पत्रकार विष्णु विवेकको पहिलो कृति 'घाटगाउँ' विमोचन भएको छ।
सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्यबारे नियात्रा तथा स्मृतिसंग्रह घाटगाउँ मंगलबार विमोचन भएको हो।
विवेकले काठमाडौंमा घाटगाउँ सार्वजनिक गरेका हुन्।
सुर्खेतको चौकुने गाउँपालिका ९-घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा घाटगाउँ लेखेको बताए।
भेरी र कर्णाली नदी मिसिएको दोभान घाटगाउँ पर्यटकीय दृष्टिकोणले सुन्दर गन्तव्य मानिन्छ।
घाटगाउँमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षाका क्रममा गरेको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिदाका आफ्ना चुनौतीपूर्ण भोगाई समेटेका छन्।
'सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यथार्थ सपना र संघर्षको भोगाइ लेखेको छु,' उनले भने, 'आफ्नो सपनालाई माया गर्ने हर कोहीलाई यो पुस्तकको भोगाइ आफ्नै जस्तो लाग्छ।'
पुस्तक बिक्रीबाट उठेको रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयका लागि पुस्तकालय निर्माणमा खर्च गर्ने उनले बताए।