विद्युतीय सवारीसाधन निर्माता लिपमोटरले सन् २०२६ को सेप्टेम्बरमा विश्वभर १ लाख ५ हजार ६५६ युनिट सवारीसाधन डेलिभरी गरेको जनाएको छ।
कम्पनीका अनुसार योसँगै लगातार तेस्रो महिनामा उसको मासिक डेलिभरी १ लाख युनिटभन्दा माथि पुगेको छ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा लिपमोटरले ३ लाख १० हजार ५२ युनिट सवारीसाधन डेलिभरी गरेको छ।
सेप्टेम्बरको डेलिभरी अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५९ प्रतिशत र तेस्रो त्रैमासिकको डेलिभरी ७८.३ प्रतिशतले बढेको कम्पनीको दाबी छ।
सन् २०२६ को पहिलो नौ महिनामा कम्पनीको कुल विश्वव्यापी डेलिभरी ६ लाख ६६ हजार ५३९ युनिट पुगेको छ, जुन सन् २०२५ को वार्षिक डेलिभरीभन्दा बढी हो।
स्टेलान्टिससँगको साझेदारीमा सञ्चालित 'लिपमोटर इन्टरनेसनल' मार्फत कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार हालसम्म विश्वव्यापी निर्यात १ लाख ५० हजार युनिट नाघेको छ भने युरोपमा बिक्री तथा सेवा सञ्जाल १ हजारभन्दा बढी स्थानमा पुगेको छ।
नेपालमा सांग्रिला मोटर्सले लिपमोटरका टी०३, बी०३एक्स, बी१० र सी१० लगायतका विद्युतीय सवारीसाधन बिक्री गर्दै आइरहेको छ।