लगातार ६ कारोबार घटेर मंगलबार बढेको बजारले वृद्धि कायम राख्न सकेन।
बुधबार सेयर बजार परिसूचक नेप्से ७.८६ अंकले घटेर २६०६ विन्दुमा आइपुगेको छ।
मंगलबार नेप्से परिसूचक भने ७.३९ अंकले नै बढेको थियो।
बुधबार अन्तिम समयमा नेप्से एकैपटक ६ अंक हाराहारी बढेपनि बजार अघिल्लो दिनको बन्द विन्दुभन्दा माथि पुग्न सकेन। मंगलबार र बुधबार दुवै दिन अन्तिम समयमा नेप्से बढाउने प्रयास भएको देखिन्छ।
बजारको प्रवृत्ति स्पष्ट नहुँदा कारोबार लगातार घट्दै गएको छ।
यस दिन ३ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको छ। मंगलबार बजारमा ३ अर्ब ७५ करोड रूपैयाँको कारोबार भएको थियो।
यस दिन तीन कम्पनीमा सर्किट ब्रेक लागेको छ।
स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाइ प्यानलको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो।
यसदिन कारोबारमा आएका समूहगत परिसूचकमध्ये सामूहिक लगानी कोष समूहमा मात्रै सुधार देखिएको छ। सबै समूहगत परिसूचक एक प्रतिशतभन्दा कमले परिर्वतन भएका छन्।
कारोबारमा आएका ३२९ लगानी उपकरणमध्ये एक सय ५ वटाको मूल्य बढेको छ भने दुई सय ४ वटाको सेयर मूल्य घटेको छ। बाँकीको स्थिर छ।
झापा इनर्जी कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ। कम्पनीको सेयर प्रतिकित्ता एक हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
श्रीनगर एग्रोटेक कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको २६ करोड ३९ लाख रूपैयाँ बराबरको कारोबार भएको हो।
कम्पनीको प्रतिकित्ता सेयर ३.४४ प्रतिशतले घटेर आठ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।