चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासमा घोराही सिमेन्ट ६४ करोड रूपैयाँ नोक्सानमा गएको छ। गत वर्षको यही अवधिमा कम्पनी तीन करोड ३९ लाख रूपैयाँ नाफामा थियो।
बजारमा सिमेन्टको मागभन्दा बढी उत्पादन भएकोले बिक्रीमा अपेक्षा अनुसार वृद्धि नभएको, लागत र प्रशासनिक लगायतका खर्च बढेकोले नाफामा असर परेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।
कम्पनीले बिक्रीबाट गरेको आम्दानी १.६९ प्रतिशतले घटेर तीन अर्ब आठ करोडमा सीमित भएको छ। कम्पनीको गत वर्ष यस्तो आम्दानी तीन अर्ब १३ करोड थियो।
कम्पनी नोक्सानमा देखिएसँगै सञ्चित आम्दानी तीन अर्ब ९७ करोडबाट घटेर दुई अर्ब ७६ करोडमा सीमित भएको छ। कम्पनीको जगेडा कोषमा सात करोड ९० लाख रूपैयाँ छ भने सेयर प्रमियमबापतको २ अर्ब ६५ करोड समेत बाँकी छ।
सञ्चित आम्दानी र सेयर प्रमियमबापतको रकमबाट कम्पनीले लाभांश दिन सक्छ।
कम्पनीले बजारमा ८७ करोड रूपैयाँ उधारो तिर्न बाँकी रहँदा बजारबाट दुई अर्ब १३ करोड रूपैयाँ उठाउन बाँकी छ। कम्पनीले यस्तो रकम उठाउन सकेमा पनि नाफामा सुधार हुने देखिन्छ।
कम्पनीको बैंक कर्जा लगायतका विभिन्न शीर्षकमा १४ अर्ब बराबरको चालु र दीर्घकालिन दायित्व छ। कम्पनीको १२ अर्ब रूपैयाँ बराबरको निर्माण लगायतका विभिन्न काम भइरहेको छ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ। प्रति सेयर नेटवर्थ भने दुई सय २० रूपैयाँ ५५ पैसा छ।