बजारमा कर्जाको माग नभएर बैंकहरूमा पैसा थुप्रिएपछि केही समययता राष्ट्र बैंकमा लगेर जम्मा गर्ने क्रम बढेको छ।
यसरी राष्ट्र बैंकमा जम्मा गरिएको रकम ८ खर्ब ७२ अर्ब रूपैयाँ पुगेको छ।
अहिले बैंकहरूमा निक्षेप रकम ७५ खर्ब ३५ अर्ब र कर्जा लगानी ५६ खर्ब ५८ अर्ब रूपैयाँ पुगेको छ। यस अनुसार बैंकहरूसँग कर्जा लगानी गर्न सक्ने रकम ११ खर्ब बराबर छ। यसमध्ये ८ खर्ब ७२ अर्ब रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरिएको हो।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीबाट यस्तो पुँजी उठाउन बन्ड (ऋणपत्र) नै जारी गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका मौद्रिक व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेल मौद्रिक व्यवस्थापनका लागि ऋणपत्र जारी गर्न लागेको बताउँछन्।
राष्ट्र बैंक ऐनअन्तर्गत बनेको खुला बजार कारोबार सम्बन्धी कार्यविधिले बढीमा एक वर्षका लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको छ। यसै अनुसार राष्ट्र बैंकले बैंकहरूमा रहेको अधिक रकम तान्न करिब दुई खर्ब बराबरको ऋणपत्र जारी गर्न लागेको हो।
यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउँछन्। यसको ब्याजदर बैंकहरूको बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने छ।
बैंकिङ प्रणालीमा पैसा थुप्रिन थालेको दुई वर्षभन्दा धेरै भइसकेको छ। यसबीच राष्ट्र बैंकले आफूकहाँ पैसा राखेबापत तिर्नुपरेको ब्याज खर्च सय गुणा बढेको देखिन्छ।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ८ करोड २० लाख रूपैयाँ ब्याज तिरेको थियो। २०८१/८२ मा यो ९ अर्ब १३ करोड रूपैयाँ पुगेको छ। २०८०/८१ मा भने राष्ट्र बैंकले २ अर्ब १८ करोड रूपैयाँ ब्याज तिरेको थियो।
यस्तो ब्याज लागत चालू आर्थिक वर्ष २०८२/८३ मा थप बढ्ने देखिन्छ।
राष्ट्र बैंकले बैंकहरूमा उब्रिएको रकम निक्षेप संकलन र स्थायी निक्षेप सुविधाजस्ता मौद्रिक उपकरणमार्फत तान्ने गर्छ। पुँजी कम हुँदा बैंकिङ प्रणालीमा पैसा प्रवाह बढाउने गर्छ। अहिले निक्षेप संकलन उपकरणमा औसत २.७३ प्रतिशत ब्याजदर छ भने स्थायी निक्षेप सुविधामा तीन दिनका लागि ३ प्रतिशत ब्याज छ।
यसरी पटक पटक गरेर राष्ट्र बैंकले २३२ खर्ब १४ अर्ब रूपैयाँ बैंकिङ प्रणालीबाट उठाउने र अवधि सकिएपछि बैंकिङ प्रणालीमै फिर्ता पठाउने गर्दै आएको छ। गत आर्थिक वर्ष ४६ खर्ब ७३ अर्ब रूपैयाँ बैंकिङ प्रणालीबाट उठाउने र अवधि सकिएपछि फिर्ता गरेको थियो। यसका लागि राष्ट्र बैंकले ९ अर्ब १३ करोड रूपैयाँ ब्याज तिरेको थियो।
यही क्रममा पैसा तानिरहनुपरे चालू आर्थिक वर्ष करिब १९ अर्ब रूपैयाँ ब्याज लागत पर्ने देखिएको छ। त्यसैले पटक पटक गरेर पुँजी तान्ने विकल्प छाडेर केही समयदेखि राष्ट्र बैंकले लामो अवधिका लागि पैसा तान्ने गरिरहेको छ।
निक्षेप संकलन उपकरणको अवधि १७५ दिनका लागि पनि तोक्न थालिएको छ।
***