प्याज रोप्दै गरेकी रितादेवीलाई खेतमै पुगेर गाउँलेले सुनाए, ‘तिम्रो उखुमो आगो लाग्यो। छिटौ दौडेर जाउ।’
महोत्तरीको भंगाहा नगरपालिका—४ स्थित उखु रोपेको खेतसम्म पुग्न उनलाई झण्डै २० मिनेट लाग्यो। त्यतिबेलासम्म उनको उखुबारी खरानीमा परिणत भइसकेको थियो।
उनी अक्क न बक्क भइन्। केहीबेर त रितादेवीको दिमागले कामै गरेन, जोडले रोइन्। वर्षभरि मेहनत १२ कठ्ठा खेतको उखु सखाप भइसकेको थियो।
घटना गएको माघ ७ गतेको हो। रातु खोलाबाट लागेको डढेलो सल्किदै प्रेमनगरको हराभरा चौरीमा बिहान साढे ९ बजेतिर आगो सल्किएको थियो।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/IMG20230202154227.jpg)
उनी पुग्दासम्म नजिकैको अर्को खेत आगो सल्किसकेको थियो। चौरीमा पानी थिएन। अलि पर एक/दुई जनाको इनार छ भन्ने सम्झिइन्। उनलाई सास आयो। उनी त्यतै गइन् तर त्यो दिन बिजुली नै थिएन। हावा चलिरहेको थियो। आगो झन् झन् चर्किँदै गयो। पानी नभएपछि उनले रूख विरूवाका पात हाँगा समेटिन्। गाउँलेहरूले पनि आगो निभाउन सहयोग गरे। पात, माटो फालेर उनी आगो निभाउन यति तल्लिन भइन् उन अनुहारै पोल्यो।
'उखु जोगाउन मैले त ज्यानै दाउमा लगाइदिएको थिएँ तर सकिनँ,' उनले सेतोपाटीसँग भनिन्।
स्थानीयले वारूण यन्त्रलाई फोन गरे। तर आगो नियन्त्रणमा आइसकेपछि मात्र आइपुग्यो। स्थानीय र प्रहरी मिलेर झण्डै पाँच घण्टामा आगो नियन्त्रणमा लिए।
गत वर्ष फागुनमा रिता देवीको परिवारले उखु खेती लगाएका थिए। वर्षभरिको मेहनत गरेको उखु काट्ने बेला भएको थियो। उनी चिनी मिललाई उखु बेच्ने तयारीमै थिइन्। वर्षभर घर परिवार चलाउन लिएको कर्जा यहीँ उखु बेचेर तिर्ने उनको योजना थियो।
तर आगलागीले उल्टै उनको ऋण थपियो।
‘यहीँ आम्दानीले सालभर घर चल्छ। मेहनत र बिउ छोडेर ४० हजारभन्दा बढी लगानी गरेका थियौं। क्षणभरमा सबै लगानी डुब्यो। फेरि उखु रोपाई गर्न बिउ किन्न समूहबाट ऋण लिनुपर्ने भयो,’ उनले भनिन् 'अब फेरि ऋण थपियो।'
पोलेको अनुहार ४ दिनसम्म दुख्यो।
यो खेती गर्दा उनले भोग्नु परेको दुःख सम्झिँदा उनको आँखा रसाउँछन्।
प्रेमनगरको यो चौरीमा सिँचाई पुगेको छैन। रिताले उखु खेती गर्न गाउँबाट झण्डै एक किलोमिटर पाइप ओछ्याएर खेतमा पानी लगाएकी थिइन्। ५० हजार रूपैयाँ पाइपै किन्न उनले लगाएकी छन्। मल सहजै पाइन्न। कालोबजारीको साहारामा पुग्दा महंगो हुन्छ। उनले खेती गर्न २५ सयमा पाइने डिएपी ४ हजारको र एक हजारमा पाइने युरिया मल १८ सयको बोरा किनेकी थिइन्।
‘खेती सप्रिन्छ भनेर दिनरात एक गरिदिएको थिएँ। न समयमा खानपिन भयो न आराम गरेँ। निलगाई धपाउन श्रीमान, छोराले दिनरात खेतमै पहरा बसेका थिए तर सबै बर्बाद हुँदा अचेल निद्रा पर्दैन,’ रिताले दुखेसो पोखिन्।
