ललितपुरमा जन्मिएका अजर राजभण्डारी चर्चित म्यागजिन 'फोर्ब्स' को ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा परेका छन्।
छोटो समयमा इ–कमर्स क्षेत्रमा ठूलो कारोबार गरिरहेका उनी 'रिटेल एन्ड इ–कमर्स २०२६' विधामा छानिएका हुन्।
सन् २००१ देखि अमेरिका बस्दै आएका उनी त्यहाँ 'हर्ड' नामक कम्पनी चलाउँछन्। उनले यो कम्पनी करिब डेढ वर्षअघि सुरू गरेका हुन्।
हर्डले विभिन्न इनोभेटिभ ब्रान्डहरू डिजाइन, उत्पादन तथा बिक्री गर्दै आएको छ। यसले अमेजन, वालमार्ट, टार्गेटजस्ता ठूला इ–कमर्स र रिटेल प्लेटफर्ममार्फत आफ्ना उत्पादनहरू बिक्री गर्छ।
हाल मिनी माइक प्रो नामको माइक्रोफोन, यस्तै अन्य विद्युतीय तथा सौन्दर्य र लक्जरियस सामग्री उत्पादन तथा बिक्री गरिरहेको हर्डका संस्थापक अजरले बताए।
मिनी माइक प्रो माइक्रोफोन अमेरिकी बजारमा निकै लोकप्रिय भएको उनको भनाइ छ।
'हामीले उत्पादन गरेको मिनी माइक प्रो अत्यन्त रूचाइएको छ। यो माइक्रोफोन अमेजनको निरन्तर बेस्ट सेलर सूचीमा छ। कोरियन फेस मास्क (सौन्दर्य सामग्री) पनि निकै लोकप्रिय छ। अनि अर्को उत्पादन कुकुरको कलर (घाँटीमा लगाउने) पनि हो। यसको पनि राम्रो माग छ,' अजरले भने।
उनका अनुसार हर्डले बजार माग र आवश्यकताका आधारमा उत्पादन गर्छ। बजारमा के बेच्ने भन्ने निर्णय तथ्यांक र अनुसन्धानमा आधारित हुन्छ।
'हामी मान्छेहरू के खोजिरहेका छन्, के कुरामा खुसी छैनन् — यस्ता विषयमा अध्ययन र अनुसन्धान गर्छौं,' अजरले भने, 'त्यसपछि डिजाइन तयार गर्छौं।'
हर्डको कारखाना भने चीनमा छ। सो कारखानाबाटै विभिन्न सामान उत्पादन हुने र त्यसपछि इ–कमर्स प्लेटफर्ममार्फत बजारमा बिक्री गरिने अजरले बताए।

हर्डको अर्को विशेषता भनेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग हो।
कम्पनीले सुरूआतदेखि नै प्रविधिमा ठूलो लगानी गर्दै आएको उनी बताउँछन्।
'एआईले हाम्रो सप्लाई चेन (आपूर्ति शृंखला), कस्टमर सपोर्ट (ग्राहक सेवा), डेटा एनालाइसिस (तथ्यांक विश्लेषण) लगायत काम गर्छ,' उनले भने, 'ग्राहकको प्रतिक्रिया सुन्ने, विश्लेषण गर्ने र समाधान गर्ने काम एआईबाटै हुन्छ। त्यस्तै, उत्पादनको गुणस्तर सुधार गर्ने काम पनि एआईको सहायताबाटै भइरहेको छ।'
हर्ड सुरू गर्दा अजरले १५ हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसार साढे २१ लाख रूपैयाँ हाराहारी) लगानी गरेका थिए। अहिले वार्षिक कारोबार एक करोड ५० लाख अमेरिकी डलर (२ अर्ब १५ करोड रूपैयाँ हाराहारी) पुगेको उनले बताए।
आगामी वर्ष यो कारोबार दोब्बर पुर्याउने अजरको लक्ष्य छ।
'बजारको आवश्यकता अनुसार उत्पादन बढाउने र आगामी वर्ष ३० मिलियन (तीन करोड) डलर (४ अर्ब ३० करोड रूपैयाँ हाराहारी) कारोबार पुर्याउने लक्ष्य राखेको छु,' उनले भने।
अजरले हर्डमार्फत हाल अमेरिकामा १० जना र चीनको फ्याक्ट्रीमा ५० जना गरी कुल ६० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। भविष्यमा थप रोजगारी सिर्जनामा टेवा पुर्याउने उनको लक्ष्य छ।
ललितपुर लबिम मल नजिकै घरमा जन्मिएका अजर पढाइको सिलसिलामा सन् २००१ मा अमेरिका गएका हुन्। सानैदेखि व्यवसायमा रूचि भएकाले उनको पढाइ पनि व्यवसाय केन्द्रित नै भयो।
स्नातक तह पढिसकेर उनले न्यूयोर्कको एक बैंकमा तीन वर्ष काम गरे। त्यसपछि आफै केही गर्नुपर्छ भन्ने सोचका साथ हर्ड सुरू गरेको उनले बताए।

२७ वर्षीय अजरले नेपालको बजारमा पनि इ–कमर्स बजार विस्तार गर्ने सोच बनाएका छन्।
'अहिले अमेरिकामा जतिसक्दो धेरै लक्जरी सामान बेचिरहेको छु। नेपालको बजारमा चाहिँ दैनिक जीवनमा अत्यावश्यक सामान बेच्नुपर्छ भन्ने सोच छ। अहिले नेपालमा स्वास्थ्य उपचारका लागि चाहिने सामान उत्पादन गर्दैछु,' उनले भने, 'नेपालमा पनि रोजगारी सिर्जना गर्ने गरी काम गर्न मन छ।'
विश्व बजारका लागि पनि अन्य नयाँ–नयाँ उत्पादन गर्ने योजना अजरको छ।
'अहिले अमेरिकामा छौं। अब नेपाली बजार, युरोपका बजार हुँदै विश्वका बजारमा पुग्ने योजना छ,' उनले भने, 'प्रविधिमा अझै धेरै लगानी बढाउने र विद्युतीय तथा सौन्दर्य सामग्री उत्पादन अझै थप्ने योजना छ।'
आफू फोर्ब्सको ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा परेपछि काम गर्न थप प्रेरणा मिलेको उनले बताए।
'म त सुरूमा त चकित नै भएँ। किनभने त्यहाँ मभन्दा धेरै अनुभवी सेलेब्रेटीहरू पनि हुनुहुन्छ। नेपाललाई प्रतिनिधित्व गर्दै म छानिएँ। निकै खुसी छु,' अजरले भने।