कोरोनाभाइरसको महामारीका कारण आफ्नो अनुमानित आम्दानी घट्नसक्ने एप्पल कम्पनीले बताएको छ।
कम्पनीले भाइरसका कारण आइफोनको उत्पादन र विक्रीमा असर परेको र यसले आइफोनको विश्वव्यापी वितरणमा समेत अस्थायी किसिमको सिमितता ल्याउने बताएको छ।
कोरोनाभाइरसका कारण आर्थिकरुपमा प्रभावित हुनसक्ने घोषणा गर्ने एप्पल पहिलो ठूलो अमेरिकी कम्पनी हो।
पहिलो चौमासमा ६७ बिलियन अमेरिकी डलरको कमाइ अनुमान गरेको एप्पलले आफ्नो सम्भावित असरको अंकको बारेमा भने केही जानकारी छैन।
'मार्च महिनासम्मलाई तोकिएको आम्दानी लक्ष्यलाई हामीले पूरा गर्न नसक्ने भएका छौं', कम्पनीले एक विज्ञप्तिमा भनेको छ, 'सामान्य अवस्थामाभन्दा कम आम्दानी गरिरहेका छौं।'
चीनमा रहेका अधिकाशं स्टोरहरू या त बन्द छन् या त तिनको खुल्ला रहने समय कम भएकाले एप्पलका उत्पादनहरूको विक्री कम हुने कम्पनीले जनाएको हो।
'हाम्रो आइफोन उत्पादन गर्ने केन्द्रहरू हुवेई प्रान्तभन्दा बाहिर छन् र यी केन्द्रहरू पुनः खुलिसकेका छन तर यिनीहरू हामीले अनुमान गरेभन्दा ढिला बढिरहेका छन्', एप्पलले भनेको छ।
'चीनका सबै विक्री केन्द्र र हाम्रा साझेदार विक्री केन्द्रहरू बन्द छन्' उसले भनेको छ, 'त्यसका अलावा खुलेका विक्री केन्द्रहरूको खुल्ने समय पनि न्यून ग्राहकहरूको आगमनले गर्दा घटाइएको छ। हामी विस्तारै तिनलाई खुलाउने क्रममा छौ र हामी यसलाई सक्नेजति गरी स्थिर र सुरक्षितरुपमा निरन्तरता दिनेछौं।'
विश्लेषकहरूले कोरोनाभाइरसको संक्रमण महामारीका कारण चीनमा स्मार्टफोनहरूको माग यस चौमासमा आधाले कम हुने अनुमान गरेका छन्। चीन यिनको विक्रीका हिसाबले विश्वको सर्वाधिक ठूलो बजार रहँदै आएको छ।
यसैगरी यसबाट प्रभावित हुने अर्को उद्योग कार उद्योग हो। यसको वितरण प्रणाली बिथोलिएको छ। गत साता हेभी उपकरण निर्माता कम्पनी जेसिबीले चीनबाट आउने सामाग्रीको अभावका कारण आफ्नो बेलायतस्थित उत्पादनमा कटौती गरेको बताएको थियो।
कोरोनाभाइरस संक्रमणका कारण बितेका केही साता आइफोनमाथि परेको नकारात्मक प्रभावको असर फरवरी महिनामा स्पष्टरुपमा सोचेको भन्दा पनि खराब हुने बेडबुस विश्लेषक ड्यानियल आइभ्सले आफ्ना ग्राहकहरूलाई पठाएको नोटमा भनेका छन्।
बितेका १३ दिनमा कोरोनाभाइरसका नयाँ मामिलाहरू वुहानभन्दा बाहिर घट्दै गइरहेको छ। सोमबार हुवेईबाहिर ११५ वटा नयाँ मामिला आएका छन् जुन गत साता देखिएको ४५० वटा मामिला भन्दा धेरै कम हो।
उत्पादन केन्द्र र पसलहरू सामान्य अवस्थामा फर्किने अनुमानकाबीच एप्पलको चेतावनीले चीनको अर्थतन्त्रमा गम्भीर असर गर्ने संकेत गरेको छ।
अन्तराष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टालिना जर्जगिभाले विश्व अर्थतन्त्रको वृद्धिमा ०.१ देखि ०.२ प्रतिशतको असर देखिने बताएका छन्। तर उनले भाइरसका कारण परेको आर्थिक प्रभावको बारेमा धेरै अनिश्चितता रहेको पनि बताएका छन्।