संयुक्त राज्य अमेरिकामा दर्ता भई सञ्चालनमा रहेका दुई गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच एकता भएको छ।
शनिबार नेभेडा राज्यको लस भेगासमा सम्पन्न विशेष कार्यक्रममा न्युयोर्कमा दर्ता भई सूर्य लम्साल नेतृत्वमा रहेको एनआरएनए र टेनेसीमा दर्ता भई सतेन्द्र साह नेतृत्वमा रहेको एनआरएनएबीच एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार अब टेनेसीमा दर्ता भएको एनआरएनए एनसिसी अमेरिकामार्फत नै सबै गतिविधि सञ्चालन गरिनेछ भने न्युयोर्कमा दर्ता भएको एनआरएनए खारेज गरिएको छ।
सम्झौतामा सतेन्द्र साह र लम्साल पक्षका तर्फबाट महासचिव तथा कार्यवाहक अध्यक्ष यदु बञ्जाराले हस्ताक्षर गरे।
हस्ताक्षरपछि बञ्जाराले गैरआवासीय नेपालीको हित र अधिकारका लागि एकता आवश्यक र ऐतिहासिक रहेको बताए।
अध्यक्ष साहले पनि साझा मुद्दा स्थापित गर्न एकताको विकल्प नभएको उल्लेख गरे।
कार्यक्रममा विभिन्न च्याप्टरका प्रतिनिधि तथा सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस एकतालाई ऐतिहासिक कदम भन्दै स्वागत गरेका छन्।