धादिङको मलेखुमा जन्मिएका राजकुमार (आरके) त्रिपाठीको प्रारम्भिक पढाइ यात्रा सहज थिएन। मलेखुमा कक्षा ७ सम्म पढेका उनी त्यसपछि दैनिक करिब दुई घण्टा पैदल हिँडेर गजुरी पुग्नुपर्यो।
त्यहाँको आदर्श माध्यमिक विद्यालयबाट उनले एसएलसी (एसइई सरह) दिए।
'निकै दुःख गरेर पढियो। त्यो बेला अभाव र संघर्षबीच पनि मेरो पढाइ राम्रो थियो। म जिल्लाको उत्कृष्ट विद्यार्थी थिएँ,' उनले भने।
आरके उच्च शिक्षाका लागि काठमाडौं आए। अमृत साइन्स क्याम्पस (अस्कल) बाट आइएससी र त्रिचन्द्र क्याम्पसबाट बिएससी गरे।
त्यसपछि केही समय उनले मलेखुकै स्कुलमा विज्ञान र गणित पढाए। सोही क्रममा उनले इन्जिनियरिङ पढ्ने सोचे। इन्जिनियरिङमा स्नातक तह सकेका उनले पोखरा विश्वविद्यालयबाट कन्स्ट्रक्सन म्यानेजमेन्ट विषयमा स्नातकोत्तर पनि गरे।
उनले विभिन्न सरकारी पूर्वाधार परियोजनामा काम गर्ने अवसर पाए।
'सिंहदरबार सचिवालय पुनर्निर्माण परियोजना अन्तर्गत अर्थ, कृषि, सञ्चार मन्त्रालय तथा मुद्रण विभागका भवन निर्माण, पुनरवलोकन डिजाइन लगायत काममा संलग्न भएँ,' उनले भने, 'केही समय तत्कालीन जलस्रोत मन्त्रीका निजी सचिवका रूपमा पनि जिम्मेवारी सम्हालेँ।'
काम क्रममा उनले विभिन्न मुलुक भ्रमण गर्ने अवसर पाए। ती देशमा भइरहेको पूर्वाधार विकास, प्रविधि प्रयोग र विकासका अभ्यास नजिकबाट नियाले। त्यसले उनको व्यावसायिक दृष्टिकोण थप फराकिलो बनायो।
यहाँ काम गर्दागर्दै उनले उच्च शिक्षाका लागि बेलायत जाने योजना बनाए र सन् २००२ मा गए। त्यहाँ किङ्स कलेज, लन्डनबाट इन्जिनियरिङमा स्नातकोत्तर गरे। वेस्टर्न इन्टरनेसनल कलेजबाट एमबिए पनि पढे। त्यसपछि बेलायतको निर्माण तथा इन्जिनियरिङ क्षेत्रमा काम सुरू गरे।

प्रोजेक्ट इन्जिनियरका रूपमा व्यावसायिक यात्रा सुरू गरेका उनी अहिले त्यहाँ वरिष्ठ इन्जिनियर छन्।
उनी बहुराष्ट्रिय निर्माण तथा सिभिल इन्जिनियरिङ कम्पनी 'बाम' मा आबद्ध छन्। यो कम्पनीको मुख्यालय नेदरल्यान्ड्समा छ। यसले ठूला पूर्वाधार परियोजनामा काम गर्छ।
'हाम्रो कम्पनीले विश्वका विभिन्न मुलुकमा ओलम्पिक स्टेडियम, बन्दरगाह, रेलमार्ग तथा रेलवे पूर्वाधार, भूमिगत सुरुङ, ठूला व्यापारिक कम्प्लेक्स तथा अन्य ठूला पूर्वाधार परियोजनामा काम गर्छ,' आरकेले भने।
कम्पनीले डिजाइनदेखि निर्माण, परियोजना व्यवस्थापन, पुनर्निर्माण, नवीकरण तथा पूर्वाधार अपग्रेडसम्मका काम गर्दै आएको उनी बताउँछन्।
उनले पनि लन्डनका विभिन्न महत्वपूर्ण पूर्वाधार परियोजनामा संलग्न भएर काम गरेका छन्। उनका अनुसन्धान तथा लेख पनि प्रकाशन भएका छन्।
बेलायतमा नेपाली इन्जिनियरहरूको अवस्था पनि उनले नजिकबाट नियालेका छन्। पछिल्लो समय इन्जिनियरिङ क्षेत्रमा रोजगारी पाउन सहज छैन। आर्थिक अवस्थाका कारण कम्पनीहरूले नयाँ कर्मचारी नियुक्त गर्दा बढी सावधानी अपनाउँछन्।
'ठूला कम्पनीमा समेत रोजगारीका अवसर सीमित छन्,' उनले भने, 'यद्यपि अवसर पाएका नेपाली इन्जिनियरहरू राम्रो भूमिकामा कार्यरत छन्। ठूला–ठूला कम्पनीमा राम्रो पदमा पुगेका छन्। क्षमता भएकाहरूले नयाँ भए पनि अवसर पाउँछन्। कम्पनीले विश्वास गर्न सक्ने क्षमता देखाउन सक्नुपर्छ।'
