खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १ लाख ६६ हजार १ सय ५१ क्वीन्टल चामल मौज्दात रहेको बताएको छ। उक्त परिमाणको चामलले दुईदेखि तीन महिनाको माग धान्न सक्ने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्।
उनकाअनुसार त्यसमध्ये काठमाडौंमा १८ हजार ९ सय ३७ क्वीन्टल चामल रहेको छ।
‘हामीसगँ दुगर्म क्षेत्रका खाद्य डीपोमा सहित गरेर १ लाख ६६ हजार क्वीन्टल चामल मौज्दात छ, दुई–तीन महिनालाई खाद्यान्नको समस्या हुँदैन,’ उनले भनिन्।
कम्पनीले थप १ लाख क्वीन्टल चामल किन्नको लागि खरिद प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिइन्। चामल खरिदका लागि कम्पनीले एक हप्ता अघि नै सूचना निकालेकाे छ।
उनी थप्छिन्, ‘हामीले थप १ लाख क्वीन्टल चामल खरिद प्रक्रिया सुरु गरिसकेकोले पनि खाद्यान्नको अभाव हुँदैन।’
लकडाउनका कारण दूर्गम क्षेत्रमा चामल ढुवानी गर्न ढिलाई भएको उनी बताउँछिन्।
‘हामीले चामल नभएर नपठाएको होइन। लकडाउनले ढुवानीमा ढिलाई भएको हो,’ उनले भनिन्, ‘एक–दुई दिन ढिला हुने मात्र हो, हामीले चामल पठाइ रहेका छौं।’
उनले दैलेखमा पनि कम्पनीले चामल पठाइसकेको जानकारी दिइन्।
जेठ ५ गतेसम्मको तथ्याङ्कअनुसार ताप्लेजुङमा ७ सय ५७ क्वीन्टल, संखुवासभामा ३ सय २७, भोजपुरमा २ सय १२, सोलुखुम्बुमा १ सय ६७, ओखलढुङ्गामा ६८, खोटाङमा ४ सय ६०, मनाङमा ५ सय ७, गोरखामा ९ सय ९३ क्वीन्टल चामल मौज्दात रहेको छ।
त्यस्तै, मुस्ताङमा १ सय ६४, रूकुम पश्चिममा २ सय ३५, रूकुम पूर्वमा ४ सय ९०, रोल्पामा ७ सय १०, दैलेखमा २ सय, जाजरकोटमा ३ हजार ४ सय ५५, जुम्लामा ९ सय ७३, हुम्लामा ५ हजार ९ सय ६०, मुगुमा ३ हजार २ सय ८८, डोल्पामा ४५ हजार ९ सय १५, कालिकोटमा २ हजार ६ सय ५९, बझाङमा २ सय ११, बाजुरामा १ हजार ४ सय ९६, अछाममा ८० र दार्चुलामा ३ सय १५ क्वीटल चामल रहेको मौज्दा रहेको छ।
कम्पनीले लकडाउन भएपछि अनलाईन व्यापार सुरू गरेको छ। त्यसले पनि कम्पनीका व्यापार बढाएको उनी बताउँछिन्।
‘पहिला हामीले दुर्गम क्षेत्रमा मात्र चामल पठाउँथ्यौं, अहिले लकडाउनले गर्दा काठमाडौं क्षेत्रमा पनि माग बढेको छ,’ उनले भनिन्।
उनका अनुसार कम्पनीले अहिले दाल, केराउ र घ्यु पनि बेच्न रोखेको छ। पहिले कम्पनीबाट चामल र सिमी मात्र किन्न पाइन्थ्यो।
अनलाईन व्यापारको सुरूआती चरणदेखि आजसम्म कम्पनीले ३ सय ३० अर्डरमा खाद्यान्न पुराइसकेकाे कम्पनीले बताएको छ।