लगातार दबाबमा रहेको सेयर बजारमा बिहीबार एउटा महत्वपूर्ण मैनबत्तीको संकेत देखिएको छ।
नेप्से परिसूचकमा अघिल्लो दिन बनेको ठूलो रातो मैनबत्तीको शरीरले बिहीबार बनेको सानो हरियो मैनबत्तीको आकृति ढाकेको छ। यसलाई 'हरामी बुलिस' आकृति भनिन्छ।
प्राविधिक विश्लेषणमा घट्दो बजारमा बिक्री दबाब कमजोर हुँदै गएको र बजारले फर्किने प्रयास गर्न सक्ने संकेतका रूपमा यस्तो आकृतिलाई हेरिन्छ।
बुधबार २६३५.३१ विन्दुबाट बजार खुलेर अधिकतम २६३९.४१ विन्दुसम्म पुगेको थियो। त्यसपछि बजारमा बिक्री चाप बढ्दा परिसूचक न्यूनतम २६०४.४३ विन्दुसम्म झर्यो।
अन्ततः नेप्से २६१२.४२ विन्दुमा बन्द भयो।
बजार सुरू हुनुभन्दा तल बन्द भएकाले ठूलो रातो मैनबत्ती बनेको थियो।
बिहीबार भने बजार २६१६.४० विन्दुबाट खुलेको थियो। कारोबार क्रममा नेप्से २६३७.५८ विन्दुसम्म उक्लिए पनि पुनः केही दबाबमा आयो।
घटेर २६१५.६९ विन्दु कायम भएको बजार अन्ततः २६२४.३६ विन्दुमा बन्द भयो। अघिल्लो दिनको तुलनामा नेप्से ११.९४ अंक बढ्यो र सानो शरीर भएको हरियो मैनबत्ती बन्यो।
यही दुई दिनको मैनबत्तीलाई सँगै हेर्दा हरामी बुलिस आकृति बनाएको देखिन्छ।
हरामी बुलिस सामान्यतया घटिरहेको बजारमा देखिने आकृति हो। यसले अघिल्लो दिनसम्म बलियो रहेको बिक्री दबाबमा केही कमी आएको हुन सक्ने अनुमान गरिन्छ।
तर हरामी बुलिस बनेकै आधारमा बजारको दिशा परिवर्तन भयो भन्न सकिँदैन। यसलाई दरिलो संकेत मानिँदैन।
यो प्रारम्भिक संकेत मात्र हो। यसको प्रभावकारिता पुष्टि गर्न त्यसपछिका कारोबार दिनमा बन्ने अर्को मैनबत्तीको आकृति हेर्नुपर्ने हुन्छ।
शुक्रबार बजार बढेर बुधबारको २६३५ विन्दु पार गर्न सफल भयो भने बजार बढ्ने दरिलो संकेत बन्न सक्छ। यी तीन दिनमा थ्री इनसाइड अप बुलिस आकृति बन्नेछ।
यसले हरामी बुलिस आकृतिको प्रभाव सुनिश्चित गराउँछ।
तर मैनबत्ती चित्रलाई अल्पकालीन प्रवृत्ति विश्लेषणको औजारका रूपमा मात्रै प्रयोग गर्नुपर्छ।
बजार फेरि २६१५ विन्दु आसपासभन्दा तल झरेर अघिल्लो दिनको न्यूनतम २६०४.४३ विन्दुतर्फ झुक्न थालेमा प्रवृत्ति परिवर्तनको संकेत कमजोर भइरहेको संकेत गर्छ।
दीर्घकालीन प्रवृत्ति हेर्न प्रयोग गरिने मुभिङ एभरेज रेखाबाट हेर्दा नेप्सेले अहिले ५० दिने रेखामा प्रतिरोध पाइरहेको छ। अहिले नेप्सेले यो रेखालाई छोएर बसेको छ।
मुभिङ एभरेज रेखाले अहिले पनि बजार बुलिस प्रवृत्तिमा प्रवेश नगरीसकेको संकेत गरिरहेको छ। अहिले पनि ५० दिने रेखा २०० दिने रेखाभन्दा तल छ।
करिब एक महिना ५० दिने रेखाले २०० दिने रेखा काटेर ओर्लिएको थियो। यसरी एक रेखाले अर्को रेखा काटेर डेथ–क्रसओभर बनेसँगै बजार बियरिस प्रवृत्तिमा आएको संकेत गरेको थियो।
अब २०० दिने रेखालाई काटेर ५० दिने रेखा माथि लागेमा गोल्डेन–क्रसओभर भएको मानिनेछ। र, बजार बुलिस प्रवृत्तिमा जान लागेको मान्न सकिनेछ।