शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक लिमिटेडले चौथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन्।
भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इन्डियन चेम्बर अफ कमर्स आइसिसीले नयाँ दिल्लीमा गरेको चौथो आइसिसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्डसमा शाइन रेसुंगाले विकास बैंकतर्फ वेस्ट बैंक र नबिलले वाणिज्य बैंकतर्फ वेस्ट बैंक अवार्ड जितेका हुन्।
शाइन रेसुंगाले वेस्ट डेभलपमेन्ट बैंक अवार्ड सँगै वेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा वेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ।
यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्त्वपूर्ण मान्यताका रूपमा हेरिएको छ।
विशेष गरी विकास बैंकतर्फ शाइन रेसुंगाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ।
शाइन रेसुंगा रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंक हो।
अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्स एन्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुला रुपमा आवेदन आह्वान गरेको थियो।
यी दक्षिण एसियाली मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।
सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादन लगायतका विभिन्न सूचकका आधारमा मूल्यांकन गरिएको थियो।