अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स इ.भीको सहकार्यमा म्युनिखस्थित आइनेभेल्टहाउस मा 'साहित्य सार २०२६-नेपाली साहित्यिक भेटघाट' सम्पन्न भएको छ।
अनेसास जर्मनीकी अध्यक्ष सिमा ढुङ्गानाले प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
छलफलमा प्रवासमा नेपाली भाषा संरक्षण, नयाँ पुस्तासम्म यसको हस्तान्तरण, साहित्य सिर्जनाका अवसर तथा चुनौतीबारे सार्थक विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा 'प्रवासमा नेपाली भाषा र साहित्यः चुनौती, अवसर र नयाँ पुस्ता' विषयमा प्यानल छलफल, आदिकवि भानुभक्त आचार्यको योगदानबारे परिचर्चा, कविता, गीत, गजल तथा मुक्तक वाचन र साहित्यिक हाजिरीजवाफ सम्पन्न भएको थियो।
अनेसास जर्मनी, नेपाली रुट्स इ.भी तथा नेपाली परिवार इ.भी बोडेनजेले संस्थाका गतिविधि र भावी योजनाबारे जानकारी दिएका थिए।
कार्यक्रममा सहभागीहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नुका साथै प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई नेपाली भाषासँग जोड्ने विषयमा आफ्ना अनुभव र विचार आदानप्रदान गरेका थिए।
सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमले नेपाली समुदायबीच आत्मीयता, सहकार्य र सिर्जनात्मक संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा हिमालयन परिवार इ.भी म्युनिख, गुरुङ परिवार इ.भी, एनआरएनए एलसिसी बायर्न, नेपालिज फुटबल टिम (एनएफटी) इ.भी म्युनिखलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार, विद्यार्थी र साहित्यप्रेमीको सहभागिता रहेको थियो।
आयोजकले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।