कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार बन्द छ।
मानिस काम नपाएर पट्यारिलो दैनिकी गुजार्न बाध्य छन्। घरभित्र थुनिएर बस्नुपर्दा आम्दानीका स्रोत बन्द भएका छन्।
बन्दाबन्दी खुलेपछि थपिने आर्थिक बोझले मानिस अतास्सिन थालेका छन्।
तर म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय हर्कबहादुर विश्वकर्मालाई लकडाउन आम्दानीको सुनौलो अवसरजस्तै बनेको छ। बन्दाबन्दीका कारण शहर वा विदेशबाट गाउँ फर्किएका व्यक्ति अहिले गाउँमा कृषिकर्ममा व्यस्त छन्। बन्दाबन्दीको शुरुआत (चैत ११) देखि नै गाउँमा शुरु भएको कामको चटारो अब साउन दोस्रो सातापछि मात्र समाप्त हुन्छ।
यी चार महिना कृषि उत्पादन र भण्डारणका लागि महत्वपूर्ण महिना मानिन्छन्। कृषिकर्मका लागि कृषकलाई औजारहरु उधिन्ने, साँध लगाउने, मर्मत वा निर्माण गर्नुपर्दछ। यी सबै कामको बोझ ५२ वर्षीय हर्कबहादुरले सहर्ष स्वीकार गरेका छन्।
दुईवटा खाँबाको धरन, डाँडाभाटा र बलाको भरमा टिनको छाप्रो छ। त्यही छाप्रोमा सञ्चालन गरेको हर्कबहादुरको आरन व्यवसाय आम्दानीको गतिलो माध्यम बनेको छ।
सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेशा थालेका हुन्।
आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले निरन्तरता दिएको उनले बताए।
टिनको छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्नसक्ने सबै प्रकारका सामान बन्छन्। नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ।
“पोहोरपरारभन्दा यस वर्ष राम्रो आम्दानी भयो”, विकले भने, “लकडाउनका कारणले सबै मानिस गाउँमा आएका छन्, खेतीपाती गर्न थालेका छन्, कृषि औजार अरजाप्न र नयाँ बनाउन आउनेहरु पनि बढेका छन्।”
मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निकै खप्पिस छन्। उनले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताए।
१२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उनले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउँछन्।
उनले काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आएका छन् भने विद्युत्को सहायताबाट तिनै फलामका सामान चम्काउने गर्छन्।
आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन्।
विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनइ बनाउने सीप पनि छ । आरनमा बनेको खुकुरीलाई न्यूनतम तीन हजारदेखि आठ हजारसम्म मूल्य पर्दछ।
यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एक हजार ५०० को दरले तथा थेबेलाई र एक हजार रुपैयाँ २ सय मूल्य पर्ने उनले जानकारी दिए।
आरनबाट दैनिकरूपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामान बन्छन्। आरनमा फलामबाट निर्मित सामान उदाउने काम पनि हुन्छ।
गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा ३५ हजार रुपैयाँ कमाइ हुनेहुँदा २० हजार बढी अन्नपातबाटै सङ्कलन हुन्छ।
एक दर्जन हँसिया अर्जाबेवापत ५०० रुपैयाँ तिर्नुपर्ने रेट छ। विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धानेका छन्।
उनले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराले छुट्टाछुट्टै आरन चलाएका छन्। सानै उमेरमा पल्टन जाने भने पनि नगएको सुनाउँदै उनले यो उमेरसम्म पोखरा समेत नगएको दुखेसो पोखे।
उमेरले ५०औँ वसन्तमा घुम्दै गरेका हर्कबहादुरले फलामका साथै काठको काम गर्न पनि सिपालु थिए। काठबाट बन्ने हलो, जुवा, डाँडो, लिड्को र साओ (मोही) जस्ता सामान बनाउने आफूसँग सीप रहेको उनले बताए।
हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानबाट ग्राहकहरु पुग्ने गरेका छन्।
परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक वनजङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ।
वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन्।
पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउँछन्। डडुवाका अधिकांश गाउँलेबाट आरनको काम गरेवापत अन्नपात लिन्छन्।
धुर्व सागर शर्मा