुभन्दा पहिले अनुमति लिनुपर्छ भन्ने ज्ञान पनि छैन हामीसँग।
अझ दुःखद कुरा त के छ भने, कसैले पोस्ट गरेको खबर सही छ या गलत भन्ने कुरातिर ध्यान नदिई चारैतिर फैलाउन थाल्छौँ। सञ्जालको एउटा खासियत के छ भने, यहाँ सही कुराभन्दा गलत कुरा छिटै फैलिन्छ।
कतिपय अवस्थामा त त्यहीँ गलत कुराले गर्दा समाजमा फैलिएका हिंसाको बारेमा पनि सुन्ने गर्छौँ।
तपाईँले पनि देख्नुभएको होला। बाहिर शीर्षकमा लेखिएको हुन्छ, ‘फलानो ठाउँमा त आफ्नै देवरले भाउजूलाई!’
बस! यत्ति लेखिएको हुन्छ। के रहेछ भनेर खोल्यो। भित्र उस्तै अवस्थामा पढ्ने जस्तो केही खबर पनि हुँदैन। यस्तै भ्रामक र तथ्यहीन शीर्षक र समाचारहरूले सञ्जालको विश्वसनीयता पनि बारम्बार प्रश्नचिन्ह खडा गरिरहन्छन्।
त्यसमाथि पुराना तथा भरोसालायक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रीका तथा टेलिभिजनहरूले पनि सञ्जालमा यस्तै तरिका अपनाएको देख्दा त झन् उदेक लागेर आउँछ। अझ रिल्स र सर्ट भिडियो हेर्ने बानीले हाम्रो जीवनमा कस्तो प्रभाव पारिरहेको छ भन्ने थाहा छ?
कुनै समयमा टिभीमा विज्ञापन, समाचार हेर्दा पनि बोर नलाग्ने हामीलाई आजभोलि एउटा दुई घण्टाको चलचित्र पनि पुरै हेर्न मन लाग्दैन।
अखबारका पानाहरूमा अडिने हाम्रो मन आजभोलि फेसबुकको स्ट्याटसमा पनि अडिँदैन।
समयक्रम सँगै जसरी सामाजिक सञ्जालहरूले हामीलाई स्क्रिनमा टिकाइराख्न उपायहरू अपनाइरहेका छन्। त्यसरी नै हामीले आफ्नो धैर्यता गुमाउँदै छौँ। सृजनशीलता गुमाउँदै छौँ।
सामाजिक सञ्जालमा नजिकदेखि टाढा- टाढाका मान्छेहरू जोडिएका त छन्। हजारौँ फ्रेन्ड र फलोअरको बिचमा घेरिएका त छौँ। तर पनि हामी डिजिटल समाजमा एक्लिँदै छौँ। रिल्स हेर्दा हेर्दै म्यासेज आयो भने रिप्लाई गर्न मन लाग्दैन। कल आयो भने रिसिभ गर्दैनौँ।
एक समयमा टाढिएका मनहरूलाई नजिक ल्याउने माध्यम बनेको सञ्जालले आज हामीलाई नजिक भएर पनि टाढा बनाउँदै छ।
हामी जति डिजिटल समाजको नजिक हुँदै छौँ। त्यति नै हाम्रो सोच्ने तरिका पनि फरक हुँदै छ। कतिपयले यसैको प्रयोग गरेर उन्नति प्रगति पनि गरेका छन्। तर धेरैले आफ्नो समय बरबाद मात्र गरिरहेका छन्।
एक फड्को मारे पनि यसको नकारात्मक प्रभावको विषयमा सचेत हुनु आवश्यक छ।