बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा क्याथे प्यासिफिकले जमिन टेक्ने बित्तिकै संसारको अति विकसित सहर बेइजिङले पानीका फोहोराहरूले हिर्काउँदै स्वागत गरिरहेको थियो।
संसारका हरेक कुनालाई जोडिरहेको विमानस्थल आधुनिक र भव्यताले चिटिक्क परेको थियो। आर्थिक विकासमा सबैलाई उछिनेर दौडिरहेको चीनको सबभन्दा बढी दौडिने सहर हो बेइजिङ। यहाँको आर्थिक विकासको गति म्याराथन धावकझैँ वेगवान् तवरले दौडिरहेको छ।
विश्वभरका उत्कृष्ट प्रतिभाहरूको जमघटस्थल बेइजिङ सन् २०२५ को तथ्यांक अनुसार करिब ७४४ अर्ब अमेरिकी डलर कुल ग्राहस्थ उत्पादन (जिडिपी) सहित विश्वका शीर्ष १० आर्थिक रूपमा शक्तिशाली सहरभित्र पर्दछ। यो सहरमा विश्वका विभिन्न कुनाबाट आएका मानिसहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ, जसले गर्दा यो ठाउँ कुनै एउटा मुलुकको राजधानी मात्र नभएर एउटा विश्वकै राजधानी जस्तो पनि लाग्दछ।
विमानस्थलभित्र चल्ने रेलमा करिब २ किलोमिटर गुडेपछि टर्मिनल भवनबाट बाहिरिने ठाउँ आइपुग्यो। दैनिक करिब १२ सय उडानमा २ लाख यात्रु ओहोरदोहोर गर्ने विमानस्थलमा थेगिनसक्नु भीड थियो। अनि उस्तै व्यवस्थित पनि। व्यवस्थापन गर्न जाने भीड पनि सुन्दर देखिने रहेछ। यही भीडमा भेटिएका थिए हामीलाई स्वागत गर्नका लागि एक चालक।
बेइजिङको व्यस्त विमानस्थलमा विभिन्न नाम लेखिएका प्लाकार्डहरूको भीडमा मेरो नाम लेखिएको प्लाकार्ड पनि थियो। नयाँ ठाउँमा पहिलोपटक भेटिएता पनि त्यो मान्छेसँग आत्मीयता हुँदो रहेछ। अझ त्योभन्दा ठूलो कुरा भरोसा हुँदो रहेछ। मसँग रहेका साथी कुमार खड्का अनि ड्राइभर, यो विशाल चीनमा मेरा लागि यी २ पात्र मात्रै थिए मैले चिनेका। यही २ पात्र नै मेरा लागि सबथोक थिए।
बेइजिङ आधुनिक अनि सम्पन्न सहर। दायाँबायाँ रूखले पर्खाल लगाएका फराकिला अनि चिल्ला सडक। बास सार्दै गरेका कमिलाका ताँतीजस्ता गाडीहरू लावालस्कर लाग्दा पनि कतै पनि ट्राफिक जाम थिएन। नदीमा डुंगा तैरिएजस्तै सडकमा गाडीहरू तैरिरहेका थिए। कुनै-कुनै त चालक बिनानै स्वचालित रूपमा संकेतले चलिरहेका रोबोट्याक्सीहरू थिए। संसारभरका गाडीहरू एकै ठाउँमा गुडेको जस्तो लाग्ने।
गाडीवाला नेपाली नबुझ्ने अनि म चाइनिज नबुझ्ने। हामीबीच संवादको कुनै मेसो थिएन। उसले एकाधपटक चाइनिज भाषामा केही भनेता पनि मैले हाँसेर प्रतिक्रिया दिएँ। मैले बुझ्ने कुरै थिएन। सायद उसले कुनै गम्भीर कुरा भनेकोमा म हाँसेँ कि? उसले संवादलाई जीवन दिन मन गरेन। मौनताको भने के भाषा हुन्छ र? मैले उसलाई मौनतामै पढ्न थालेँ। उसले पनि त्यसै गरी पढ्यो होला।
