नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणाली लागू गर्ने सम्बन्धमा सम्झौता भएको छ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।
उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुनसुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन्। रकम पठाउने व्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ।
राष्ट्रिय वाणिज्य बैंकको हाल ७७ वटै जिल्लामा २३६ वटा शाखा कार्यालय संचालनमा छन्। २०५ वटा एटिएम, ९३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन्। चालु आवको चौथो त्रैयमाससम्म बैंकले १ खर्व ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ।
उक्त समारोहमा नेपाल राष्ट्र बैंकका निर्देशक आनन्द पौडेल, उप निर्देशक टेकराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख रिको स्थापित लगायतको उपस्थिति थियो।