पुस ७ गतेयता मन्जुश्री फाइनान्सको सेयर मूल्य बुधबार दोस्रो पटक घटेको छ।
पुस ७ गते ६९३ रूपैयाँमा कारोबार भएको यसको सेयर मूल्य यही मंगलबार ८७३ रूपैयाँसम्म पुग्यो। बुधबार भने अघिल्लो दिनको अन्तिम मूल्यभन्दा ४० रूपैयाँ घटेर ८२० रूपैयाँमा आइपुगेको छ।
पुस ७ गते सेयर किन्ने कसैले मंगलबार सेयर बेच्न सक्दा २५ प्रतिशत नाफा कमाउन सफल भएको देखिन्छ।
वित्तीय विवरण राम्रो आउँदा किन घट्यो त मन्जुश्रीको मूल्य?
मन्जुश्रीले बुधबार चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्म (साउनदेखि पुस) को वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण आएकै दिन मूल्य घटेको हो।
मन्जुश्रीको चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासमा नाफा १५ प्रतिशतले बढेर १३ करोड ५३ लाख रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यही अवधिमा यसको नाफा ११ करोड ७० लाख रूपैयाँ थियो।
मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी नै १३.८७ प्रतिशतले बढेर ४५ करोड रूपैयाँ पुगेको छ।
दोस्रो त्रैमाससम्मको नाफा यसले २३ करोड ५६ लाख रूपैयाँ लाभांश दिन सक्छ। यो भनेको अहिलेको चुक्ता पुँजी एक अर्ब ३५ करोडको १७.४३ प्रतिशत हो।
वार्षिक अन्त्यसम्मको आम्दानीपछि यो क्षमता थप बढ्न सक्छ। तर अहिले मूल्य घट्यो।
बजारमा सेयर मूल्यमा सानातिना उतारचढाव हुन्छ नै। यसअघि किनेकाले राम्रो प्रतिफल पाउँदा समेत सेयर बिक्री बढ्छ र मूल्य घट्छ। यसरी मूल्य घट्नुलाई सेयर बजारको भाषामा करेन्सन हुनु पनि भनिन्छ।
त्यसबाहेक अहिले पनि वित्त कम्पनीहरूमध्ये मन्जुश्रीको सेयर सबभन्दा महँगो छ। पुरानो मूल्य अनुसार पनि कम्पनीहरूको मूल्यमा प्रतिक्रिया भइरहेको हुन्छ।
कुनै समय भने यसको सेयर मूल्य एक हजार तीन सय रूपैयाँसम्म पुगेको थियो। करिब चार–पाँच महिनाको अन्तरालमा मन्जुश्रीको मूल्य यसरी ५०० रूपैयाँ हाराहारीबाट १४५६ रूपैयाँसम्म पुगेको थियो।
यसरी मूल्य १४ सयसम्म पुग्नुमा यसले सो समय घोषणा गरेको बम्पर लाभांश रहेको देखिन्छ। यसले आर्थिक वर्ष २०७७–७८ को नाफापछि ४० प्रतिशत बोनस सेयर सहित कुल ४६ प्रतिशत लाभांश दिएको थियो।
मन्जुश्रीको लाभांश इतिहास हेर्ने हो भने आर्थिक वर्ष २०७७–७८ पछि एक पटक लाभांश दिएन। त्यसयता लाभांश नियमित दिइरहेको छ। यसरी ५ देखि ६ प्रतिशत हाराहारी लाभांश दिएको मन्जुश्रीले गत आर्थिक वर्ष २०८१–८२ को नाफापछि हालै १५ प्रतिशत नगद लाभांश दिएको हो।
हाल मन्जुश्रीको निस्क्रिय कर्जा ३.८६ बाट घटेर ३.६४ प्रतिशत भएको छ। प्रतिसेयर आम्दानी १७ रूपैयाँबाट बढेर २० रूपैयाँ र प्रति सेयर नेटवर्थ १७५ रूपैयाँ छ। गत आर्थिक वर्ष प्रति सेयर नेटवर्थ १८० रूपैयाँ थियो।
मन्जुश्रीको मैनबत्ती चित्रले लगभग 'इभिनिङ डोजी स्टार बियरिस' आकृति बनाएको छ। सोमबार मूल्य बढेर लामो हरियो मैनबत्ती बनेको छ भने मंगलबार दुवैतर्फ धागोसहित सानो रातो शरीर भएको डोजी र बुधबार लामो रातो शरीर भएको मैनबत्ती आकृति बनेको छ। यसले मूल्य घट्ने संकेत गरिरहेको छ।
