अन्तर्राष्ट्रिय मिडिया र प्रसिद्व ट्राभल ब्लगको राडरमा परिरहेको स्थान हो, चोत्लुङ पार्क।
पूर्वी नेपालको तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिकाको वसन्तपुर बजारमा रहेको यो पार्कको चर्चा फराकिलो बन्दै गएको छ। कतिपयले चो?लुङ, चोलुङ, चोःलुङ लेखेको पनि देखेको छु। तर यसको वास्तविक नाम ‘चोत्लुङ’ हो।
विश्व प्रसिद्ध ‘टाइम’ म्यागेजिनले अंग्रेजी सम्वत् सन् २०२५ का लागि नेपालका उत्कृष्ट १०० गन्तव्यको सूची प्रकाशित गर्दा चोत्लुङ पार्कलाई समेटेको छ। यसको चर्चा एउटा ‘म्यागेजिन’मा मात्र सीमित छैन। बेलायतको प्रसिद्ध ‘द गार्जियन’ र अस्ट्रेलियाको ‘द क्यानबेरा टाइम्स’ का अनलाइन संस्करणमा चोत्लुङ पार्कले स्थान पाएको छ।
स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकको रोजाइमा पर्न सफल यो पार्कले सामाजिक सञ्जाल र सञ्चार माध्यमको ध्यान चुम्बकले फलाम तानेझैं तानिरहेको छ। कोपिलाबाट भर्खरै फक्रिएको फूलमा भमरा आकर्षित भए जस्तै यो पार्क आन्तरिक र विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
-1763108123.jpg)
पार्कमा पुगेर लिम्बू संस्कृतिको स्वाद लिने र अध्ययन गर्ने समूह एउटा छ। अर्को समूह भने पार्कमा घुमेको फोटो र भिडिओ सामाजिक सञ्जालमा ‘अपडेट’ गर्न व्यस्त देखिन्छ। चोत्लुङ पार्क पुगेर सामाजिक सञ्जालमा पोस्ट गर्ने पर्यटकको संख्या दैनिक बढिराखेको छ। यो शैलीले पार्कको प्रचार पनि भइराखेको छ।
डिजिटल युग, विश्वव्यापीकरण, भूमण्डलीकरणको धमिलो महासागरमा रूमलिएको हाम्रो पुस्ताका लागि सांस्कृतिक, इतिहास, मूल्य–मान्यता र पहिचान जोगाउनुपर्ने विशाल जिम्मेवारी छ।
संस्कृति भनेको कुनै पनि समाजको जीवनशैली, सोच, व्यवहार, भाषा, कला, धर्म र परम्पराको समष्टि हो। संस्कृति जोगाउनु भनेको समाज र राष्ट्रको आत्मा जोगाउनु हो। आगामी पुस्तालाई आफ्नो मौलिकता र गौरव सिकाउनु हो। जब मानिसले आफ्नो संस्कृति नजिकबाट देख्छ र अनुभव गर्छ, तब मात्र व्यक्तिभित्र आत्मगौरव र देश प्रेम बलियो हुन्छ।
लिम्बू संस्कृतिको आदर्श चोत्लुङ पार्क जातीय पहिचान मात्र भएर उभिएको छैन। त्यहाँ पुग्दा एउटा संस्कार र संस्कृतिभित्र राष्ट्र प्रेम जिउँदो भेटिन्छ। लिम्बूको मुन्धुम ग्रन्थलाई आधार मानेर ‘चोत्लुङ’ पार्कको निर्माण भएको हो। यो पार्कले नेपालको पूर्वी भेगमा बसोबास गर्ने आदिवासी लिम्बू समुदायको इतिहास र संस्कारलाई पढाएको छ। यो घुम्ने ठाउँ मात्र होइन, संस्कृति र परम्परा अध्ययनको पाठशाला बनेको छ। लिम्बूका समुदायका लागि चोत्लुङ पार्क साझा चौतारो बनेको छ। उधौली वा उभौली पर्व मनाउन बेवारिस तरिकाले बेला धरानको बुढासुब्बा, बेला काठमाडौंको टुँडिखेल, बेला ललितपुरको हात्तीवन, नखिपोटसँगै देश र विदेशका खुला चौर र पार्टी प्यालेसमा च्याब्रुङको तालमा नाचिरहेका लिम्बूहरूको मनमा चोत्लुङ पार्क जीवित इतिहास बनेको छ।
लिम्बू समुदायको मौलिक निशानी चोत्लुङ
मुन्धुम वर्णित यो पार्क लिम्बू समुदायको मौलिक नाम र पहिचान बोक्ने धर्तीको एक मात्र निशानी हुनुपर्छ। विश्वभर छरिएका लिम्बू समुदायले स्पर्श गर्दा गर्वको अनुभूति गर्ने स्थल बन्नुपर्छ। यो पार्कले अन्य जाति, समुदाय र पर्यटक घुम्न पुग्दा एउटा विशाल पाठशाला बनेर लिम्बसंस्कृति पढाउन सक्नुपर्छ।
चोत्लुङको अर्थ लिम्बू भाषामा सिद्धि पुग्नु हो। हिन्दूहरू काँसी गएर पुन्य कमाएको अनुभूत गर्छन्। बौद्ध धर्मावलम्बी लुम्बिनी अर्थात् बोधगया पुगेर त मुस्लिम साउदी अरबको मक्का मदिना गएर हज प्राप्त गर्छन्। लिम्बूका लागि भविष्यमा यो ठाउँ तीर्थस्थल बन्दै जाने अनुमान लगाउन सकिन्छ। विश्वभर छरिएका लिम्बू समुदायका लागि यो पार्क एकताको सूत्र बन्ने अनुमान गर्न सकिन्छ।
-1763108107.jpg)
चोत्लुङमा के छ?
