विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सम्पूर्ण व्यापार व्यवसाय खस्के पनि जडिबुटीले भने स्वदेशमा बजार पाएकाे छ।
बन्दाबन्दीले तेस्रो मुलुकमा जडिबुटीको कारोबार रोकिए पनि स्वदेशमा यसको खपत बढेको जडिबुटी व्यवसायी संघ नेपालका अध्यक्ष विष्णु भण्डारीले बताए।
‘लकडाउनले निर्यात हुन नसक्दा कारोबार त घट्छ नै,’ उनले भने, ‘तर स्थानीय बजार हेर्ने हो भने निकै उत्साहजनक मान्नुपर्छ। कोभिडले गर्दा जडिबुटी मसलाको उपयोग बढ्दो क्रममा छ। आन्तरिक खपत लगभग २ खर्बभन्दा माथिको हुने देखिन्छ।’
जडिबुटी प्रयोग गर्ने ग्राहक बढेको हरेकृष्ण हर्वल सप्लायर्स भेंडाचोकका जडिबुटी व्यवसायी महेश बञ्जाराले बताए।
‘कोरोनाका कारण निर्यात हुन सकेको छैन, टाढाबाट आउने रेगुलर ग्राहक आउन सकेका छन्/छैनन् तर नयाँ ग्राहक भने थपिएका छन्,’ उनले भने।
लकडाउनले अन्य व्यवसायलाई असर गरे पनि जडिबुटी व्यवसायलाई भने कुनै असर नगरेको वैद्य औषधालयका मजिप शाक्य बताउँछन्। उनकाअनुसार कोरोनाले जडिबुटी औषधिको कारोबार वृद्धि भएको छ।
कोरोना भाइरसका कारण आयुर्वेदिक औषधिकोसमेत माग बढेको नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेलले बताए।
‘पहिला डाक्टरी औषधि मात्र सेवन गर्ने पनि अहिले आयुर्वेदिक औषधि खान थालेका छन्,’ उनले भने।
महामारीको सुरूआती चरणमा आयुर्वेद औषधितिर ध्यान नगए पनि आजभोलि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खोज्न आयुर्वेदतिर धेरै ग्राहक आउने गरेको उनले बताए।
उनका अनुसार पहिलेको तुलनामा अहिले ३० प्रतिशतले आयुर्वेदिक औषधिको व्यापार बढेको छ। सरकारले क्वारेन्टिन बसेकाहरूलाई आयुर्वेदिक औषधि वितरण गरेकोले पनि व्यापार वृद्धि भएको उनले बताए।
नेपालबाट निर्यात हुने वस्तुमध्ये जडिबुटी पनि एक हो। यसबाट सुगन्धित तेल, औषधि तथा कस्मेटिक सामान उत्पादन हुन्छ।
गत आर्थिक वर्षमा कच्चा जडिबुटी, सुगन्धित तेल, जडिबुटीबाट निर्मित कस्मेटिक सामान लगायतका वस्तु २ खर्बभन्दा बढीको निर्यात भएकोमा यस वर्ष भने कोभिड–१९ को कारणले गर्दा विभिन्न जडिबुटीहरू संकलन ढुवानीमा समस्या भई निर्यातमा कमी आउने जडिबुटी व्यवसायी संघ नेपालका अध्यक्ष भण्डारीले बताए।
‘नेपालबाट निर्यात हुने कच्चा जडिबुटी, सुगन्धित तेल, यार्सागुम्बा लगायत धेरै जडिबुटी हाम्रो छिमेकी भारत र चीनमा ठूलो बजार रहेको छ,’ उनले भने, ‘त्यसमा पनि चाइनामा महगा जडिबुटी धेरै जान्थ्यो, त्यो सबै रोकियो।’
उनका अनुसार चाइना, अमेरिका, अष्ट्रेलिया, जापान लगायतका युरोपियन मुलुकमा कोरोनाका कारण जडिबुटी निर्यात हुन सकेको छैन।
छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशमा भने थोरै परिमाणमा निर्यात भएको छ।