समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ११ वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरू गरेको छ।
समितिले बिहीबार समस्याग्रस्त घोषित ११ वटा सहकारीका ११० जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ।
कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट, शिव शिखर बहुउद्देश्यीय सहकारी, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र लालीगुराँस बहुद्देश्यीय सहकारीका ठूला ऋणी रहेका छन्।
समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ।
अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ।
साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ।
केही दिनअघि मात्रै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ऋणीहरूलाई तत्काल कर्जा भुक्तानी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्देशन दिएको छ।
सम्पर्कमा नआउने वा कर्जा नतिर्ने ऋणी तथा सञ्चालकको नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने र आवश्यक परे कैद तथा जरिवाना गर्ने समेत बताइएको छ।
त्यस्तै, कर्जा सावाँ, ब्याज र हर्जाना रकम समयमै नतिरे विद्युत, धारा सिफारिस लगायतका सार्वजनिक सेवा अवरुद्ध गर्ने समेत चेतावनी दिइएको छ।