काठमाडौंको गोंगबुमा ३४ वर्षीय महिलामाथि सामूहिक बलात्कार गरेको घटनामा पक्राउ परेका ९ जना आरोपित पुर्पक्षका लागि थुनामा गएका छन्।
काठमाडौं जिल्ला अदालतले बुधबार नौ जना आरोपितलाई पुर्पक्षको लागि कारागार कार्यालय, जगन्नाथदेवलमा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
यस्तै, अदालतले तीन जना होटल सञ्चालकहरूलाई जनही ३ लाख धरौटीमा रिहा गरेको छ।
मुगु छायानाथ रारा नगरपालिकाका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, हस्त नेपाली, चन्द्र साउँद र अर्घाखाँचीका गोपालकुमार शिरिष जेल चलान भएका हुन्।
गत पुस १२ गते साँझदेखि १३ गतेसम्म काठमाडौंको गोंगबुको मित्रनगरस्थित गेष्ट हाउसमा विभिन्न व्यक्तिहरूले ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको थियो।
त्यसघटनामा परिसरले बलात्कारमा संलग्न ९ जनालाई २४ घण्टाभित्र नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा गम्भीर लापरबाही गरेको भन्दै गेष्ट हाउसका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको थियो।
उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, बबरमहलमा बुझाएको थियो।
सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
त्यसक्रममा अदालतले बुधबार ९ जनालाई पुर्पक्षको लागि थुनामा र तीन जनालाई धरौटीमा रिहा गरेको हो।
परिसरका प्रहरी उपरीक्षक मैनालीका अनुसार थुनामा गएका सबै जना वैदेशिक रोजगारी जाने तयारीमा थिए।
पीडित महिला पनि पुस १२ गते काम खोज्दै सुर्खेतबाट काठमाडौं आएकी थिइन्। उनी काठमाडौं-२६ मित्रनगरमा गेष्ट हाउसमा बसेकी थिइन्।
प्रहरीका अनुसार उनी जुन दिन आइन्, त्यसै दिन सामूहिक बलात्कारमा परेकी थिइन्।
यो पनि: काम खोज्दै जुन दिन काठमाडौं आइन्, त्यसै दिन सामूहिक बलात्कारको शिकार बनिन्
बसपार्कमा सामूहिक बलात्कार : मुगुको एउटै गाउँका आठसहित ९ जना आरोपी सार्वजनिक