विमानस्थललाई पछाडि पार्दै बेइजिङमा भाषा अध्यापन गराउने बेइजिङ ल्याड्वेज कल्चरल युनिभर्सिटीको गाडीले हामीलाई आफ्नो गन्तव्यतर्फ दौडाउँदै थियो। विश्वविद्यालयको निमन्त्रणामा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि म त्यसतर्फ जाँदै थिएँ।
चीनको आधुनिक सहर बेइजिङको हाइदियान जिल्ला विश्वविद्यालयहरूको सहर जस्तो लाग्छ। हजारौँ विद्यार्थीहरूले अध्ययन गर्ने करिब ८० भन्दा बढी विश्वविद्यालयहरूले भरिएको यहाँ लाखौँ विद्यार्थीहरूले अध्ययन गर्दछन्। चीनको सबैभन्दा जेठो पेकिङ विश्वविद्यालयदेखि इन्जिनियरिङ, प्रविधि र विज्ञान विषयका लागि विश्वकै सर्वोत्कृष्टमध्येको एक सिन्ख्वा विश्वविद्यालय पनि रहेको छ। विशाल भूगोलमा फैलिएका यहाँका विश्वविद्यालयहरू कुनै एक सहर जस्ता लाग्छन्। एउटा आधुनिक सहरमा पाइने हरेक सुविधाहरू यहाँका हरेक विश्वविद्यालयहरूमा रहेका छन्।

यही जिल्लामा रहेका विश्वविद्यालयहरूको भीडमा रहेको विश्वविद्यालय हो बेइजिङ कल्चरल ल्याङ्वेज युनिभर्सिटी। जहाँ हामीलाई केही सिकाउनका लागि निमन्त्रणा गरिएको थियो। संसारभर चिनियाँ भाषालाई फैलाउने भनेर सन् १९६२ मा स्थापना भएको यो विश्वविद्यालय चीनकै भाषा सिकाउने सबैभन्दा पुरानो र उत्कृष्ट विद्यालय रहेछ। चीनको शिक्षा मन्त्रालयद्वारा प्रत्यक्ष रूपमा नियन्त्रित राष्ट्रिय प्रमुख विश्वविद्यालयमा यो पर्दछ। यस विश्वविद्यालयले केवल भाषाको ज्ञान मात्र बाँड्दैन, बरू विश्वभरका विद्यार्थीहरूलाई चिनियाँ संस्कृति, इतिहास र परम्परासँग जोड्ने एक जीवन्त पुलको रूपमा समेत काम गरिरहेको छ।
१ सय ४० भन्दा बढी देशका २२ हजारभन्दा बढी विद्यार्थीहरूले अध्ययन गर्ने यो विश्वविद्यालयलाई मिनी संयुक्त राष्ट्रसङ्घ समेत भनिँदो रहेछ। चिनियाँ भाषा र साहित्यमा अल्पकालीनसँगै पिएचडीसम्मका कोर्सहरू यस विश्वविद्यालयमा अध्यापन हुने गरेका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयले समन्वय गरेर छात्रवृत्तिमा चिनियाँ भाषा अध्यापन गराउन विगत केही वर्षदेखि यहाँ विद्यार्थी पठाउने गरेको छ। चिनियाँ भाषा सिकाउने संसारको सबैभन्दा ठूलो विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई भेट्दा मन प्रफुल्ल भयो। नेपाली नपुगेको ठाउँ पो कहाँ छ र?