इन्जिनियरको आम्दानी पद, योग्यता र अनुभवमा भर पर्छ। जुनियर इन्जिनियरले वार्षिक ६० देखि ८० लाख रुपैयाँसम्म र वरिष्ठ इन्जिनियरले डेढ करोड रुपैयाँसम्म कमाउन सक्ने अवस्था छ।
बेलायतमा नेपाली मूलका तीन हजार हाराहारी इन्जिनियर छन्। सबैले आफ्नो व्यावसायिक योग्यता र क्षमता अनुसार काम भने नपाएको उनले बताए।
'नयाँ नयाँ प्रविधिसँगै आफूलाई पनि अगाडि बढाउनुपर्छ। यसो गर्न नसक्नेहरूले सुरक्षा गार्ड, सपिङ सेन्टर लगायत अन्य क्षेत्रमा काम गर्न बाध्य हुने अवस्था पनि छ,' आरकेले भने।
नेपाल र बेलायतको इन्जिनियरिङ कार्यशैलीमा ठूलो अन्तर भएको उनी बताउँछन्। बेलायतमा वरिष्ठ इन्जिनियर व्यवस्थापकीयसँगै प्राविधिक काममा पनि प्रत्यक्ष संलग्न हुनुपर्छ। जिम्मेवारी तोकिएपछि निर्धारित समयसीमाभित्र पूरा गर्नुपर्छ।
आफूले बेलायतमा लामो समय काम गर्दा पाएको व्यवस्थापन, प्रविधि र पूर्वाधार विकास सम्बन्धी अनुभव अब नेपालमा उपयोग गर्ने सोच उनले बनाएका छन्।
'अब एक वर्षपछि म ५५ वर्ष पुग्छु। त्यसपछि अवकाश लिएर नेपालका लागि पनि केही गरौं भन्ने सोच छ,' उनले भने।
नेपालका इन्जिनियरिङ कलेज तथा विश्वविद्यालयमा अध्यापन गर्ने, ठूला सरकारी परियोजनाको जोखिम व्यवस्थापन तथा निर्णय प्रक्रियामा प्राविधिक सुझाव दिने र सरकारलाई आवश्यक प्राविधिक परामर्श उपलब्ध गराउने उनको योजना छ।

उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतमा दुई कार्यकाल महासचिवका रूपमा पनि काम गरे। सो क्रममा नेपाल र बेलायतबीच ज्ञान, सीप तथा विकास अनुभव आदानप्रदानका लागि थुप्रै काम गरेको उनले बताए।
आरकेले नेपाली जनसम्पर्क समिति बेलायतको महामन्त्रीका रूपमा पनि तीन कार्यकाल काम गरिसकेका छन्। उनी नेपाली कांग्रेसको केन्द्रीय निर्माण विभागका पूर्व सदस्य तथा केन्द्रीय नीति तथा योजना विभागका पूर्व सदस्य समेत हुन्। पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयमा विज्ञका रूपमा समेत काम गरिरहेका छन्।
इन्जिनियरिङको लामो अनुभव भएका आरकेले नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपदका घटना नजिकबाट नियालिरहेका छन्।
'विशेषगरी भोटेकोशी–त्रिशूली बाढीले निम्त्याएको क्षति तथा त्यसपछि पुनर्निर्माणका लागि आवश्यक सहयोग जुटाउने विषयमा बेलायतका मन्त्री तथा सम्बन्धित अधिकारीहरूसँग पहल गरिरहेको छु,' उनले भने।
उनका अनुसार भविष्यमा यस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी, जोखिम निगरानी र पूर्वसूचना प्रणालीमा लगानी गर्नुपर्छ। बाढी धान्न सक्ने संरचना मात्र बनाउने हो भने त्यसको डिजाइन र निर्माण लागत अत्यधिक हुन सक्छ।
त्यसैले जोखिमको निगरानी र पूर्वसूचना प्रणालीलाई पनि प्राथमिकतामा राख्नुपर्छ।
हिमताल, हिमनदी तथा हिउँ पग्लिने गतिविधिको निगरानीका लागि नेपालले चीनसँग सहकार्य गर्नुपर्ने उनको सुझाव छ।
'त्यस्तै भविष्यमा पुल लगायत अन्य पूर्वाधार डिजाइन गर्दा विगतमा रेकर्ड भएका उच्चतम बाढी सतहदेखि थ्रुपिने कुराहरूका लागि पर्याप्त उचाइ कायम गर्नुपर्छ,' आरकेले भने, 'अब नयाँ पूर्वाधारमा गम्भीर भएर काम गर्नुपर्छ।'