'संघर्षका दिनमा केही सोच्ने फुर्सद हुँदैन। जब सबै कुरा मिल्छ, तब परिवारको बारेमा सोचिँदो रहेछ,' अमेरिकामा बसिरहेकी डा. समानता शर्मा भन्छिन्।
उनी र उनका श्रीमान अमेरिकामा छन्। आमाबुबा नेपालमा। समानतालाई कहिलेकाहीँ नेपाल फर्किएर बस्न पाए हुन्थ्यो जस्तो लाग्छ। तर छोराको भविष्यको चिन्ताले फेरि अमेरिकामै अड्याइदिन्छ।
'पहिला आफ्नो भविष्य सोचेर विदेश आयौं। अब छोराछोरीको भविष्य सोचेर बस्नुपर्ने रहेछ,' उनले भनिन्।
नेपालमा आफन्तबीच हुर्किएको बाल्यकाल सम्झिँदा अहिले आफ्नै छोराको हुर्काइले समानतालाई झन् भावुक बनाउँछ।
विदेशमा हुर्किरहेको आफ्नो सन्तानले आफूले पाएको पारिवारिक वातावरण पाउन नसकेको उनलाई महसुस हुन्छ।
'हामी आफन्तको माझ हुर्कियौं। हाम्रो बच्चा एक्लै हुर्किरहेको छ,' उनी भन्छिन्।
उनी अमेरिका गएको १४ वर्ष भयो। हाल उनी बहुराष्ट्रिय औषधि कम्पनी एस्ट्राजेनेकामा ल्याब साइन्टिस्ट तथा प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत छिन्।
त्यहाँ उनको मुख्य जिम्मेवारी क्यान्सरका औषधिको अनुसन्धान गर्नु हो। समानताले यस कम्पनीमा काम गर्न थालेको ६ वर्ष भयो।
औषधि विकास कार्य समूहगत प्रयास हो। आफ्नो सहभागितामा विकसित क्यान्सरका दुई वटा औषधि अहिले क्लिनिकल परीक्षणको चरणमा रहेको उनले जानकारी दिइन्।
'ती औषधि बजारसम्म पुग्न सके भने त सपना पूरा भएको मानिन्छ,' उनले भनिन्।
कुनै पनि औषधि बजारमा ल्याउनुअघि विभिन्न चरणका परीक्षण पूरा गर्नुपर्छ। परीक्षणका क्रममा बिरामीमा कुनै साइड इफेक्ट नदेखिएपछि मात्र आवश्यक अनुमति लिएर औषधि बजारमा ल्याइन्ट समानताले जानकारी दिइन्।
समानताको कार्यालय समय बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुन्छ। चार वर्षको एक सन्तानकी आमा उनी बिहान उठेर केही घरायसी काम गर्छिन्, अनि बच्चालाई डे–केयरमा छोडेर कार्यालय जान्छिन्।
'दस महिनादेखि डे–केयरमा राखेको हो। बच्चालाई लिन म छिट्टै अफिसबाट फर्किन्छु,' उनी भन्छिन्, 'उसलाई सुताएर फेरि काम गर्छु। बच्चा भएपछि समय मिलाउन गाह्रो हुन्छ।'
कार्यालयले उनलाई सातामा दुई दिन घरबाटै काम गर्ने सुविधा दिएको छ। कम्प्युटरबाट गर्न मिल्ने काम उनी घरबाटै गर्छिन्। प्रयोगशाला सम्बन्धी कामका लागि कार्यालय पुग्छिन्।

समानताका श्रीमानको कृत्रिम बुद्धिमत्ता (एआई) सँग सम्बन्धित कम्पनी छ। घरको भान्साको काम प्रायः श्रीमानले सम्हाल्ने भएकाले आफूलाई कार्यालयको काम र बच्चाको जिम्मेवारी पूरा गर्न सहज भएको उनी बताउँछिन्।
'विदेशमा सबै काम दुवै जनाले बाँडेर गर्नुपर्छ। पार्टनर राम्रो भएन भने त गाह्रो हुन्छ,' उनले भनिन्।
काठमाडौंमा जन्मिएकी समानताको बाल्यकाल सुखमय थियो। बुबा व्यवसायी थिए, आमा गृहिणी। उनी परिवारको जेठी छोरी हुन्। उनकी एक बहिनी छन्। बहिनी पनि हाल अमेरिका नै बस्छिन्।
समानताले बायोकेमेस्ट्री युनिभर्सल क्याम्पसबाट स्नातक गरेकी हुन्। त्यसपछि सन् २०१० मा पूर्ण छात्रवृत्तिमा नेदरल्यान्ड्सको भियु युनिभर्सिटीमा स्नातकोत्तर गर्न गइन्। पढाइसँगै विश्वविद्यालयको प्रयोगशालामा पनि काम गरिन्।
उनका अनुसार स्नातकोत्तरमा दुई वटा थेसिस गर्नुपर्थ्यो। यही क्रममा उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट एउटा अनुसन्धान गरिन्। त्यसपछि उनलाई त्यहीँ विद्यावारिधि (पिएचडी) गर्ने अवसर मिल्यो।
'मैले गरेको अनुसन्धान राम्रो देखेर विश्वविद्यालयले मलाई त्यहीँ पिएचडी गर्न अफर गर्यो,' उनले सुनाइन्, 'त्यसपछि म त्यहीँ पढ्न थालेँ।'
उनले त्यहाँ क्यान्सर जेनेटिक्स विषयमा पिएचडी गरिन्। त्यसमा ६ वर्ष बित्यो। त्यसपछि एक वर्ष पोस्टडक्टरल अनुसन्धान गरेर उनले सन् २०२० बाट यहाँ जागिर खान थालेकी हुन्।
'यहाँ कर्मचारी मागेको थियो। प्रयोगशालामा काम गरेको १० वर्षको अनुभव भएकाले मैले आवेदन दिएँ,' समानताले भनिन्, 'तीन चरणको अन्तर्वार्तापछि म सिनियर साइन्टिस्टका रूपमा छनोट भएँ।'
पढाइकै विषयमा काम गर्न पाउँदा उनलाई सहज भएको छ। आम्दानी पनि राम्रो छ। नयाँ नयाँ मानिससँग भेट्ने र नयाँ परियोजनामा काम गर्ने अवसर मिलिरहेको उनी बताउँछिन्।
विश्वविद्यालयको प्रयोगशालामा अनुसन्धान गर्न सिकिए पनि त्यो अनुसन्धान क्लिनिकल परीक्षण हुँदै बजारसम्म कसरी पुग्छ भन्ने प्रक्रिया भने त्यहाँ बुझ्न नसकिएको उनी बताउँछिन्।
कम्पनीमा आएपछि भने त्यसको प्रक्रिया र बीचमा आउने चुनौती आफै संलग्न भएर बुझ्ने र सिक्ने अवसर पाएको समानताले बताइन्।
अनुसन्धानको क्षेत्रमा आएको परिवर्तनले उनलाई उत्साहित पनि बनाएको छ।
'मैले यो यात्रा सुरू गर्दा अनुसन्धानमा महिलाको उपस्थिति कम देखिन्थ्यो। अहिले धेरै युवतीहरू यस क्षेत्रमा अघि बढिरहेका छन्। यो देख्दा खुसी लाग्छ,' समानता भन्छिन्।