विश्वविद्यालयकै गेस्ट हाउसमा हाम्रा लागि बस्ने व्यवस्था गरिएको थियो। यस हिसाबले पनि विश्वविद्यालयलाई विभिन्न कोणबाट हेर्न हामीलाई सम्भव भएको थियो। ३३ हेक्टरमा फैलिएको विश्वविद्यालयमा सबै खालका सुविधाहरू रहेका छन्। हामीकहाँ जस्तो बिहानभर या दिनभर कक्षाहरू सञ्चालन नगरेर यहाँ फरक-फरक समयमा कक्षाहरू सञ्चालन हुने गरेका छन्। एउटै विषयका कक्षा पनि सबै एकैपटक हुँदैनन्। साताभरि के अध्यापन गराउने भन्ने कुरा विद्यार्थीहरूले विश्वविद्यालयको एप्लिकेसनबाट अध्ययन गर्दछन् अनि त्यही आधारमा उनीहरू कक्षामा जाने गर्दछन्। सबै विद्यार्थीहरू छात्रावासमा बस्ने भएकाले पनि यो सम्भव भएको हो। यहाँ छात्रावासमा बस्नुपर्ने अनिवार्यता रहेको छ। विद्यार्थीहरूका लागि छात्रावासभन्दा बाहिर रहेर अध्ययन गर्दा निकै खर्चिलो हुने भएकाले उनीहरू छात्रावासमै अध्ययन गर्ने गर्दछन्।
मैले अगाडि नै भनेँ कुनै सहर जस्तो लाग्ने विश्वविद्यालय भनेर।
यही विशालताका कारण विश्वविद्यालयमा आफ्नै खालका कार्यक्रम, मेला नियमित रूपमा भइरहेका हुन्छन्। मैले यहाँ देखेको अर्को कुरा भनेको कलेज स्तरमा हामीकहाँ जस्तो यहाँ पोशाकको कुनै पनि खालको बाध्यात्मकता रहेनछ।
विद्यार्थीहरूले आफूलाई मनपर्ने लुगा लगाउन पाउँदा रहेछन्। चीनका धेरैजसो विश्वविद्यालयमा यस्तै खालको नियम पनि रहेछ। विभिन्न देशका विद्यार्थीहरू देख्दा विश्वविद्यालय विभिन्न देशमा फुलेका फूलहरूको फूलबारी जस्तो लाग्दछ। हरेक कुरा डिजिटलाइज्ड हुँदा विद्यार्थीहरूलाई कुनै पनि खालको द्विविधा रहेको पाइँदैन। न त कुनै आन्दोलन छ न त कुनै माग राखेर पठनपाठन नै अवरूद्ध गरिएको छ।
विश्वविद्यालय हाताभित्र बैंक, हुलाक कार्यालय, सुपरमार्केट, लन्ड्री, रेस्टुरेन्ट, कफी पसल र अन्य आवश्यक सेवाहरू रहेका छन्। यसले गर्दा विद्यार्थीहरूलाई क्याम्पस हाताबाट बाहिर जानुपर्ने देखिँदैन।
बेइजिङको यो एकीकृत र व्यवस्थित शैक्षिक प्रणाली देखिरहँदा मेरो मनमस्तिष्कमा नेपालको उच्च शिक्षाको चित्र नाच्न थाल्यो। हामीले पनि यो कुरालाई अनुसरण गर्दा कम लगानीमा पनि धेरै प्रतिफल पाउन सकिएला कि भनेर मनमा कुरा खेल्न थाल्यो।
हामीकहाँ छोटो दूरीमा पनि एकै खालका क्याम्पसहरू सञ्चालन गर्ने परिपाटी छ। काठमाडौमा मात्रै हेर्यौं भने पनि एकै खालका कार्यक्रम सञ्चालन गरिएका सरकारी कलेजहरू पनि कैयौँ रहेका छन्।
यातायातको सुविधाका हिसाबले काठमाडौँ, ललितपुर र भक्तपुरमा एक ठाउँबाट अर्को ठाउँमा जानका लागि खासै समस्या छैन। यस्तो अवस्थामा साना-साना कलेजहरूमा राज्यले लगानी गर्नुभन्दा पनि विशिष्टीकृत खालका कलेजहरू सञ्चालन गर्दा उपलब्धिपूर्ण हुने देखिन्छ। छात्रावाससहितको सुविधा दिएर बीसौँ हजार विद्यार्थीहरूलाई एकै ठाउँमा अध्यापन गराउन सकियो भने त्यसबाट दक्ष जनशक्ति उत्पादन गर्नुका साथै राज्यको लगानीलाई पनि एकीकृत गर्न सकिन्छ। यसरी सञ्चालन गरिने कलेजहरू बरू विशिष्टीकृत खालको हुनुपर्ने देखिन्छ। काठमाडौँ विश्वविद्यालयले अनुसरण गरेको यस प्रणालीलाई अरू विश्वविद्यालयहरूले अनुसरण गर्न सके टोलैपिच्छे कलेजहरू स्थापना हुँदैनथे कि!