आगलागीबाट रितादेवीको मात्र होइन यहाँ झण्डै एक दर्जन किसानले लगाएका करिब १० विगाहा खेतको उखुबाली नष्ट भएको छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/dhadhelo%201.jpg)
रामकुमार महतोको ८ कठाको उखु जलेर नष्ट भएपछि उनी पनि चिन्तित देखिए।
‘सरकारले न सिँचाई दिन्छ न मल। मिहिनेत र लगानी अनुसार फाइदा छैन तै पनि खेत कसरी बाँझो राख्नु भनेर जसोतसो हामी खेती गर्छौं। कहिले निलगाई, कहिले बँदेल त कहिले आगलागीले सबै बाली नष्ट भइहाल्छ। सुरक्षा त दिनुपर्यो नि। कसरी बाँच्ने हामी?,’ उनले भने।
उखु बेचेर उनले वर्षेनि चामल र गहुँ किन्छन्। छोराछोरीको पढाई, ऋण महाजन सबै यहीँबाट गर्छन्। यहीँ उखु खेती गर्न उनले खेत जोताएको १० हजार रूपैँया तिर्न बाँकी नै थियो। उखु बेचेर पैसा तिर्ने उनको योजना थियो। तर आगलागीको घटनाले ऋण लिएर ती पैसाहरु चुक्ता गर्नुपर्ने अवस्था आएको उनले सुनाए।
पीडित किसानले सरकारसँग क्षतिपुर्ति माग गरेका छन्। बेचन कुशवाहाका अनुसार वडाध्यक्ष, वन कार्यालय र भंगहाका मेयर र प्रदेशसभा सदस्यले सबै क्षतिविवरण टिपेर लगेका छन्।
तर क्षतिपुर्तिबारे स्पष्ट भनेका छैनन्।
‘सुरक्षा दिन नसक्ने सरकारले क्षतिपुर्ति दिनुपर्छ,’ उनले भने।
भंगहा-४ का वडाध्यक्ष गणेशप्रसाद महतोले झण्डै सात विगाहा जग्गामा करिब डेढ करोड बराबरको क्षति भएको बताए।
‘उखुसँगै केही आलु, खुर्सानी बाली, आँपको बोट पनि डढेर खरानी भएको छ। मैले सबै किसान र तिनका क्षति विवरण टिपेर राखेको छु। क्षतिपुर्तिका लागि कार्यपालिका बैठकमा प्रस्ताव राख्छु। प्रदेशको कृषि मन्त्रालयसँग पनि समन्वय गर्ने प्रयास गरिरहेको छु,’ उनले भने।
प्रहरी अनुसन्धानमा आगलागी घटनामा कारण नखुलेको प्रहरी चौकी भंगहा, सितापुरका सई राधेमोहन कुशवाहाले बताए।
‘पश्चिमपट्टी रहेको खोलाको बगतिरबाट आगो लागेको देखिन्छ तर कसरी लाग्यो खुलेको छैन,’ उनले भने।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/dhadhelo3.jpg)
प्रेमनगरको यो चौरीमा सिँचाईका लागि स्थानीयले लामो समयदेखि जनप्रनिधिकहाँ धाइरहेका छन्। तर कसैले नसुनदिएको उनीहरुको गुनासो छ।
‘यो चौरीको अधिकांस खेत धनी बर्दिबास नगरपालिकाका छन्। हाम्रो मेयरले भन्छन् भंगहा नगरपालिकाले काम गर्छ। भंगहाले बर्दिबासले काम गर्छ भन्छ। सिँचाई बेगर खेती गर्दा लगानी पनि उठ्दैन। गाउँबाट खेत टाढा पर्छ,’ स्थानीय कमेश्वर सिंहले भने।
जंगली जनावरको आतंक नियन्त्रणका लागि पनि नगरपालिका तथा स्थानीय नेतालाई किसानले पटक पटक आग्रह गरेका छन्। तर सुनुवाई हुन नसकेको सिंहले बताए।
चालु आर्थिक वर्षको बजेट सञ्चालन हुन नसक्दा सिँचाईको लागि केही काम नभएको तर योजना कार्यक्रममा राखेको वडाध्यक्ष महतोले बताए। किसानको क्षतिपुर्ति समबन्धमा कुरा गर्ने प्रयास गर्दा भंगहा र बर्दिबास नगरपालिकामध्ये कुनै मेयरसँग सम्पर्क हुन सकेन।