नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बेग्लै भेला बोलाएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा उक्त भेला हुनेछ। बैठकमा पौडेल पक्षमा रहेका शीर्ष नेता र केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन्।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच नै प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएकोमा पौडेल पक्षले विरोध गरेको छ।
यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको एक नेताले बताए।
प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न जिल्ला गरी कूल २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ।
भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ। अझै विवादित जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टी वेबसाइटमा राखिएको छैन।
क्रियाशील विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्न आज दिउँसो २ बजे भेला गरेर छलफल गर्न लागिएको पौडेलको सचिवालय स्रोतले जनाएको छ।
पौडेल पक्षले सभापति देउवा पक्ष कमजोर भएका जिल्लामा केन्द्रबाट नै क्रियाशील सदस्यको नाम राख्ने गरिएकोमा विरोध गरेको छ। जिल्लाबाट सिफारिस गरेर पठाइएका नाम हटाएर केन्द्रले नयाँ नाम थपेर क्रियाशीलको सूची सार्वजनिक गर्ने गरेकोमा पौडेल पक्षले विरोध गरेको छ।
कांग्रेसले ५६ जिल्लाका विभिन्न वडाहरूमा भने यसअघि नै अधिवेशन गरिसकेको छ। कांग्रेसले वडा अधिवेशन सक्न ढिलाइ गर्दा गाउँ/नगर अधिवेशन प्रभावित भएको छ। अब गाउँ/नगर अधिवेशन असोज ९ गतेलाई सारिएको छ।
१४ औं महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।