सतीश चापागाईं अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा बस्छन्। उनको त्यहाँ लिकर (मदिरा) व्यवसाय छ। यो व्यवसाय साझेदारीमा हो।
सतीश त्यहाँ सामाजिक तथा राजनीतिक गतिविधिमा पनि सक्रिय छन्।
'साझेदारीमा व्यवसाय गरेको छु, राजनीतिमा पनि छु,' सतीशले भने।
विशेषगरी नेपाली समुदायसँग सम्बन्धित विभिन्न कार्यक्रममा उनको सहभागिता हुन्छ। हाल उनी मेरिल्यान्ड राज्यमा हुने हाउस अफ डेलिगेट्स निर्वाचनको चुनावी अभियानमा सक्रिय भएका छन्।
उनी डेमोक्र्याटिक पार्टीबाट डिस्ट्रिक्ट–७ ए क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवार बन्ने तयारीमा छन्। त्यसका लागि हुने पार्टीको आन्तरिक निर्वाचन (प्राइमरी) मा उम्मेदवारी सतीशले बताए।
'अहिले पार्टीभित्रकै प्राइमरी निर्वाचनमा उम्मेदवारी दिएको हुँ,' उनले भने।
उनका अनुसार आगामी नोभेम्बरमा हुने मुख्य निर्वाचनअघि पार्टीभित्रबाट उम्मेदवार छनोट गर्न प्राइमरी चुनाव हुने व्यवस्था छ। सोही अनुरूप सतीशसहित प्राइमरीमा पार्टीभित्रबाट चार जना प्रतिस्पर्धामा छन्।
'प्राइमरी चुनाव जितेपछि अर्को पार्टीका उम्मेदवारसँग मुख्य चुनाव लड्न पाइन्छ। त्यसपछि विजयी भए हाउस अफ डेलिगेट पदमा निर्वाचित हुने व्यवस्था छ।र निर्वाचन प्रक्रिया अमेरिकाको निर्वाचन आयोगले सञ्चालन गर्ने छ,' उनले भने।

प्रारम्भिक मतदान ११ तारिखदेखि सुरू भएको छ र मतदाताले आठ दिनसम्म मतदान गर्न पाउने व्यवस्था रहेको सतीशले बताए। उनी अहिले पनि प्रचार–प्रसारमै व्यस्त छन्।
सतीशका अनुसार यहाँ करिब ८० हजार मतदाता छन्। उनलाई नेपाली समुदायका साथै स्थानीय अमेरिकी समुदायबाट पनि खुलेर समर्थन प्राप्त भएको छ।
समाजका लागि केही गरौं भन्ने सोचले अमेरिकाको राजनीतिमा लागेको उनी बताउँछन्।
'यसअघि पनि उक्त पदमा नेपाली मूलका व्यक्तिहरू निर्वाचित भइसकेकाले मलाई थप प्रेरणा मिलेको छ,' उनले भने।
सतीश सन् २००८ मा डिभी भिसामार्फत अमेरिका पुगेका हुन्। उनी श्रीमती र ६ महिनाकी छोरीसँग बाल्टिमोर जानुअघि नेपालमा सक्रिय पत्रकारितामा आबद्ध थिए।
सुरूआतमा सतीशको अमेरिका बसाइ सहज रहेन।
'पत्रकारितामा समस्या भए पनि बेग्लै मजा हुन्छ। यहाँ आएपछि त के गर्ने, के गर्ने भयो,' उनले सुनाए।
उनले सुरूमा फास्टफुड रेस्टुरेन्टमा काम गरे। त्यहाँ सरसफाइ, खाना बनाउने, ग्राहकको अर्डर लिने, टेबलसम्म खाना पुर्याउनेदेखि क्यासियरसम्मको काम गरे। त्यसपछि डिपार्टमेन्टल स्टोरमा क्यासियर तथा उबर चलाउने काम गरे।

'अमेजनमा पनि तीन वर्ष काम गरेँ। एसोसिएटबाट सुरू गरेर टिमको असिस्टेन्ट म्यानेजरसम्म भएको थिएँ,' उनले सुनाए।
सन् २०२० मा उनले साझेदारीमा मदिरा व्यवसाय सुरू गरेका हुन्।
राजनीतिमा भने सन् २०१४ देखि नै सक्रिय भएका हुन्। सुरूमा स्वतन्त्र' रहेका उनी पछि डेमोक्र्याटिक पार्टीसँग आबद्ध भए।
'यहाँ नागरिकता लिने बेला कुन पार्टीमा आबद्ध हुने भनेर सोध्छ। मैले सुरूमा कुनै सदस्यता लिइनँ। पछि लिएँ,' उनले भने, 'सदस्यता लिएपछि जानकारी गराउनुपर्छ।'
सतीशले एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटरका रूपमा पनि काम गरिसकेका छन्। उनी हाल यो संस्थाको सल्लाहकार हुन्। यसबाहेक साहित्यिक क्षेत्रमा पनि सक्रिय रहेका उनी गीत लेखनमा रूचि राख्छन्।