१६ वैशाख, २०८३।
हामी मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथलाई लक्ष्य बनाएर धार्मिक पर्यटनका क्रममा यात्रामा छौँ र बास बस्न पर्वतको कुस्मामा आइपुगेका छौँ।
साँझको ७ बजे आसपासमा कोठामा झोला र ग्यारेजमा मोटर थन्क्याएपछि हामी फुर्सदिला भयौँ। पानी अझै पर्दैछ– सिमसिम। यत्तिको पानीमा हिँड्न हामीलाई छाता चाहिँदैन। खोज्ने बित्तिकै छाता पाइदा पनि पाइँदैन।
उसै पनि म सिमसिमे पानीलाई नटेर्ने नै मान्छे हुँ। छाता ओढ्नुभन्दा मलाई यस्तो पानीमा रुझ्दै हिँड्नु प्रितिकर लाग्छ। छातामा म रत्तिँदैरत्तिइनँ। छत्री मलाई मन पर्ने। क्याप लगाए जस्तो। टाउकामा राखी दिए भयो; समाउनु पनि नपर्ने।
तर कुस्माको यो साँझ यो सिमसिमे पानीमा हामीलाई केही चाहिएको छैन।
लजबाट निस्केर केही हिँडेपछि देखियो– कालीगण्डकी माथिको झोलुङ्गे पुलमा रमाइलो झिलिमिली। यही पुलको बिचतिर रहेछ– बन्जी जम्प। नेपालको सर्वाधिक अग्लो बन्जी जम्प।
बन्जी जम्प त होइन; यो झोलुङ्गे पुलमा वारपार गर्ने रहर भने छ– मेरो मनमा।
तर आज पुल वारपार गर्न तोकिएको समय सकिएको रहेछ।
हामी फुर्सदिला भयौँ।
कालीगण्डकीको किनारमा छौँ। अँध्यारो थपिँदै छ। सिमसिम पानी पनि परिरहेछ। के हेर्नु! कता डुल्नु!
बरु अब खाना खानु पर्छ क्यारे।
नजिकै रहेछ– थकाली भान्सा घर।
सातदोबाटोस्थित निरोग धामका आ.डा. उमेश श्रेष्ठले मेरो खानपानको ढाँचा यसरी बदलिदिएका छन्: भाग बस्दा ध्यान भाततिर होइन; तरकारीतिर जान्छ। तरकारीमा पनि हरियो साग। तर यहाँ तरकारी त... उफ्!
छन त भागमा साग पनि छ, तरकारी पनि छ, भुजिया पनि छ, अचार पनि छ; तर सबै अचार जति मात्र- थोरै, थोरै।
साग, तरकारी आदि देखाएर खाना लिएर आउने युवतीसँग मैले ठट्टा पनि गरेँ– ‘ओहो, यतातिर त कति धेरै थरी अचारैअचार! यो सबै के–केको अचार नि?’
उनी मुसुक्क हाँसिन्।
ठट्टा बुझ्ने मान्छे पाउनु पनि भाग्य हो। नत्र त ठट्टा गर्दा पनि पारि पुग्न फड्किएको मान्छे कुलामा पछारिएको ‘स्वाद’ पाइन्छ।
सामान्यतया हामी बेलुकाको खानपानमा मांसाहारी रुचाउँदैनौँ।
त्यसमाथि कौशु त तीर्थयात्रामा निस्किएदेखि नै खानपानका हिसाबमा खास निष्ठामा छिन्। बाटामा पर्ने देवस्थल र मुक्तिनाथको दर्शन नगरीकन र कागबेनीमा पितृश्राद्ध नगरीकन उनी त्यो निष्ठाबाट च्युत हुने कुरा सोच्न पनि सकिँदैन।
कविता र सार्थकले आआफ्ना लागि मासु फर्माइसके।
थकाली भान्सा घर। साइनबोर्डको इज्जत धान्न भातमा घिउ हालिदिने भङ्गिमा सहित आइपुगेकी छिन्– उनै वेटर।
घिउ औधी मिठो लाग्ने मलाई। सानामा घिउ र भात मात्र पनि मिठो मानेर खाइन्थ्यो। घिउ भातमा चिनी/सक्खर हालेपछि त कति मिठो लाग्थ्यो; लाग्थ्यो!
भात/जाउलो खान आनाकानी गरेको छु भने आमा भन्नु हुन्थ्यो– ‘घिउ हालिदिन्छु; खा।’
मलाई यति मिठो लाग्ने घिउ।
पछि आएर मलाई घिउ छुटाउन परामर्श गर्न सम्पर्क गरिएका आयुर्वेदिक, एलोपैथिक चिकित्सक र पोषणवेत्ता (डाइटिसियन) आदि एकमत भए। कौशु र परिवारका सबै सदस्य यिनकै पक्षमा। अनि भयो!
