अस्ट्रेलियाको पर्थमा नेपाली सांगीतिक ब्यान्ड '१९७४ एडी'को कन्सर्ट सम्पन्न भएको छ।
म्याग्नेट हाउसमा आयोजित कन्सर्टमा ६ सयभन्दा बढी दर्शक सहभागी भएको ब्यान्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिए।
कन्सर्ट 'तिमीलाई पिरतीले बाँधुला' गीतबाट सुरू भएको थियो भने दुई घण्टाभन्दा बढी समयसम्म प्रस्तुति दिएको थियो।
पर्थमा दर्शकहरूबाटअपेक्षा गरेभन्दा धेरै माया र राम्रो प्रतिक्रिया पाएको ब्यान्डका सदस्य सञ्जय श्रेष्ठले बताए।
'पर्थमा हाम्रो पहिलो शो थियो जुन अपेक्षा गरेभन्दा पनि निकै राम्रो भयो। दुई वर्षपछि पर्थमा आएर नेपालीगीत-संगीतमा झुम्माउन पाउँदा एकदमै खुसी लाग्यो,' उनले भने, 'विदेशमा रहेर पनि नेपाली संगीतलाई यति धेरै माया र साथ दिनुभएको देख्दा हर्षित हुन्छु।'
पर्थमा १९७४ एडीले करिब दुई वर्षपछि तेस्रोपटक कन्सर्ट गरेको हो।
हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।
ब्यान्डले क्यानबेरामा सेप्टेम्बर २६, ब्रिसबेनमा सेप्टेम्बर २८, न्युक्यासलमा सेप्टेम्बर ३०, सिड्नीमा अक्टोबर ३, मेलबर्नमा अक्टोबर ५ र एडिलेडमा अक्टोबर ८ मा सांगीतिक प्रस्तुति दिने तालिका छ। 'रोटेपिङ' को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदैछ।