नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि उल्लेख्य चासो देखिएको छ।
छनोट समितिले सोमबारसम्म आवेदन दिन समय तोकिएकोमा सो अवधिभित्र ४७ जनाले आवेदन दिएका छन्।
वैशाख १५ देखि २१ गतेसम्म दरखास्त आह्वान गरिएको थियो।
अब समितिले प्राप्त आवेदनहरूबाट संक्षिप्त सूची तयार गर्नेछ। त्यसपछि कम्तीमा तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरिनेछ।
सिफारिसमा परेका तीन जनामध्येबाट सरकारले एक जनालाई कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ। नियुक्त अध्यक्षको कार्यकाल चार वर्ष रहने व्यवस्था छ।
मन्त्रिपरिषद्को वैशाख ८ गतेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।
समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्।
यसअघि वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोष श्रेष्ठले राजीनामा दिएपछि उक्त पद खाली भएको थियो।
योग्यताका आधारमा, मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ।
साथै धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक तथा वित्तीय क्षेत्र, वाणिज्य व्यवस्थापन वा कानुनसम्बन्धी क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव आवश्यक छ।
उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबारजस्ता फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्ति यस पदका लागि अयोग्य ठहरिनेछन्।