मैले घिउ नखाएको धेरै भयो। भान्सामा सबैले घिउ खाए पनि ‘तपाईं पनि खाने’ भनेर मलाई नसोधेको पनि युगौँ भयो।
तर आज मैले भनेँ– ‘राख नानी, धक फुकाएर राख।’
ठिकै समयमा भनिएछ। बढी डर कौशुको थियो। हेरेँ; कौशु आफ्नै धुनमा छिन्। सार्थक र कविता पनि आआफ्नै स्वादमा मग्न। कतैबाट अब्जेक्सन आएन।
क्या मज्जा!
उमेशजीले मलाई निस्तो भात खान बानी पारिदिएका छन्। यति घिउमा मोलमाल पार्न पाएपछि मलाई तरकारी किन चाहियोस्!
भोलिपल्ट बिहान हामीले म्याग्दीको दाना भन्ने स्थानमा खाना खायौँ– सादा खाना। कौशुसँग टेबुल सेयर गरेको थिएँ। उनले नखाने भएपछि माछामासु के खानु जस्तो लाग्यो, खाइएन। भागमा सागपातजन्य तरकारी पनि थोरै थोरै। घिउ राख्ने पालो आएपछि मैले कौशुको भाग देखाएर भनेँ– ‘राख।’ कौशु भात मोलमाल पार्न लागिन्।
मेरो पालोमा मैले भन्न भ्याएँ– ‘अलिक राख।’
बेलुका मुक्तिनाथको रानीपौवास्थित होटेल सिद्धार्थमा बस्यौँ हामी। मैले रोटी फुर्माएँ। फेरि तरकारीको ढङ्गढाँचा सम्झेर भनेँ– ‘रोटी र भात।’
खानामा पहिले रोटी आयो अनि भात।
मेरो भागमा रोटीपछि भात आउँदा अरू खपाखप खाँदै थिए। घिउको पालोमा मैले संकेत गरेँ ‘मैले भो नभनेसम्म राख।’
वेटर मुस्काइन्।
भोलिपल्ट बिहान होटेल सिद्धार्थमा म छुट्टै टेबुलमा बसेँ। यहाँ मैले रोटी र भात भनिनँ; सादा खाना नै भनेँ। अब मलाई घिउ–भात खान कसले रोकोस्!
होटेल काउन्टरमा भद्र महिलासँग मैले भनेँ– ‘कति मिठो घिउ ख्वाउनु भयो। यहीँको हो?’
‘यहाँ कहाँ पाउनु,’ उनले जवाफ लाइन्– ‘तलैबाट ल्याएको हो। पोखराको डेरीबाट ल्याएको।’
‘हो हो, यहीँकै हो। घिउ यहीँ उत्पादन हुन्छ; यहीँको चौरीको घिउ हो’ भन्ने जवाफ पाएको भए म कति मक्ख पर्ने थिएँ। उनको जवाफ सुनेर म खिस्रिक्क परेँ, ट्वाँ भएँ।
१८ गते दिउँसो हामी कागबेनीमा झर्यौँ।
रानीपौवाबाटै हामीले यहाँको ‘होटेल कर्णाली’मा बसोबासको बन्दोबस्त मिलाएका थियौँ। झोला थन्क्याएर हामी लाग्यौँ– दुम्बा तालतिर। दुम्बा तालबाट फर्केर कागबेनी आइपुग्दा हामी सबै भोकाएका थियौँ। कुनै उचित रेस्टुरेन्टको पहिचान गरेर खाजा खाएर मात्र बासमा फर्किनु पर्ला भन्ठानेर कागबेनीको पुछारमै हामीले छाडी दियौँ– ट्याक्सी।
कागबेनीमा पूजा सामग्रीका पसल कत्ति–कत्ति! एकादुई होटेल लेखेका साइनबोर्ड पनि देखियो तर होटेलमा खाजा पाइएन।
हार मानेर हामी होटेल कर्णालीमै फर्कियौँ।
साहुनीले भनिन्– ‘चाउचाउ पकाइदिऊँ?’
