लुम्बिनी क्षेत्रमा बोरिङको प्रयोग गरी धान रोपाइँ गर्न रोक लगाइएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले सूचना जारी गर्दै पर्याप्त मात्रामा वर्षा नभएसम्म धान रोपाइँका लागि बोरिङ प्रयोग गरी पानी नतान्न तथा खानेपानीको स्रोतहरूको अनावश्यक प्रयोग नगर्न सम्पूर्ण कृषकहरूलाई आग्रह गरेको हो।
लुम्बिनी क्षेत्रमा खडेरीका कारण केही दिन यता पिउने पानीका बोरिङ, नल, हेण्डपाइप तथा अन्य जलस्रोतहरूमा पानीको सतह घटेको र पिउने पानीको समेत अभाव भइरहेकोले खानेपानीको श्रोतहरूको संरक्षणका लागि धान रोप्न बोरिङको प्रयोग नगर्न आग्रह गरिएको हो।
नगरपालिकाका कार्यबाहक प्रमुख कल्पना हरिजनले जारी गरेको सूचनामा धान रोपाइँको समयमा बोरिङ जडान गरी अत्यधिक मात्रामा पानी प्रयोग गर्दा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने खानेपानीको आपूर्तिमा प्रतिकूल असर परेको उल्लेख गरिएको छ।
‘खानेपानी नागरिकको आधारभूत तथा अत्यावश्यक आवश्यकता भएकाले वर्षा पर्याप्त मात्रामा नभएसम्म धान रोपाइँका लागि बोरिङ प्रयोग गरी पानी नतान्न तथा खानेपानीको स्रोतहरूको अनावश्यक प्रयोग नगर्न सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।
साथै, बिउ बिजन तथा नर्सरी संरक्षणका लागि पनि खानेपानी आपूर्तिमा न्यूनतम असर पर्ने गरी राति ९ बजेदेखि बिहान ४ बजेसम्म मात्र पानी प्रयोग गर्न आग्रह गरिएको छ।
बिहान ४ बजेदेखि राति ९ बजेसम्म मानिसको लागि खानेपानी प्रयोग हुने भएकोले उक्त समयमा बिउ बिजन तथा नर्सरी संरक्षणका लागि पनि पानीको प्रयोग नगर्न आग्रह गरिएको छ।
तराई क्षेत्रमा वर्षाको समयमा पनि पर्याप्त पानी नपर्दा बोरिङ गाडेर तथा नजिकका खोला, ताल तथा तलाउहरूमा सङ्कलन भएको पानी मोटरले तानेर धान रोपाइँ गर्नुपर्ने किसानहरूको बाध्यता छ।