जर्मनीस्थित नेपाली मूलका पेशेवरहरूको अग्रणी संस्था 'नेपाली रुट्स'ले आफ्नो वार्षिक सम्मेलन 'नेपाली रुट्स समिट २०२६' आयोजना गर्ने भएको छ।
सम्मेलन जुलाई ४ मा म्युनिखस्थित 'आइनभेल्टहाउस'को 'सभाहल–०१'मा आयोजना हुनेछ।
'एकीकरणदेखि सशक्तिकरणसम्मः प्रवासी नेपाली समुदायमा नेतृत्व र उद्यमशीलता क्षमता निर्माण' भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले जर्मनी तथा युरोपभर रहेका नेपाली पेशेवर, उद्यमी, अनुसन्धानकर्ता तथा विद्यार्थीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
सम्मेलनमा ज्ञान आदानप्रदान, मेन्टरशिप तथा व्यावसायिक नेटवर्क विस्तारलाई प्राथमिकता दिइनेछ।
कार्यक्रममा बर्लिनस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधिहरूको पनि सहभागिता रहने बताइएको छ।
उनीहरूले प्रवासी नेपाली समुदायलाई नेपाल र बसोबास गरिरहेको मुलुकबीचको सशक्त पुलका रूपमा विकास गर्ने विषयमा धारणा राख्नेछन्।
यस वर्षको सम्मेलनमा डायस्पोराका सफल उद्यमी, नेतृत्वकर्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।
नेतृत्व विकास, प्रवासी उद्यमशीलता, कृत्रिम बौद्धिकता (एआई), दिगो ऊर्जा तथा प्रवासी लगानीजस्ता विषयमा विशेष छलफल हुने कार्यक्रम छ।
त्यसैगरी, प्रेरणादायी अनुभव आदानप्रदान तथा खुला नेटवर्किङ सत्रले सहभागीहरूबीच सहकार्य, सम्बन्ध विस्तार र नयाँ अवसर सिर्जनामा सहयोग पुग्ने विश्वास गरिएको छ।
'नेपाली रुट्स समिट २०२६' ले प्रवासी नेपालीहरूको क्षमता अभिवृद्धि गर्दै नेपाल–जर्मनी सम्बन्धलाई व्यवसायिक, बौद्धिक तथा सामाजिक रूपमा अझ सुदृढ बनाउने दीर्घकालीन लक्ष्य लिएको आयोजकले जनाएको छ।
आयोजकले सञ्चारमाध्यम, पेशेवर समुदाय तथा सम्पूर्ण नेपाली समुदायलाई सम्मेलनको प्रचारप्रसार तथा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।