गैरआवासीय नेपाली संघ नाइजेरिया र घानाले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भोटेकोशीका बाढीपीडितका लागि संकलित रकम हस्तान्तरण गरेका छन्।
एनआरएनए नाइजेरियाले नाइजेरियामा रहेका नेपाली, नेपालका शुभचिन्तक र औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूबाट प्राप्त सहयोग नेरु सतहत्तर लाख ( नेरु ७७,००,००० ) को चेक अर्थमन्त्रीमार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।
एनआरएनए नाइजेरियाका तर्फबाट पूर्वअध्यक्षहरू विश्वास पौडेल, दीपक कर्ण, पूर्व आइसीसी सदस्य मन थापा, संस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष अञ्जु पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
त्यसैगरी सोही अवसरमा एनआरएनए घानाको तर्फबाट अर्थमन्त्रीलाई रु तीन लाखको सहयोग एनआरएनए घानाका तर्फबाट भानु पाठकले हस्तान्तरण गरेका थिए।
अफ्रिकका एनआरएनएका शाखाबाट यसअघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट १३ लाख, तान्जानियाबाट २.५ लाख, साउथ अफ्रिकाबाट १.५ लाख र बोत्सवनाबाट ५० हजार सहयोग बैंकमार्फत् पठाइसकिएको छ। त्यसैगरी एनआरएनए युगान्डाले ३५ लाखभन्दा बढीका टेन्ट, ग्यास सिलिन्डर र चुल्होहरू प्रभावित क्षेत्रमा पुगेर वितरण गरिसकेको छ।
यसैगरी एनआरएनए केन्याले रु दश लाख नगद सहयोग पठाउने भएको छ। र अन्य देशस्थित एनआरएनए शाखाहरू र नेपालीहरूले पनि सहयोग पठाइरहेका छन्।