ग्लोबल नेपाली
सन् २०१८ मा अस्ट्रेलिया जानुभन्दा पहिला अमिर आचार्यले काठमाडौंमा हार्डवेयरका सामग्री चीनबाट ल्याएर बेच्थे। यसमा पनि विशेष गरेर बाथरूमका लागि चाहिने सामग्री हुन्थे।
एकाउन्टिङ पढ्न गएकी श्रीमती ऋचा लोहनीसँगै अस्ट्रेलियाको क्यानबेरा गएका आचार्यले सुरूमा मेकानिकल क्षेत्रमा काम गरे।ठूला ठूला अपार्टमेन्ट बनाउने क्रममा उनले क्रेन चलाउँथे।
'मैले सुरूमै उच्च जोखिमको काम गरेको हो। यसको लागि लाइसेन्स जरूरी पर्छ। बिल्डिङ कन्सट्रक्सनमै दुई वर्ष काम गरेँ,' उनले भने, 'यो काम गर्दै मैले अटोमोबाइल पनि पढेँ। दुई वर्षपछि कन्स्ट्रक्सनको काम छोडेर म अटोमोबाइलतिर लागेको हो।'
इक्युपमेन्ट अपरेटर भएर काम गरेका आचार्यले नेपालबाटै गएका दीपक लामिछानेसँग मिलेर सन् २०२१ देखि भने क्यानबेराको दक्षिण क्षेत्रमा आफ्नै कार सर्भिस सेन्टर सुरू गरे। त्योभन्दा पहिला एक वर्ष उनले अरूकै सर्भिस सेन्टरमा काम गरेका थिए। एउटा कार सर्भिस सेन्टर सुरू गरेको एक वर्षपछि क्यानबेराकै उत्तरी क्षेत्रमा उनले अर्को सर्भिस सेन्टर सुरू गरे।
कार मर्मत केन्द्रमा रिपियरदेखि टायर फेर्ने लागयतका सबै काम हुन्छन्। त्यो क्रममा उनले धेरै टायर बेच्न थाले। अनि टायरलाई कसरी सस्तोमा दिन सकिन्छ भनेर उनले सोच्न थाले। यही क्रममा उनी चीन पुगे।
'नेपालमा हुँदा पनि चीनमा गएर सामान ल्याउने अनि बेच्ने गरेको थिएँ। त्यही आइडियाको कारण म चीन गएँ। त्यसपछि टायर आफैले आयात गर्न थाल्यौं,' उनले भने,'हामीले सन् २०२३ देखि चीनबाट टायर ल्याउन सुरू गर्यौं। अहिले क्यानबेरामा मात्र दैनिक ३० वटा कार मर्मत केन्द्रले हाम्रो टायर किन्छन्।'
अमिरले र दीपकले सुरू गरेको काठमाडौं अटोमोटिभ सम्भवत नेपाली समुदायले लगानी गरेको क्यानेबराको पहिलो कार मर्मत केन्द्र हो।
आफूहरूले ८२ प्रकारका टायर बेच्ने र मासिक २ हजार टायर बिक्री गर्ने अमिरको दाबी छ।
अहिले काठमाडौं अटोमोटिभ सिड्नी र मेलवर्नमा पनि पुगेको छ। मेलवर्नमा भने फ्रेन्चाइज हो। एकातिर सबै खालका कारमा आउने सबै खाले समस्याको समाधान गर्न प्रयास गरिने अनि टायर पनि सुपथ मूल्यमा पाइने भएकाले आफूहरूलाई कामको दुःख नभएको उनले बताए।
'सबैतिर गरेर हाम्रो १३ जनाको टिम छ। हामीले एडिलेट र क्विसल्याण्डमा पनि कार मर्मत केन्द्र र टायर गोदाम राख्ने तयारी गरेका छौं,' उनले भने, 'अहिले पनि हाम्रो गोदाममा ८ हजारभन्दा धेरै टायर छन्। अब यसको मात्रा अझै बढ्छ। किनकी हामी अरू ठाउँमा पनि जाँदैछौं।'
मेलवर्नमा भने टायर गोदामको लागि अन्तिम तयारी भइरहेको उनले बताए।
उनको कार मर्मत केन्द्रमा काम गर्नेहरू अधिकांश नेपाली छन् भने अस्ट्रेलिया र मरिससका पनि छन्।
सानो कारदेखि फोर ह्विलसम्मको लागि टायर पाउने अनि मर्मत समेत हुने भएकाले व्यवसायलाई विस्तार गर्न सहज भएको उनको बुझाइ छ।
८० हजार अस्ट्रेलियन डलरबाट सुरू गरेको व्यवसाय अहिले झण्डै १ मिलियनको भएको आचार्यले बताए। उनका अनुसार गत वर्ष मात्र झण्डै साढे ३ मिलियन डलरको टायर बिक्री भएको थियो।
'मलाई अस्ट्रेलिया आएदेखि नै आफ्नै केही गर्न मन थियो। साँच्चै भन्ने हो भने त नेपालबाट केही व्यवसाय गर्छु भनेर आएको हो। तर समय मिलेको थिएन,' उनले भने, 'यता आएर जति गरेको छु। म त्यसमा सन्तुष्ट छु। नेपालमा हुँदा गरेको व्यवसायको अनुभवले मलाई यता थप सजिलो भएको छ।'