तेह्रथुम बसन्तपुर बजारको भुल्के धारा क्षेत्रबाट तीन मिनेट पैदल दक्षिणतर्फ हिँडेपछि चोत्लुङ पार्कको दर्शन गर्न पाइन्छ। स्थानीय डकर्मी र सिकर्मीको सीप सजिएको यो पार्क ढुंगा र माटोले मात्र बनेको छ। पार्कको वरिपरि लिम्बूको धर्म ग्रन्थ (मुन्धुम) मा आउने विभिन्न थरिका फूल रोपिएका छन्। लिम्बू जातिसँग सम्बन्धित दुर्लभ वनस्पति/फूल (सिङ्चाङ्गो यामचाङ्गो (धसिङ्गरे), सेक्मुरी चङसेक्पा (सिल्लरी) वासेन सेम्मेना (धनियाँ जस्तो वासना आउने), हेन्छिङ, माङ्लोक (रोडिङ्गो), फुन्छिङ(पैयू), पाङ्ब (मजिटो) खेदेक (मोर्चेझार) चामचिङ (झाँक्री स्याउली) आदि देख्न सकिन्छ। अझ यो बगैँचालाई सुन्दर पार्न राष्ट्रिय फूल लालीगुराँस, पैयू लगायत अरु प्रजातिका बोट विरुवा रोपिएका छन्। पर्यटकलाई मनोरञ्जन दिन चौरी र घोडा पनि वरपर चरिरहेका देखिन्छन्। पार्कको पूर्व पट्टी चोत्लुंग वरक (सिंद्धि पोखरी) निर्माण गरिएको छ। यसले पार्कको सुन्दरतालाई थपेको छ।
लिम्बूको धर्म ग्रन्थ मुन्धुम अनुसार लिम्बू समुदाय र ढुंगाबीचको सम्बन्ध गहिरो र ऐतिहासिक छ। हरेक कार्यमा न्याय निरूपण गरे पश्चात साक्षी प्रमाणको लागि होस् वा देवी देवतालाई थान स्थापना गर्दा ढुंगा गाड्ने चलन छ। त्यति मात्र नभएर लिम्बूको कुलदेखि यूमाले तान बुनेको, धागो टाँगेको, आफ्ना सामान वा भारी बिसाएकोदेखि मृत्यु पश्चात नुनतेल चोखिएर शुद्धि हुने कुरा सबै ढुंगासँग सम्बन्धित छन्। चोत्लुङ पार्क ढुंगामा प्रतिबिम्बित गरिएको छ।
पार्कको बीच भागमा यूमा संग्रहालय (यक्चे हिम) लगायत जम्मा पाँच वटा पुराना ढाँचाका घर विभिन्न उद्देश्यका साथ निर्माण गरिएका छन्। यी संग्रहालय र भवन स्थानीय सामग्री ढुंगामाटोको गार्हो, काठ, डाढाभाटाका र खरका/झिङ्टीका छाना साथै यसको बाहिरी भाग र भित्ता कमेरो अनि रातो माटोले पोतिएका छन्। झ्याल, ढोका, दलिन खम्बामा असली लिम्ब्र वस्तुकारद्वारा लिम्बूको सिलाम साक्मा, कोशेली बोक्ने पेरुङ्गो र अन्न सुकाउने मान्द्रोका बुट्टा कुँदिएका छन्। जुन बुट्टाहरू संसारमा अन्य ठाउँ कतै देख्न पाइँदैन।
संग्रहालयभित्र अत्यन्तै दुर्लभ सामग्री राखिएका छन्। प्रविधिको विकास नभएको बेला हरेक हिसाबले मान्छे कसरी रैथाने कला र सीप प्रयोग गरेर घरेलु वस्तुलाई प्रयोग गरेर आत्मनिर्भर हुन्थे भन्ने कुरा राम्ररी जानकारी लिन सकिन्छ। लिम्बू साथै गैरलिम्बू समुदायको जनजीवन, वेशभूषा, गरगहना, पुराना कागजात र औजार पनि संग्रहित गरेर राखिएका छन्।
