यो यात्रा केवल यात्रा मात्रै थिएन, सहधर्मिणीसँगको पावन यात्रा थियो। वर्षौँ पहिलेदेखिको इच्छा, तर पाइला अगाडि बढाउन सकिएकै थिएन। हाम्रो दाम्पत्य जीवनले पनि सुनौला बाह्र वर्ष पार गरिसकेको थियो। भगवानको आराधना, भगवानप्रतिको भक्तिभाव तथा तीर्थयात्रा हामी दुवैका रुचिका क्षेत्रहरू भएकोले हुनुपर्छ, दुई तन एक मन भएको। जीवनका हरेक मोडहरूमा हाम्रो मनले सम्झिरहने पवित्र तीर्थस्थल हुनुहुन्थ्यो, पाथीभरा माता।
ताप्लेजुङ जिल्लामा ३७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा पर्वतमा उत्पन्न भएकी देवी भएकै कारण पाथीभरा देवी भनिएको रहेछ। पाथीभरा देवीलाई प्रसिद्ध शक्तिपीठको रूपमा लिइन्छ। वर्षौँपछिको सपना पूरा हुँदै थियो, हामी उत्सुक थियौँ। अब पाथीभरा माताको दर्शन गर्न जाने पक्कापक्की भइसकेको थियो।
२०८२ चैत १८ गते ओखलढुङ्गाबाट हाम्रो यात्रा अगाडि बढ्ने भयो। उनी इलामसम्म पुगेकी थिइन्, म बढीमा झापा दमकसम्म मात्र। तमोर करिडोर खुलेको छ भन्ने कुरा साथीहरूबाट जानकारी प्राप्त भएपछि हामी त्यही रुटबाट नै जाने भयौँ। ओखलढुङ्गाबाट कटारी–गाईघाट–चतराको बाटो हुँदै अगाडि बढ्यौँ हामी।
चतरामा रहेको सप्तकोसी पुलबाट केही किलोमिटर माथि पर्ने वराहक्षेत्र धाम, जसलाई धर्तीको पहिलो तीर्थस्थल पनि भनिन्छ। हिरण्याक्ष नामक शक्तिशाली दैत्यले पृथ्वीलाई समुद्रको पिँधमा लुकाएपछि पृथ्वीलाई मुक्त गर्न भगवान विष्णुले वराहको अवतार लिनुपरेको थियो भनिन्छ। यो भगवान विष्णुको तेस्रो अवतार थियो, जसका लागि वराहक्षेत्र प्रसिद्ध छ। हामीले वराहक्षेत्र धामको दर्शन गर्यौँ, सप्तकोसी र कोकाहा मिसिएको संगममा गएर पितृहरूको लागि तर्पण गर्यौँ हामीले।
त्यो दिन सुनसरी क्षेत्रमा केही आफन्तजनसँग भेटघाट गरेपछि, हाम्रो बास धरानमा भयो। भोलिको यात्राका लागि टिकट लिइसकेका थियौँ। भोलिपल्ट बिहान छ बजेपछि बोलेरो जीप अगाडि बढ्यो। तमोर करिडोरको निर्माणाधीन सडक, त्यति सहज यात्रा हुँदैन होला भन्ने लागेको थियो तर केही ठाउँबाहेक बाटो गजब रहेछ। ठाउँ–ठाउँमा रहेका खोलाहरूमा पक्की पुल बन्दै थिए। पुल बनिसकेपछि यो बाटो अझै सहज हुनेछ।
यात्रा गर्दै जाँदा थाहा भयो, तमोर करिडोर त पूर्वी पहाडको लागि जीवनरेखा नै रहेछ। धनकुटाको साँघुरीगढी, चौबिसे गाउँपालिका हुँदै पाँचथरको तुम्बेवा सावा खोला पुगियो हामी। कस्तो सुन्दर, तमोर वारी पाँचथर जिल्ला–तमोर पारी तेह्रथुमको छथर पालिका। पाँचथर, छथर नामकरणको पछाडि लिम्बूवान इतिहास, भाषा र संस्कृति जोडिएको रोचक ऐतिहासिक कारण रहेछ।
लडाइँ थामिएको वा रोकिएको प्रसङ्गबाट छथरको सुरूआत भएको पाइयो। दस्तावेजहरूमा वि.सं. १८६७ बाट छथर लेख्न थालिएको रहेछ। कुरा, छलफल वा विवाद मिलेको क्षेत्र वा इलाकालाई पान्थरथुम भन्न थालिएको र पछि नेपाली भाषामा उच्चारण गर्दा पाँचथर हुन पुगेको मान्यता रहेछ।
