सम्पत्ति शुद्धिकरणका गतिविधि रोक्न भइरहेका कामको प्रभावकारीता मूल्यांकन गर्न विदेशी टेली हाल नेपाल भ्रमणमा छ।
अन्तर्राष्ट्रिय निकाय एसिया प्रशान्त समूह (एपिजी) र फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)का प्रतिनिधि नेपाल भ्रमणमा रहेका छन्। टोली पुस १ गतेसम्म नेपालमा रहने छन्।
अनलाइन मार्फत् अफसाइट मूल्यांकन गर्दै आएको टोली हाल नेपालमा स्थलगत अध्ययनको लागि नेपाल आएको हो।
यसैबीच सम्पत्ति शुद्धिकरणको निगरानीको लागि राष्ट्र बैंकमा रहेको वित्तीय सूचना एकाइ (फाइनान्सियल इन्फरमेशन युनिट/एफआइयू)ले बुधबार वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदन अनुसार नेपालमा सम्पत्ति शुद्धिकरणसम्बन्धमा शंकास्पद उजुरी ८१ प्रतिशतले वृद्धि भएको देखाएको छ।
प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा शंकास्पद कारोबार (सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ र सस्पिसियस एक्टिभिटी रिपोर्टिङ) ८१.३४ प्रतिशतले बढेर २ हजार ७ सय ८० वटा पुगेको छ ।
आर्थिक वर्ष ०७७/७८ मा १ हजार ५ सय ३३ वटा शंकास्पद कारोबारका उजुरी परेको थियो।
यसरी प्राप्त २ हजार ७ सय ८० वटा उजुरीमध्ये वाणिज्य बैंकबाट ८५.६१ प्रतिशत, रेमिट्यान्स कम्पनीबाट ६.७३ प्रतिशत, विकास बैंकबाट ४.२८ प्रतिशत र लघुवित्त वित्तीय संस्थाबाट १.५८ प्रतिशत प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।
धितोपत्र कारोबार गर्ने कम्पनी, बीमा कम्पनी, सहकारी र अन्यबाट शंकास्पद कारोबारको उजुरी आउने क्रम बढेको छ।
गत आर्थिक वर्षमा प्राप्त कुल २ हजार ७ सय ८० उजुरीमध्ये १ हजार ६ सय ६० वटाको विश्लेषण भइसकेको, ४ सय ९ वटा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।
बाँकी ६ सय ५९ वटा उजुरी स्थगित गरिएका छन्। थप अनुसन्धानका लागि पठाइएका ४ सय ९ वटामध्ये सम्पत्ति शुद्धीकरण बिभागमा ६१ वटा, नेपाल प्रहरीमा २ सय १० वटा, राजस्व अनुसन्धान विभागमा १ सय ६२ वटा, आन्तरिक राजस्व विभागमा १६ वटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १३ उजुरी पठाइएको हो।
यसरी थप अध्ययनको लागि हरेक निकायमा पठाइएको उजुरीको संख्यामा समेत अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ।
हाल १० लाखभन्दा बढी सबै कारोबारको स्रोत देखाउनुपर्ने कानुनी व्यवस्था छ। यस्ता कारोबारमा पनि सम्पत्ति शुद्धिकरण तथा वित्तीय अपराधको शंका लागेमा सूचक संस्थाहरूले वित्तीय जानकारी इकाईमा उजुरी दिनुपर्छ।
वित्तीय कारोबार गरिने बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, धितोपत्र बजारमा रहेका ब्रोकर कम्पनीहरू सूचक संस्थाको रुपमा रहेका हुन्छन्।