र्यान्समवेयर आक्रमणका कारण सोमबार रोकिएको सेयर कारोबार आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ।
७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को ब्याकअप राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै कारोबार नियमित हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
नेप्सेले मंगलबार बिहान आफ्नो वेबसाइटमार्फत सूचना प्रकाशित गर्दै डेटा हबमा देखिएको समस्या समाधान भएको र आजदेखि ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणालीमार्फत सबै सेयर कारोबार पूर्ववत् रूपमा सञ्चालन हुने जानकारी दिएको हो।
सेयर बजारमा हाल ९० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्। तीमध्ये ७२ वटा ब्रोकर कम्पनीले नेप्सेले उपलब्ध गराएको सेयर कारोबार प्रणाली (टिएमएस) प्रयोग गर्दै आएका छन्। उक्त प्रणालीको विकास वाइको प्रालिले गरेको हो। वाइकोले विकास गरेको प्रणालीको ब्याकअप तथा पूर्वाधार व्यवस्थापनको काम डेटा हब प्रालिले गर्दै आएको छ।
आइतबार बिहान डेटा हब प्रालिले टिएमएस होस्ट भइरहेको पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएको जानकारी वाइकोलाई गराएको थियो। डेटा हबले बिहान ५ बजेर ३० मिनेटतिर आक्रमण भएको जानकारी गराउँदै सम्भावित जोखिमका कारण कारोबार रोक्नुपर्ने अवस्था आउन सक्ने भन्दै वाइकोलाई पत्राचार गरेको थियो। त्यसपछि वाइकोले सम्बन्धित ब्रोकर कम्पनी तथा नेप्सेलाई जानकारी गराएको थियो।
डेटा हबले वाइकोलाई पठाएको पत्रमा आक्रमण हुनुअघि आइतबार बिहान करिब ४ बजे सम्पूर्ण पूर्वाधारको ब्याकअप लिइएको र त्यसलाई सुरक्षित रूपमा अलग राखिएको उल्लेख गरेको थियो। आक्रमण अन्य जोडिएका सञ्जाल तथा प्रणालीमा समेत फैलिएको हुनसक्ने आशंकामा प्रभावित प्रणालीलाई तत्काल सञ्चालनमा नल्याइएको डेटा हबले जनाएको थियो।
प्रभावित प्रणालीको अवस्था पत्ता लगाउन अनुसन्धान तथा सुरक्षा परीक्षण भइरहेको र फरेन्सिक विश्लेषणपछि मात्रै प्रणाली पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको थियो। र्यान्समवेयर आक्रमणपछि प्रणाली तथा फाइलमा पहुँच अवरूद्ध हुनसक्ने र त्यसका कारण वित्तीय सेवामा समेत असर पर्न सक्ने भएकाले थप जोखिम रोक्न प्रणालीलाई अलग राखिएको थियो।
वाइकोले ब्रोकर कम्पनीहरूलाई पठाएको जानकारीमा डेटा सेन्टरमा रहेको टिएमएससँगै सिडिएस एन्ड क्लियरिङसँग सम्बन्धित प्रणाली, भुक्तानी प्रणाली तथा अन्य परस्पर जोडिएका सेवामा समेत प्रभाव परेको हुनसक्ने उल्लेख गरेको थियो। यही कारण सम्भावित थप क्षति रोक्न सोमबार कारोबार सञ्चालन नगरिएको थियो।
सोमबार कारोबार रोकिँदा ७२ ब्रोकर कम्पनीको टिएमएस सञ्चालनमा आउन सकेको थिएन। बाँकी ब्रोकर कम्पनीको प्रणाली भने फरक डेटा सेन्टरमा रहेकाले सञ्चालन गर्न सकिने अवस्था थियो। तर, केही ब्रोकरबाट मात्रै कारोबार सञ्चालन गर्दा लगानीकर्तामाझ विभेद हुने देखिएपछि सोमबार सम्पूर्ण बजारको कारोबार स्थगन गरिएको थियो।
डेटा हबमा आक्रमण भए पनि आक्रमण हुनुअघि लिइएको सम्पूर्ण पूर्वाधारको ब्याकअप सुरक्षित रूपमा अलग राखिएको जानकारी दिइएको थियो। उक्त ब्याकअप सुरक्षित र प्रयोगयोग्य रहेको प्रमाणित भएपछि प्रणाली पुनःस्थापनामा त्यसले सहयोग गर्ने अवस्था बनेको थियो। आक्रमण कति फैलिएको थियो, कुन–कुन प्रणालीमा पहुँच पुगेको थियो र कुनै तथ्यांक प्रभावित भयो कि भएन भन्ने विषयमा भने थप प्राविधिक परीक्षण आवश्यक रहेको थियो।
समस्या समाधानका लागि प्राविधिक टोलीले प्रणालीको सुरक्षा परीक्षण तथा पुनःस्थापनाको काम अघि बढाएको थियो। समस्या समाधान भएसँगै नेप्सेले मंगलबारदेखि नियमित कारोबार सञ्चालन गर्ने जानकारी दिएको हो।
यससँगै सोमबार एक दिन रोकिएको सेयर कारोबार आजदेखि पुनः नियमित हुने भएको छ। नेप्सेको नियमित कारोबार समयअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार सञ्चालन हुनेछ।