यसरी पाँचथर र छथरको बारेमा आंशिक जानकारी भएता पनि थाहा भयो। पाँचथरका तुम्बेवा, कुम्मायक, फेदाप जस्ता थुप्रै ठाउँहरू छुँदै अगाडि बढ्यौँ हामी। पाँचथरको धेरै भूभाग हिँड्नुपर्ने रहेछ तमोर करिडोरमा। दिउँसो एक बजे कावेली खोला तर्यौँ। कावेली वारी पाँचथरको हिलिहाङ र पारी ताप्लेजुङको याङ्वरक पालिका पर्दो रहेछ। करिब दुई बजे ताप्लेजुङको फुङ्लिङ बजार पुग्यौँ हामी। पाथीभराको नजिकमा छौँ भनेर होला, उत्सुकता झनझन बढी रहेकै थियो।
फुङ्लिङ पुगेपछि धरानबाट आएको बोलेरोको यात्रा सकियो। बोलेरोकै गुरुजीले हाम्रा लागि काफ्लेपाटीसम्म जाने गाडी रोक्न लगाइदिनुभएको थियो। फुङ्लिङबाट उकालो लाग्यौँ हामी। सुकेटार विमानस्थलभन्दा केही माथिसम्मको बाटो राम्रो थियो। त्यसपछिको बाटो त्यति सहज थिएन। बोलेरो जीपको पाङ्ग्रा मात्र हिँड्ने लिक, अलिअलि डर लागेकै थियो।
दिउँसोको साढे तीन बजेतिर काफ्लेपाटी तल्लो फेदी भन्ने ठाउँमा पुग्यौँ हामी। गाडीको यात्रा त्यहीँसम्म मात्र रहेछ। अब पूरै उकालो चढ्नुपर्ने थियो। तल्लो फेदीमा केही सामान किनेपछि नासोको रूपमा टेक्ने लौरो पाइयो। हामीलाई लौरो सहारा, हामी हाम्रै सहारा, उकालो चढ्यौँ हामी। तल्लो फेदीबाट नै बेलुकाको खाना बासको लागि एउटा होटलमा फोन गरिसकेका थियौँ हामीले।
माताको दर्शनको भोकले होला, हामीलाई उकालो चढ्न त्यति कठिन भएन। माथिल्लो फेदी पुग्यौँ हामी। त्यहाँ होटलहरूलाई नम्बरबाट चिनिने रहेछ। हाम्रो आजको बास होटल नं. ५ ठूलो फेदी होटल एन्ड लजमा हुने भयो। जङ्गलको बीच, भिरालो जमिन तर सुन्दर। माथिल्लो फेदी नै रात्रिबासका लागि अन्तिम बिन्दु रहेछ।
भोलिपल्ट बिहान तीन बजे नै उठेर स्नान गर्यौँ। स्नान गर्ने प्रबन्ध होटलमै थियो। मुख्य उकालो हिँड्नु थियो हामीलाई, आफ्नै शरीर पनि गह्रौँ लाग्ने गरी। हाम्रो झोलाहरू त्यहीँ राख्यौँ, ५ नं. होटलमा। पूजाका सामग्रीहरू मात्र बोकेर, मोबाइलको लाइट बालेर अगाडि बढ्यौँ हामी। केही तीर्थालुहरू पनि हिँडिसक्नु भएको थियो।
हिजो पनि भगवानकै थियौँ, भोलि पनि भगवानकै बन्नेछौँ, आज भगवानकै अंश छौँ। हामी भगवानकै अंश हौँ, त्यसैले होला भगवानको चरण स्पर्श गर्न जाँदा कति उत्सुक छौँ, कति आतुर छौँ, मनमनै सोचेँ मैले। तीन घण्टा र केही मिनेटमा नै उकालो पार गरेर माताको चरणमा पुग्यौँ हामी। बिहानै भएकोले मौसम त्यति खुलिसकेको थिएन। वर्षौँपछिको सपना पूरा भएको थियो, माताको दर्शन गर्ने।
पूजापाठ र आरती गरिसकेपछि केही फोटो र भिडियो कैद गर्यौँ। पुनः मातालाई दण्डवत् गरेर फर्कियौँ हामी। उकालो चढ्नभन्दा ओरालो झर्दा केही कठिन भयो। ठूलोफेदी झरेर चिया खायौँ, तल्लोफेदी झरेपछि सधन्यवाद हिजोको नासो लौरो फिर्ता गर्यौँ हामीले।
