सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रूपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रूपैयाँ बराबरको ८५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २४ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्।
सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि जेठ ४ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाईन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।