ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ।
नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्युआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन्।
नागरिक एप प्रयोगकर्ताहरूले ग्लोबल आइएमई बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्युआर कोड उल्लेखित लिंकमा क्लिक गरि पाउनेछन्।
नेपालमै पहिलो पटक सुरू गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ।
यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकहरूले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन्।
यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ।
यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनियता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ ।
नागरिक एपमार्फत् खोलिएको खाता सञ्चालनको लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडिओ केवाइसी मार्फत प्रमाणीकरण गर्नु पर्नेछ।
यस सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको छ।
नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।