आइतबारसम्म पाँच बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित भइसकेको छ।
कामना सेवा विकास बैंक, आरएसडिसी लघुवित्त, माछापुच्छ्रे बैंक, फर्स्ट माइक्रोफाइनान्स र सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय विवरण प्रकाशित गरेका हुन्। यी सबै वित्तीय संस्थाहरूको नाफा बढेको छ।
नाफा बढेको वित्तीय विवरण सार्वजनिक हुन थालेसँगै वृद्धिमा रहेको बजारमा थप सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ।
आइतबार नै वित्तीय विवरण सार्वजनिक भएका माछापुच्छ्रे बैंक, फर्स्ट माइक्रोफाइनान्सको वित्तीय विवरण र सेयरको सम्भावित प्रवृत्ति यसमा चर्चा गर्नेछौं।
चालु आर्थिक वर्ष २०८२–८३ मा माछापुच्छ्रे बैंकको खुद नाफा २५.२५ प्रतिशतले बढेर एक अर्ब एक करोड रूपैयाँ पुगेको छ। यसअघि ८० करोड रूपैयाँ खुद नाफा थियो।
यसको गैर सञ्चालन खर्च कम भएपछि नाफा बढ्न सहयोग पुगेको हो। यसअघि यस्तो खर्च १९ करोड दुई लाख रूपैयाँ भएकामा यस पटक एक करोड ६३ लाख रूपैयाँ छ।
माछापुच्छ्रेको कर्जाका लागि राखिएको प्रावधान रकम २० करोडबाट बढेर ५७ करोड रूपैयाँ भएको छ।
मुख्य व्यवसायबाट हुने आम्दानी चार प्रतिशतले बढेर दुई अर्ब ९४ करोड रूपैयाँ छ। यसअघि यस्तो खुद ब्याज आम्दानी दुई अर्ब ८२ करोड रूपैयाँ थियो।
यसको खराब कर्जा ४.५४ प्रतिशत बाट घटेर ४.२५ प्रतिशत भएको छ। वितरणयोग्य नाफाको आधारमा वार्षिकीकरण गरिएको लाभांश क्षमता ७.२२ प्रतिशत छ। यसअघि यस्तो क्षमता ०.१६ प्रतिशत मात्र थियो। वर्ष अन्त्यसम्ममा यसमा परिर्वतन हुन सक्छ।
प्रति सेयर आम्दानी १३ रूपैयाँबाट बढेर १६ रूपैयाँ भएको छ। प्रति सेयर नेटवर्थ भने १६१ रूपैयाँ छ।
माछापुच्छ्रेले विगत पाँच वर्षमा १२.४८ प्रतिशत औसत लाभांश दिएको छ। गत आर्थिक वर्ष २०८१–८२ मा चार प्रतिशत बोनस सहित ८ प्रतिशत लाभांश दिएको थियो।
वित्तीय विवरण राम्रो आएकै कारण आइतबार यसको मूल्य बढेको छ।
आइतबार ५.२२ प्रतिशतले मूल्य बढेर प्रति कित्ता २४२ रूपैयाँमा कारोबार भएको छ। यसको सेयर मूल्य यसअघि पटक पटक २८० देखि २९० रूपैयाँसम्म पुग्दै घट्दै गरेको देखिन्छ।
२०७८ साउन २८ गते भने माछापुच्छ्रेको मूल्य ४४३ रूपैयाँसम्म पुगेको थियो।
अहिले पनि मूल्य २८० देखि २९० रूपैयाँमा प्रतिरोध हुन सक्छ।
यसको मैनबत्ती चित्रले स्पष्ट प्रवृत्ति देखाएको छैन। आइतबार बनेको हरियो मैनबत्ती आकृतिले मूल्य बढ्न सक्ने संकेत गरिरहेको छ। ५० दिने र २०० दिने मुभिङ एभरेज रेखाबाट हेर्दा ५० दिने रेखाले २०० दिने रेखालाई काट्ने सम्भावना देखिँदै गएको छ।