परापूर्वकालमा आफ्नो राज्यको सुरक्षा गर्नको लागि विशेष गरेर गोर्खा–खम्बुवान–लिम्बुवान–भोटे लाप्चाको लडाइँमा प्रयोग भएका हातहतियार; हाते तोप, खुँडा, ढाल, तरबार, नगरा, निशानलगायत मुगल, अंग्रेज, लिच्छवि, मल्ल, तिब्वती र शाहकालीन तामा र चाँदीका सिक्का जस्ता ऐतिहासिक तथा पुरातात्त्विक सामग्री संग्रहालयभित्र देख्न पाइन्छ। जुन कुरा विद्यालयमा पढ्न र देख्न पाइँदैन। भावी सन्ततिको लागि यी कुरा अत्यन्तै ज्ञानवर्द्धक हुने छन्। त्यहाँ भेटिएका पर्यटकसँग गफ गर्दा त्यहाँका सामग्री नेपालका अन्य कुनै पनि संग्रहालयमा नभएको प्रतिक्रिया दिने गरेका छन्।
संग्रहालयको अवधारणा र इतिहास
संग्रहालयको अवधारणा इशा पूर्वमा इजिप्टको ‘अलेक्जेन्डरिया’ बाट सुरू भएको हो। यो पार्कभित्र निर्माण गरिएको यूमा संग्रहालयले यहाँका नागरिक शिक्षित, सभ्य र सचेत छन् भन्ने कुराको संकेत गरेको छ।
यो पार्कले एकातर्फ पालिका र देशको प्रतिष्ठा बढाएको छ भने अर्कोतर्फ एक अटुट आर्थिक स्रोत बनेको छ। जसरी काठमाडौं सहरमा रहेका संग्रहालयको आम्दानीले कर्णालीका जनतालाई टेवा पुगेको छ। त्यसैगरी नै यूमा संग्रहालयमा टिकट बेचेर आएको पैसा नगरपालिका विकास र समृद्धिको लागि खर्च भइरहेको छ।
उधौली पर्व (चासोक थिःसोक) ‘चोत्लुङ चाङ्मा (शिर उठाउने) मेलामा यो पार्कमा विभिन्न जातजातिको विशाल उपस्थिति रहन्छ। लिम्बूको मुन्धुमबाट निर्देशित याःयेम्मा (चिन्ता राख्ने) खड्गो काट्ने, सामलिङ्मा/सातो हाल्ने कुरा सामूहिक रूपमा हुन्छ।
यस्ता कार्यमा लिम्बू मात्र नभएर अरू सबै जातजाति सहभागी हुन्छन्। ताप्लेजुङ तमोर, मिवा र फावा खोला, फेदाप र छथरका लिम्बू देवारी येबा/येमा, साम्बा, फेदाङ्माको दुर्लभ नृत्य पनि समय समयमा प्रदर्शन गर्ने गरिन्छ।
अझ मेला लागेको बेला पश्चिम कर्णाली क्षेत्रमा मात्र देख्न पाइने खस आर्यको ‘हुडकेली नृत्य’ हेर्दा त झन् एकतामा विविधता भने झै एउटा सप्तरंगी समाजको झल्को दिन्छ।
ज्ञान, मनोरञ्जन मात्र नभएर पर्यटनको हिसाबले पनि यो पार्क पूर्वको एक आकर्षक गन्तव्य बनेको छ। पहाडकी रानी वसन्तपुर बजारको महत्त्व यो पार्कले थप उचाइमा पुर्याएको विश्वास गर्न सकिन्छ।
-1763108107.jpg)
-1763108083.jpg)
-1763108083.jpg)
-1763108094.jpg)
-1763108094.jpg)
-1763108123.jpg)
-1763108059.jpg)
-1763108059.jpg)
-1763107992.jpg)