पछिल्लो समय मन्जुश्रीको मूल्य ९०० रूपैयाँ आसपाससम्म पुग्दै आएको छ। अहिले यही विन्दुमा मूल्यले प्रतिरोध पाइरहेको हो। यो बलियो प्रतिरोध हो। समग्र बजार आसन्न निर्वाचनका कारण बढिरहँदा यही क्रमले निरन्तरता पाएमा केही समयपछि यसको पनि मूल्य बढ्न भने सक्छ।
तर अहिले यसको मूल्य उच्च भएकाले जोखिम लिन नचाहने लगानीकर्ताले भने बुझेरै मात्र लगानी रणनीति बनाउनु सही हुन्छ।
नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले पनि बुधबार चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
निफ्राले नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेसँगै यसको प्रभाव सेयरमा देखिएको छ।
सेयर मूल्य बुधबार पाँच रूपैयाँ घटेर २६६ भएको छ।
यसको नाफा ३६.१५ प्रतिशतले घटेर ४० करोड रूपैयाँ भएको छ। गत आर्थिक वर्षको यही अवधिमा नाफा ६४ करोड रूपैयाँ थियो।
एक अर्ब रूपैयाँबाट खुद ब्याज आम्दानी २९ प्रतिशतले घटेर ७४ करोड रूपैयाँ भएको छ।
त्यस्तै, एक वर्षभन्दा बढी अवधिदेखि कर्जाको किस्ता भुक्तानी नभएमा मात्रै कर्जा निस्क्रिय मान्न पाइने सुविधाले निफ्राको यस्तो निस्क्रिय कर्जा देखिँदैन।
यसको प्रति सेयर आम्दानी करिब ६ रूपैयाँबाट घटेर तीन रूपैयाँ ८० पैसा र प्रति सेयर नेटवर्थ एक सय १४ रूपैयाँ छ। यसअघि प्रति सेयर नेटवर्थ ११६ रूपैयाँ थियो।
आठ अर्ब रूपैयाँको सेयर जारी गरेर सो समय नेपालको इतिहासकै सबभन्दा ठूलो सेयर निस्कासनको रेकर्ड निफ्राले बनाएको थियो। यो सेयर २०७७ माघबाट कारोबारमा आएको हो।
कारोबारमा आएको केही समयसम्म लगातार १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको सेयर मूल्य अधिकतम ७२६ रूपैयाँसम्म पुगेको थियो। तर पछिल्लो केही वर्षयता निफ्राको उच्च मूल्य ३०० देखि ४०० रूपैयाँ हाराहारी छ।
निफ्राले जलविद्युत, पर्यटन, सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ। हाल निफ्राले २७ अर्ब ४१ करोड रूपैयाँ बराबरको कर्जा लगानी गरेको छ।
ठूलो पुँजी (२१ अर्ब ६० करोड रूपैयाँ) भए पनि बजारबाट लामो अवधिको निक्षेप, ऋणपत्रबाट मात्रै पुँजी जुटाउन पाउनु लगायत कारणले पनि निफ्राको कार्यसम्पादन सुस्त छ।
यसले विदेशबाट समेत पुँजी भित्र्याउन पाउने व्यवस्था गरिएको भए पनि यसमा खासै सफल भएको छैन।
यसले गत आर्थिक वर्ष २०८१–८२ को नाफापछि कुनै लाभांश दिएन। सोभन्दा अघिका चार वर्षमा औसत ५.७८ प्रतिशत लाभांश दिएको छ। सूचीकरणपछिको पहिलो वर्ष ८ प्रतिशत बोनस सेयरसमेत दिएको थियो। निफ्राले पछिल्लो समय नगद लाभांश मात्रै दिँदै आएको छ।
निफ्रामा वाणिज्य बैंकहरूको २०.८९ प्रतिशत, बीमा कम्पनीहरूको १८.९७ प्रतिशत, सरकारको १० प्रतिशत सर्वसाधारणको ४० प्रतिशत र बाँकी अन्यको सेयर स्वामित्व छ।
लगातार मूल्य बढिरहेको निफ्राको सेयर बुधबार घटेर लामो रातो मैनबत्ती आकृति बनाएको छ। यसले अघिल्लो दिनको सेतो सानो मैनबत्ती आकृतिलाई पूरै ढाकेको (इनगल्फ गरेको) छ।
अघिल्लो दिनको बन्द मूल्यभन्दा माथिबाट कारोबार भएर अघिल्लो दिनको सुरू मूल्यभन्दा घटेरै बजार बन्द हुँदा यस्तो आकृति बनेको हो।
यसले मूल्य थप घट्ने संकेत गर्छ। यस्तो संकेतको प्रभाव मध्यम मानिन्छ। आगामी कारोबार हेरेरै मात्रै सेयर लगानी रणनीति बनाउनु सही हुन्छ।