यी दुई रेखा एक आपसमा नजिकिएका छन्।
यो सूचकले अहिलेसम्म यसको मूल्यमा बियरिस प्रवृत्ति रहेको देखाएको छ। तर ५० दिने रेखाले २०० दिने रेखालाई काटेर बढेमा मूल्य थप बढ्ने दरिलो संकेत मिल्नेछ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८२–८३ मा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३४.६० प्रतिशतले बढेर सात करोड चार लाख रूपैयाँ पुगेको छ। यसअघि पाँच करोड २३ लाख रूपैयाँ खुद नाफा थियो।
कर्जाका लागि राखिएको प्रावधान रकम तीन करोड ४७ लाख रूपैयाँ फिर्ता ल्याएपछि नाफा बढ्न सहयोग पुगेको हो।
फर्स्ट माइक्रोको मुख्य व्यवसायबाट हुने आम्दानी १२.५६ प्रतिशतले घटेर नौ करोड ७४ लाख रूपैयाँ भएको छ। यसअघि यस्तो खुद ब्याज आम्दानी ११ करोड १४ लाख रूपैयाँ थियो।
यसको खराब कर्जा ४.४४ प्रतिशतबाट बढेर ४.५४ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफाको आधारमा वार्षिकीकरण गरिएको लाभांश क्षमता ६.८५ प्रतिशत छ। यसअघि यस्तो क्षमता ५.६४ प्रतिशत थियो। वर्ष अन्तयसम्म यसमा परिर्वतन हुन सक्छ।
फर्स्ट माइक्रोको प्रति सेयर आम्दानी ७ रूपैयाँ ७८ पैसाबाट बढेर १० रूपैयाँ ४७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १२८ रूपैयाँ छ।
यसले विगत पाँच वर्षमा १२.३ औसत लाभांश दिएको छ। गत आर्थिक वर्ष २०८१–८२ मा ६.५ प्रतिशत नगद लाभांश दिएको थियो।
वित्तीय विवरण राम्रो आएकै कारण आइतबार यसको मूल्य बढेको छ। आइतबार ३.३६ प्रतिशतले मूल्य बढेर फर्स्ट माइक्रोको प्रति कित्ता ८४३ रूपैयाँमा कारोबार भएको छ। यसको सेयर मूल्य यसअघि पटक पटक ९३३ देखि ९५७ रूपैयाँसम्म पुग्दै घट्दै गरेको देखिन्छ।
२०७८ भदौ २ गते भने फर्स्ट माइक्रोको मूल्य १३६५ रूपैयाँसम्म पुगेको थियो। अहिले पनि मूल्यलाई ९३३ देखि ९५७ रूपैयाँमा प्रतिरोध हुन सक्छ।
मैनबत्ती चित्रले ‘डाउनसाइड ग्याप थ्री मेथड’ बियरिस प्रवृत्ति बनाए पनि यो मूल्य बढ्दो प्रवृत्तिमा देखिएको छ। मूल्य घट्दो प्रवृत्तिमा रहँदा देखिने यस्तो संकेतले घट्दो प्रवृत्तिकै निरन्तरता देखाउँछ।
तर मूल्य बढिरहेको समयमा यस्तो प्रवृत्ति देखिएकाले स्पष्ट संकेत यसले गर्दैन।
त्यस्तै, ५० दिने र २०० दिने मुभिङ एभरेज रेखाबाट हेर्दा दुवै रेखा नजिकिएका छन्।
आगामी दिनमा ५० दिने रेखाले २०० दिने रेखालाई काटेमा भने मूल्य थप बढ्ने दरिलो संकेत हुनेछ। तर केही समयदेखि यी दुई रेखा आपसमा निकै कम दुरी राखेर समानान्तर रूपमा अघि बढिरहेका छन्।