बैंकको जागिर छोडेर विदेशिएका पर्वतका मिलन श्रेष्ठ अहिले डेनमार्कमा नेपाली खानाको स्वाद चिनाइरहेका छन्।
मिलन र उनकी श्रीमती सरस्वती श्रेष्ठ मिलेर एक वर्षअघि मैया नेपाली किचन सुरू गरेका हुन्। त्यसो त श्रेष्ठ विदेशिएको २६ वर्ष भयो। बैंकको जागिर छोडेर नेपालमा औषधि व्यवसायमा सक्रिय श्रेष्ठ सन् २००० मा बेल्जियम गए। बेल्जियम गएर केही समय विभिन्न ठाउँमा काम गरे। अनि सन् २००४ तिर सुपरमार्केट सुरू गरे।
सन् २००५ देखि भने उनले सुसी रेस्टुरेन्ट सुरू गरेका हुन्। १३ वर्षसम्म बेल्जियममै व्यवसाय गरेपछि उनलाई डेनमार्क जान मन लाग्यो।
'बेल्जियममा पनि राम्रै चलेको थियो। तर मलाई डेनमार्क जान मन लाग्यो। सामाजिक सुरक्षा राम्रो अनि बच्चाहरूलाई पढाउन समेत सहज हुने भएकाले म यता आएको हुँ,' मिलनले सेतोपाटीसँग भने, 'डेनमार्क आएर मैले मेरी श्रीमती अनि छोराछोरीलाई पनि नेपालबाट ल्याएँ। त्यसभन्दा पहिले उनीहरू नेपालमै थिए।'

डेनमार्क गएर पनि मिलनले सुसी रेस्टुरेन्ट नै चलाए। केही वर्ष बर्गर हाउस पनि गरेका मिलनले सुसी रेस्टुरेन्ट भने एक दशकभन्दा बढी चलाए।
विगत एक वर्षदेखि भने उनले आफ्नो व्यवसाय पूर्ण रूपमा बदलेका छन्। उनी अहिले परम्परागत नेपाली खाना बेच्न व्यस्त छन्। नेवारी खाना पनि छँदैछ।
'अब कमाइसँगै नेपाली खानाको पनि प्रचारप्रसार गर्नुपर्छ भन्ने लाग्यो। त्यही भएर मैया नेपाली किचन सुरू गरेको हो,' उनले भने, 'यसको सबै हर्ताकर्ता सरस्वती हुन्। उनकै रेसिपीअनुसार खाना बनाइन्छ। मैले पनि सघाउँछु।'
घरमा सबैले 'मैया' भनेर बोलाउने भएकाले त्यही नामबाट रेस्टुरेन्ट चलाइएको मिलनले बताए। नेपाली शैलीको नाम पनि हुने उनको भनाइ छ।
आफूलाई पहिलेदेखि नै खाना बनाउने रूचि भएकाले पनि नेपाली खानाको रेस्टुरेन्ट सुरू गरेको सरस्वतीले बताइन्।
'आफ्नै घरको ज्ञान र सीपलाई मैले प्रयोग गरेको छु। नेपाली दालभात सहितको थाली सेट तयार पार्छौं। मःम, चाउमिन र नेवारी खाजा पनि बन्छ,' उनले भनिन्, 'हामीले डेजर्टमा य:मरी र जुजु धौ राख्छौं। डेनिसहरूले पनि हाम्रो खाना मन पराउन थाल्नुभएको छ। जसले गर्दा हाम्रो व्यस्तता पनि बढेको छ।'

कोपनहेगनको आमागरमा रहेको यो रेस्टुरेन्ट सोमबार बाहेक अन्य दिन खुल्छ। अपराह्न ४ बजेदेखि राति १० बजेसम्म रेस्टुरेन्ट सञ्चालन हुन्छ। ४ बजेदेखि सञ्चालन हुने भए पनि तयारीका लागि उनीहरू २ बजे नै रेस्टुरेन्ट पुग्छन्।
मिलनका अनुसार रेस्टुरेन्टमा ८० जना बस्न मिल्छ भने पार्टी गर्नका लागि ५० जना अट्ने हल छ। नेपाली समुदायले विभिन्न चाडपर्वमा त्यही कार्यक्रम गर्ने गरेका छन्। भारत लगायतका देशका मानिसहरूले पनि बेलाबेलामा त्यहीँ कार्यक्रम गर्छन्। रेस्टुरेन्टमा आउने ग्राहकमध्ये ६० प्रतिशत डेनिस छन् भने अन्य ग्राहक विभिन्न देशका नागरिक तथा नेपाली रहेको श्रेष्ठले बताए।
अपराह्न ४ बजे खुल्ने भएकाले डिनरका लागि आउने ग्राहक नै धेरै हुन्छन्।
नेपाली खाना बनाइने भएकाले खाद्य सामग्री पनि धेरैजसो नेपालबाटै मगाइने मिलनले बताए। १३ वर्षदेखि डेनमार्कमा व्यवसाय गरिरहेका मिलन नेप्लिज बिजनेस एसोसिएसन डेनमार्कका अध्यक्ष समेत हुन्।
उनका अनुसार डेनमार्कमा १७ हजारको हाराहारीमा नेपाली छन्। कोही व्यवसायमा छन्, कोही विभिन्न क्षेत्रमा काम गर्छन् भने कोही अध्ययन गरिरहेका छन्। पछिल्लो समय भने डेनमार्कले विद्यार्थीहरूका लागि कडाइ गरेको उनले बताए।
'डेनिस भाषामा पढ्न आउनेहरूलाई अलि सहज छ, तर अरूले त काम गर्न पाउँदैनन्। अनि डेनिस भाषा पढ्ने बाहेकले डिपेन्डेन्टमा परिवार ल्याउन पनि पाउँदैनन्,' उनले भने, 'त्यसैले डेनमार्क आउनुभन्दा पहिले धेरै कुरा बुझ्न जरूरी छ। लहैलहैमा आइयो भने दुःख पाउन सकिन्छ।'
