राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो यस्तो आग्रह गरेका हुन्।
'नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन,' राष्ट्रपति पौडेलले भने, 'नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मलाई विश्वास छ।'
नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् भन्दै उनले यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ भन्ने आफूलाई लागेको बताए।
भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उनको भनाइ थियो।
'नेपाली जनता र खासगरी युवा पुस्ताको चाहनाबमोजिम अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका छन्,' उनले भने, 'हामीले राज्यको प्रशासनिक पुनर्संरचना त गर्यौं, तर राज्यको चरित्र र जीवन पद्धतिको पुनःसंरचना अझै हुन बाँकी छ भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई जबसम्म हामी आत्मसात गर्न सक्दैनौं, तबसम्म नेपाली जनताले चाहेजस्तो सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न कठिन छ।'
उनले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारी लगायत सबैलाई बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिए।
सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए।
यस्तै नेपालमा एनआरएनएले गरिरहेको लगानी, थप लगानीको सम्भावना, दोस्रो पुस्तालाई जोड्ने रणनीति लगायतका विषयमा समेत उनले बताएका थिए।