२०४०–४२ सालतिर म खुबै खान्थेँ– चाउचाउ। उस्तै परे खानाकै साटो पनि दन्काइदिन्थेँ।
त्यसयता चाउचाउ खान कम हुँदै आयो। चाउचाउ खान ठप्प भएको पनि कयौँ वर्ष भयो।
तर यहाँ त के भनूँ र! हामीले भन्यौँ– ‘हुन्छ।’
यो होटेल रहेछ– परिवारभित्रकै जनशक्तिबाट सञ्चालित। दाइको तल पूजासामग्री पसल छ, दिउँसो उतै बस्नु हुन्छ। एउटी छोरी छ, ऊ साथीहरूसँग मिलेर तानमा कपडा उत्पादन गर्छे। छोरो अल्लारे उमेरमा छ, नौ कक्षामा पढ्छ। दिउँसो भाउजूलाई मात्र भेटिन्छ– होटेलमा।
बेलुका परिवारका सबै सदस्य जम्मा हुन्छन्, पकाउँछन्, तुल्याउँछन् र खाना बाँड्छन्। सरसफाइ पनि उनीहरू नै गर्छन्।
भोलि बिहान यो परिवार सखारै ब्युँझिन्छ। अब दाइलाई भेट्न पूजासामग्री पसलमा पुग्नु पर्छ; छोरी घरबुना सामग्रीहरूको पसलको काउन्टरमा भेटिन्छे। खानाको/बासको केही हिसाबकिताब बाँकी छ भने भाउजूलाई भेट्नु पर्छ।
यो लगाव, यो उद्यमशीलता र यस्तो मेहनतलाई सलाम नगरूँ त!
बेलुका हामीले भात खायौँ; आलुको तरकारी, आलुको अचार, आलुको भुजिया र दालसँग मुछेर। घिउ छुट्ने कुरै थिएन। तर मलाई यहाँ ‘घिउसँग खाएँ’ भन्नभन्दा ‘आलुसँग खाएँ’ भन्दा मज्जा लाग्छ। आलु यत्ति मिठो पनि हुन्छ!
कि यो पाककलाको कमाल हो!
खाना खाएर हामी सुत्यौँ।
कागबेनीमा कुनै गतिलो खाजा पसल नपाएकोमा मेरो असन्तुष्टि सार्थकले महसुस गरेको रहेछ। भोलिपल्ट उसले भन्यो– ‘यहाँको पुरानो बजार केही वर्षअघि खोलाले बगाएको रहेछ। र, यो त्यसपछिको नवनिर्माण रहेछ।’
घरमा फर्केर मैले मुक्तिनाथ जाँदा आउँदाको ‘भान्सा–कथा’ काकाबालाई सुनाएँ। उहाँ आफै पनि तीन-तीन पटक जानु भएको छ मुक्तिनाथ। भन्नुभयो– ‘म त खाजासामल कुम्लोमा बोक्ने समयमा पनि गएँ। पछिल्लो पटक खान बस्न केही सहज भएको थियो। अब अहिले त होटेल, लज नै भएछ, धेरै भएछ।’
मुक्तिनाथ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्र। यहाँबाट देखिने हिमाल, यहाँको मरुभूमि तुल्य डाँडाहरू, रहनसहन, भेषभूषा आदिले पनि पर्यटकहरू मुग्ध हुन्छन्, मक्ख पर्छन्। बाटैमा पर्दो रहेछ– मार्फा: आधुनिकताले छुँदै/नछोए जस्तो देखिने एक परम्परागत मानव बस्ती। पर्यटकहरू मार्फाका गल्लीहरूमा रमाउँछन्, यहाँका परम्परागत भेषभूषा लगाएर फोटो खिच्छन्, भिडियो बनाउँछन् र आफ्नो मुस्ताङ यात्रालाई अविस्मरणीय तुल्याउँछन्, उत्सवमय बनाउँछन्।
बसोबासको ढङ्गढाँचा जस्तै पर्यटनको एउटा मुख्य पक्ष खानपान पनि हो; खानपानका परिकारहरू पनि हुन्। अझ स्थानीय परिकारहरू चाख्न पाए पर्यटकले मुक्तिनाथको पर्यटकीय यात्रा अनुभवमा अर्को एउटा महत्त्वपूर्ण पक्ष थपिन्छ। मुक्तिनाथ यात्राका यी होटेलहरूमा खानाका केही परिकार यस्ता होउन्, जुन यहीँ आएर मात्र खान पाइयोस्। केही यस्ता सागपात र तरकारीको जोहो होओस्, जुन मुक्तिनाथ यात्राका खास पहिचान बनुन्। मःम, सेकुवा, बर्गर र पिज्जा आदि मुक्तिनाथ मार्गका होटेलहरूमा स्वादिला लाग्दैनन्।
यही आएर मात्र खान पाइने कतिपय स्थानीय परम्परागत परिकारहरूको जगेर्ना गर्न सके यस क्षेत्रको पर्यटन उद्यममा पक्कै थप सहयोग पुग्छ।