बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ४ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३८ वटा धितोपत्रको एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
यसदिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरुको प्रतिकित्ता मूल्य ४५६ रूपैयाँ २० पैसा पुगेको छ।
सर्वाधिक मूल्य घट्नेमा सोपान फर्मास्युटिकल्स रहेको छ।
उक्त कम्पनीको मूल्य ५.०५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९८८ रूपैयाँ ४० पैसामा झरेको छ
यसैगरी, हिमायलन ८०-२० को मूल्य ३.९२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ११ रूपैयाँ ५३ पैसामा सीमित भएको छ।
बुधबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३७३ रूपैयाँ ९० पैसामा २९ करोड ६२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोपान फर्मास्युटिकल्स रहेको छ। उक्त कम्पनीको ९८८ रूपैयाँ ४० पैसामा १७ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घटेको छ।
प्राविधिक विश्लेषणले के भन्छ?
प्राविधिक रूपमा हेर्दा बजार अझै कमजोर अवस्थामा देखिन्छ, किनभने परिसूचक २० दिन, ५० दिन र २०० दिनका सबै प्रमुख मुभिङ एभरेजभन्दा तल कारोबार भइरहेको छ।
यसले छोटो, मध्यम र दीर्घकालीन तीनवटै समयावधिमा बजारको प्रवृत्ति नकारात्मक रहेको संकेत गर्छ।
१४ दिने आरएसआइ २.४८ बाट घटेर २.४६ मा झरेको छ। यो अत्यन्तै न्यून हो।
यसले बजारमा बिक्री दबाब निकै बलियो रहेको र लगानीकर्ताको मनोबल कमजोर रहेको देखाउँछ।
त्यस्तै, १४ दिने मनी फ्लो इन्डेक्स पनि २० बाट १२ मा झरेको छ, जसले बजारमा पैसाको प्रवाह घट्दै गएको र पर्याप्त रूपमा नयाँ खरिद प्रवेश नगरेको संकेत गर्दछ।
यद्यपि सबै सूचकहरू पूर्ण रूपमा नकारात्मक भने देखिएका छैनन्। क्लोज लोकेसन भ्यालु ०.१६ मा सकारात्मक छ।
एकुमुलेसन र डिष्ट्रिब्युसन सूचक आज करिब १५ लाखले बढेको छ।
यसले कारोबारको अन्त्यतिर केही खरिद चाप देखिएको संकेत गर्छ।
पछिल्ला २८ कारोबार दिनको सञ्चित एकुमुलेसन र डिष्ट्रिब्युसन मान पनि करिब ६ लाखले सकारात्मक रहेको छ।
२७ दिनसम्ममा यो नकारात्मक भइसकेकोमा अहिले २८ कारोबार दिनमा सकारात्मक देखिएको हो।
यसको अर्थ नेप्से परिसूचक घटिरहेको भए पनि समग्र रूपमा बजारबाट बाहिरिएकोभन्दा भित्रिएको पैसा केही बढी रहेको देखिन्छ।
यस्तो अवस्था प्राय: मूल्यमा कमजोर भएपनि केही लगानीकर्ताले क्रमश: सेयर संकलन गरिरहेको जस्तो देखिन्छ।