हामीलाई अब इलाम पुग्नु थियो। फुङ्लिङ झरेपछि हतारहतार खाना खाएर दमक झर्ने गाडीमा चढ्यौँ। उही कावेली खोलो तर्दै पाँचथर तर्फ अगाडि बढ्यौँ हामी। पाँचथरको फिदिम हुँदै गाडी अगाडि बढ्यो। हाम्रा लागि बिल्कुल नयाँ बाटो, नयाँ ठाउँ थियो यो। यसपछि कस्तो ठाउँ आउने होला, मनमा खुल्दुली बढिरहने।
इलाम छोइएछ अब, राँके भन्ने ठाउँमा पुगेपछि खाजा खायौँ। मेची राजमार्गको यो बाटो हुँदै फिक्कल पुग्यौँ। फिक्कलमा शिव मामाकोमा आजको बास हुने भयो। लगभग बीसौँ वर्षपछि उहाँसँग भेटघाट भएको थियो। राति अबेरसम्म गफगाफ गर्यौँ। गाउँका सबै मान्छेहरूको बारेमा सोधखोज गर्नुभयो। आज पनि गाउँको माया उत्तिनै रहेछ उहाँलाई, हिजो जति थियो।
भोलिपल्ट बिहानको खानापछि बिदा भयौँ। फिक्कल पुगेपछि पशुपतिनगर पुग्नै पर्यो, पशुपतिनगर नेपाल र भारतको सिमाना हो। फिक्कलबाट धेरै टाढा पनि होइन रहेछ पशुपतिनगर। केही बेर पशुपतिनगर घुमेपछि कन्यामतर्फ फर्क्यौँ हामी। कन्याम सुन्दर पर्यटकीय ठाउँ हो। मान्छेहरू इलामभन्दा कन्यामलाई नै सम्झिने गर्दछन्। मनोरम चियाबारी भएको यो ठाउँ नेपालको मात्र नभएर भारतको समेत पर्यटकीय गन्तव्य हो।
हामी कन्याममा गुरुङ पोसाकमा सजियौँ। फोटो भिडियो खिच्दै, टिकटक अनि रिलहरू बनाउनै पर्यो, हामीले पनि त्यही गर्यौँ, सोसल मिडियाको जमाना जो छ। कन्यामको घुमघामपछि झापा हुँदै मोरङ पथरी झरियो। पथरीमा ठूलोबुवासँग भेटघाट गर्दै आशीर्वाद लिने अवसरका लागि आजको हाम्रो बास पथरीमै भयो। मेरो बुवाको ठुल्दाइ हो उहाँ, पहिले नै पहाडबाट तराई बसाइ सर्नु भएको थियो।
उहाँहरूसँगको भेटघाटसँगै भोलिपल्ट ओखलढुङ्गा फर्कियौँ हामी। यसरी पूर्वका चार जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापाको यात्रा पूरा भयो हाम्रो।
सबैभन्दा महत्त्वपूर्ण त हामीले पाथीभरा माताको संयुक्त दर्शन गर्यौँ। हिन्दू शास्त्रमा धार्मिक कार्यको पूर्णता, पुण्यको साझेदारी तथा सम्बन्धमा प्रगाढताका लागि पति–पत्नीले सँगै पूजाआजा गर्नु र तीर्थयात्रामा जानु कल्याणकारी र फलदायी मानिएको छ। त्यसैले प्रिय मुनालाई मैले सहधर्मिणी र पाथीभरा तीर्थको यात्रालाई पावन यात्रा भनेको हुँ। त्यसैले यो विजय–मुनाको पावन यात्रा हो।
विवाह केवल दुई व्यक्तिको मिलन मात्र होइन। शास्त्रानुसार ऋणानुबन्ध, भाग्य र प्रारब्धको खेल, कर्म सुधार्ने माध्यम, सात जन्मको बन्धन जस्ता कुराहरूले विवाह हुने गर्दछ। त्यसैले यो आध्यात्मिक र सामाजिक बन्धन पनि हो। जसले गृहस्थाश्रमको सुरुवात गराउँदै सम्बन्धको अमरता बनाउने गर्दछ। जहाँ एकबिना अर्को अपूर्ण हुने गर्दछन्, भगवान शिवको अर्धनारीश्वर रूपबाट समेत यो पुष्टि हुन्छ।
त्यसैले सहधर्मिणीसँगको यो पावन यात्रा अविस्मरणीय रह्यो, फेरि अर्को पावन यात्रा समयले कहिले जुराउने हो…।