गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूबारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग छलफल गरेको छ।
एनआरएनए उपाध्यक्ष राधिका गुरूङ (टीका) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री वादीसँग भएको भेटमा एनआरएनएले सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको प्रगति र प्रभावबारे मन्त्री वादीलाई जानकारी गराएको थियो।
‘विभिन्न परियोजनाहरूमार्फत सडकबाट उदार गरिएका ५० जना बालबालिकाको संरक्षण, शिक्षा तथा पुनर्स्थापनामा सहयोग उपलब्ध गराइएको जानकारी मन्त्रीज्यूलाई गराएका छौं। मन्त्रीज्यूले संघका गतिविधिहरूको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ एनआरएनए उपाध्यक्ष गुरूङले भनिन्, ‘आगामी महिला विश्व सम्मेलनको तयारीका सम्बन्धमा पनि जानकारी गराइएको छl सम्मेलनलाई सफल बनाउन भइरहेको तयारी र अपेक्षित सहभागिताबारे पनि भनेका छौं।’
भेटमा मन्त्री वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा गरिने कार्यक्रमहरूमा सहकार्यलाई अझ सुदृढ बनाइने बताएकी थिइन्।
उक्त भेटमा उपाध्यक्ष रोजिना प्रधान राई, महिला संयोजक रश्मी थापा, युरोप क्षेत्रीय महिला संयोजक राधा सिग्देल, एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक संगीता सुवेदी अधिकारी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्रको समेत उपस्थिति थियो।