नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आगामी बजेटमार्फत् निर्माण क्षेत्रमा देखिएका समस्या समाधानमा ध्यान दिनको लागि आग्रह गरेका छन्।
बिहीबार गरिएको पूर्व बजेट छलफलमा अध्यक्ष केसीले निर्माणको समस्या बैंकिङ क्षैत्रमा देखिएको तर्क गरेका हुन्।
उनले निष्क्रिय कर्जा (एनपिएल) दक्षिण एसियामा नै नेपालको कम भए पनि पछिल्लो समय बढ्दो क्रममा रहेकोले सचेत हुन आवश्यक रहेको बताए।
अहिले बढी एनपिएल निर्माण क्षेत्रमा रहेको भन्दै यस क्षेत्रमा देखिएमा समस्या सम्बोधन गर्न उनले आग्रह गरे। एनपिएल बढ्दै गएको अवस्थामा धितोमा रहेको सम्पत्ति व्यवस्थापनको लागि एसेट्स म्यानेजमेन्ट कम्पनी बनाउन सकिने उनले बताए।
बैंकका लगानीयोग्य रकम रहेर पनि पुँजीकोषको दबाबले लगानी बढाउन नसकिएको उनको भनाइ छ।
अहिले बैंकमा लगानी गरेर प्रतिफल न्यून भएको भन्दै बैंक प्रति लगानीकर्ताको विश्वास घट्न सक्नेतर्फ सचेत हुन आवश्यक रहेको केसीले बताए।
उनका अनुसार अहिले बैंकहरूको औसत लगानी प्रतिफल ८ प्रतिशत रहेको छ।