झापाका विशाल भारती हाल अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्छन्।
उनी 'वेल्स फार्गो बैंक' मा रिजनल बैंक म्यानेजरका रूपमा कार्यरत छन्। उनले त्यहाँ काम गरेको १५ वर्ष भयो।
विशालले क्यासियर पदबाट आफ्नो बैंकिङ यात्रा सुरू गरेका हुन्। क्यासियर पदका लागि आफूले ६ पटक आवेदन दिएको र छैटौं प्रयासमा भने छनोट भएको उनी बताउँछन्।
'सुरूमा पार्टटाइम काम गर्थेँ। डेढ वर्षपछि फुलटाइम कर्मचारी भएँ,' विशालले भने, 'त्यसको ६ महिनामा टेलर (Teller) को म्यानेजर भएँ। त्यसपछि कस्टमर सर्भिसर स्पेसलिस्ट, पर्सनल बैंकर, पर्सनल बैंकर–२ र असिस्टेन्ट म्यानेजर हुँदै म्यानेजर भएँ।'
विशालले म्यानेजर पदमा काम गरेको ८ वर्षभन्दा बढी भयो।
उनका अनुसार वेल्स फार्गो अमेरिकाको प्रमुख बैंक तथा वित्तीय सेवा प्रदायक संस्थामध्ये एक मानिन्छ।
उक्त बैंकले बैंकिङ, कर्जा, लगानी व्यवस्थापन तथा वित्तीय परामर्श सेवा प्रदान गर्दै आएको छ।
'मेरो मुख्य जिम्मेवारी कर्जा प्रवाह गर्ने, बैंकिङ सेवा उपलब्ध गराउने तथा कर्मचारी व्यवस्थापन गर्ने हो,' विशालले भने।
नयाँ बैंकर तथा म्यानेजरलाई तालिम दिने काम पनि उनकै जिम्मेवारीमा छ।
उनको समूहमा ११ जना कर्मचारी छन्। कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म छ।
विशेषगरी अपोइन्टमेन्ट लिएर आउने ग्राहकको आवश्यकता पहिचान गरी उनीहरूलाई आवश्यक सेवा प्रदान गरिने उनले बताए।
उनका अनुसार ग्राहकलाई कसरी उत्कृष्ट सेवा दिन सकिन्छ र प्रदान गरिएको सेवाको प्रभावकारिता कस्तो छ भन्ने विषयमा नियमित मूल्यांकन गरिन्छ।
बैंकका अमेरिकाभर ४५ सयभन्दा बढी शाखा छन्। सबैमा गरी दुई लाखभन्दा बढी कर्मचारी कार्यरत छन्।

उक्त बैंकमा नेपाली कर्मचारी भने कम छन्। आफ्नो सहरका शाखामा हालसम्म कुनै नेपाली कर्मचारी नभेटेको विशालले बताए।
'यही सहरमा काम सुरू गरेको हो मैले। शाखा धेरै परिवर्तन भइसक्यो,' उनले भने, 'कतै नेपाली कर्मचारी भेटेको छैन।'
विशाल सन् २००५ मा विद्यार्थी भिसामा अमेरिका गएका हुन्।
उनले आफ्नै खर्चमा बिजनेस एड्मिनिस्ट्रेसन विषयमा स्नातकोत्तर गरे। बिदाको समयमा तीन वटासम्म काम गरेर खर्च जुटाएको उनी बताउँछन्।
'रेस्टुरेन्ट, ग्यास स्टेसन, ग्रोसरी स्टोर तथा ज्वेलरी सपमा काम गरेँ,' उनले भने।
उनको सानैदेखि बैंकमा काम गर्ने इच्छा थियो। पढाइ पूरा गरेलगत्तै बैंकिङ क्षेत्रमा काम गर्ने आफ्नो इच्छा पूरा गरे।
'सानो हुँदा बुबासँग बैंकमा पैसा साट्न जान्थेँ। त्यहाँका कर्मचारी स्मार्ट देखिन्थे,' विशालले भने, 'व्यवस्थित वातावरण, कर्मचारीको प्रस्तुति र सुट–बुटले आकर्षित गरेको थियो।'
उनका अनुसार अमेरिकामा कर्जा प्रवाह गर्दा मुख्य रूपमा 'डेट टु इनकम रेसियो' र 'क्रेडिट स्कोर' लाई आधार मानिन्छ।
ग्राहकको आम्दानी, कर (ट्याक्स) भुक्तानी अवस्था तथा सामाजिक सुरक्षा नम्बर (सोसल सेक्युरिटी नम्बर) लगायतका विवरण मूल्यांकन गरिन्छ।
सोसल सेक्युरिटी नम्बर अमेरिकामा व्यक्तिको वित्तीय विवरणसँग जोडिएको परिचय प्रणाली हो, जुन नेपालमा प्रयोग हुने प्यान कार्डजस्तै मानिने विशालले बताए।
त्यहाँ पनि खराब कर्जा हुन्छन्। त्यसबारे भने रिकभर डिपार्टमेन्टले हेर्छ।
'पर्सनल लोन, अटो (सवारी) लोन तथा होम (घर) लोन बढी जान्छ,' उनले भने।
ग्राहक सेवा सुधारका लागि 'कस्टमर सर्भे' गरिन्छ। सेवाको गुणस्तर ग्राहकलाई कस्तो लाग्यो भन्ने विषयमा वर्षमा करिब एक हजार जनासँग सर्भे गरिन्छ।
ग्राहक सन्तुष्टिको आधारमा बैंकिङ सेवा मूल्यांकन गरिन्छ।
विशाल एक महिनाअघि कम्पनीबाट 'मस्ट भ्यालुएबल प्लेयर (एमभिपी २०२५ म्यानेजर)' अवार्डबाट सम्मानित पनि भएका थिए।
उनी त्यहाँ आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमहरूको प्रवर्द्धनमा पनि सक्रिय छन्।
उनको भावी योजना भने विदेशमा सिकेको सीप नेपालको बैंकिङ क्षेत्रमा प्रयोग गर्ने हो।
'अब केही समय बसेर नेपाल फर्किन्छु। त्यहीँको बैंकिङ क्षेत्रमा काम गर्छु,' विशालले भने।
