नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रण गर्न नयाँ निर्देशन जारी गरेको छ।
बोर्डले ग्राहकको पहिचान, कारोबारको निगरानी र शंकास्पद गतिविधिको पहिचानलाई प्रभावकारी बनाउन भन्दै विभिन्न व्यवस्था गरेको हो।
यी व्यवस्था नयाँ होइनन्। तर यिनै व्यवस्था देखाएर बजारमा हौवा फैलिएको ब्रोकरहरू बताउँछन्।
‘मलाई धेरैले फोन गरेर यसबारे सोधखोज गरिरहेका छन्,’ एक ब्रोकरले भने, ‘यो नयाँ व्यवस्था नभएको र पहिलेदेखि नै कार्यान्वयनमा रहेको व्यवस्था हो भनेर बुझाइरहेको पनि छु। तर किन किन बजारमा यसैलाई देखाएर तनाव सिर्जना गरिएको छ।’
सामाजिक सञ्जालहरूमा पनि पुराना लगानीकर्ताहरू धेरैले यो नयाँ व्यवस्था नभएको भन्दै अन्यलाई आश्वस्त पार्न खोजिरहेका छन्।
धितोपत्र बोर्डले समेत निर्देशन नयाँ भए पनि विषय नयाँ नभएको जानकारी गराएको छ।
बोर्डका कार्यकारी निर्देशक रूपेश केसीले भने, ‘निर्देशनहरू संशोधन गर्ने भन्ने हुँदैन रहेछ। त्यही कारण २०८० मा सम्पत्ति शुद्धीकरण निवारण ऐनको संशोधन अनुसार केही विस्तृत व्याख्यासहित नयाँ निर्देशन ल्याइएको हो।’
केसीले थप नयाँ व्यवस्था नगरिएको स्पष्ट पारे।
ब्रोकरहरूले यसअघि नै यस्तो गतिविधिको रिपोर्टिङ गर्दै आएका छन्। २६ किसिमका सूचक संस्थाहरूले दैनिक वा एक पटकमा १० लाख रूपैयाँ सीमामाथिको कारोबार र शंकास्पद हुन सक्ने कारोबारको जानकारी वित्तीय जानकारी इकाइ (एफआइयू) मा पेस गर्छन्।
ब्रोकर कम्पनी पनि यस्तै सूचक संस्था हुन्।
आर्थिक वर्ष २०८१–८२ मा धितोपत्र बजारमा रहेका ब्रोकर, मर्चेन्ट बैंकर लगायतले सात लाख ६८ हजार ७४१ वटा सीमामाथिको कारोबारको रिपोर्टिङ गरेको देखिन्छ।
सो वर्ष कुल २२ लाख ३६ हजार ६७ वटा यस्तो कारोबारको रिपोर्टिङ भएको थियो।
ती ब्रोकर भन्छन्, ‘२०७६ सालबाट ब्रोकरहरूले पनि यस्तो कारोबारको रिपोर्टिङ नियमित गरिरहेका छन्। तीन वर्षदेखि वित्तीय जानकारी इकाइले बनाएको प्रणालीमै हामीले यी जानकारी प्रविष्टि गरिरहेका छौं। त्यसैले यही व्यवस्थाको आधारमा भने लगानीकर्ता डराउनुपर्ने अवस्था छैन।’
बोर्डले जारी गरेको नयाँ निर्देशन अनुसार धितोपत्र व्यवसायीले यसअघि जस्तै ग्राहकको जोखिमको मूल्यांकनका आधारमा पहिचान तथा प्रमाणीकरण गर्नुपर्नेछ।
ग्राहकको नाममा खोलिएको खाताबाट हुने कारोबारको प्रकृति र नियमिततामाथि निगरानी राख्नुपर्नेछ।
निर्देशनले नाबालकको नाममा दोस्रो बजारमा नियमित रूपमा हुने सेयर कारोबारलाई पनि निगरानीको दायरामा राखेको छ।
त्यस्तै, वास्तविक धनीको पहिचान गर्नुपर्ने, कम्पनीको स्वामित्व संरचना, सेयरधनीको विवरण तथा त्यसलाई नियन्त्रण गर्ने व्यक्तिबारे आवश्यक जानकारी संकलन गर्नुपर्छ।
उच्च पदस्थ व्यक्ति, उनीहरूका परिवारका सदस्य तथा नजिकका सम्बन्धित व्यक्तिको पहिचान गरी जोखिम मूल्यांकन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।
धितोपत्र व्यवसायीले सम्पत्ति शुद्धीकरण वा आतंकवादी गतिविधिमा वित्तीय लगानीसँग सम्बन्धित हुन सक्ने शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्नुपर्नेछ।
त्यस्ता कारोबारको आवश्यक जाँचबुझ गरी वित्तीय जानकारी इकाइमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ।
धितोपत्र बजारमा हुने कारोबारलाई थप पारदर्शी बनाउने तथा अवैध स्रोतबाट आर्जित रकमलाई सेयर कारोबारमार्फत वैध बनाउने प्रयास नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा बोर्डको छ।